४ असार २०८१ मंगलबार
image/svg+xml
शिक्षा

काठमाडौं महानगरमा पूर्व प्राथमिक शिक्षा दुई तहको हुने

काठमाडौं महानगरपालिकाले महानगरभित्रको सार्वजनिक शिक्षाको शैक्षिक गुणस्तर विकास गर्न पुर्व प्राथमिक तह दुई वर्षको गर्ने तय गरेको छ।

महानगर प्रमुख बालेन्द्र साहले शुक्रबार महानगरको १५ औ अधिवेशनमा आर्थिक वर्ष ०८१/०८२को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक शिक्षाको गुणस्तर उकास्न कक्षा १ प्रवेश पूर्वको शिक्षामा जोड दिनु पर्ने भन्दै उनले अगामी शैक्षिक सत्रदेखि कार्यन्वयन हुने गरि पूर्वप्राथमिक तह दुइ तहको हुने बताए।

हाल देशभरि कक्षा १ प्रवेशको तयारीका लागि एक वर्षे प्राम्भिक बालविकास शिक्षा ( इसिडि) अवधारणा कार्यन्वयनमा छ। तर निजी विद्यालयहरु भने तीन तहको पूर्वप्राथमिक कक्षा संचालन गरिरहेको कारण उनीहरुको शैक्षिक गुणस्तर राम्रो भएको नतिजाहरुले देखाएको छ।

महानगरले बालबालिकाको शिक्षा र स्वास्थ्यको सवालमा विशेष ध्यान दिंदै डाइट प्लानसहितको दिवा खाजा कार्यक्रमको समेत व्य वस्था गर्ने नीति तय गरेको मेयर बालेनले बताए।

‘२ सय भन्दा कम विद्यार्थी भएको विद्यालयमा सेन्ट्रल किचेनको व्यवस्था गरिने छ,’ मेयर साहले भने, ‘अटिज्म भएका बालबलिकाको हकमा विशेष स्कुलको महानगरले स्थापना गर्ने छ।

’उनले थपे, ‘शिक्षालयहरुको चल र अचल सम्पत्ति अब शैक्षिक कृयाकलापमा मात्र प्रयोग हुने व्यवस्था गरिएको छ। पढ्दै कमाउँदै व्यवस्थासहित पार्टटाइम रोजगारको व्यवस्था गरिएको छ। विद्यालयमा हाल देखिएको शिक्षक अभाव पूर्ति गर्न विश्वविद्यालयका गोल्ड मेडलिस्ट विद्यार्थीहरुलाई करार शिक्षकमा नियुक्ति गरिने नीति महानगरले लिएको छ।’

सांस्कृतिक शहर समृद्ध महानगर भन्ने परिकल्पनालाई साकार पार्ने लक्ष्य नीतिले लिएको विश्वाससहित मेयर साहले आर्थिक विकास क्षेत्रसँग सम्बन्धित नीतिमा कम्तीमा २० जनालाई प्रत्यक्ष रोजगार दिने नयाँ दर्ता हुने व्यसायलाई सुरुको तीन वर्षसम्म व्यावसाय करमा शतप्रतिशत छुट दिने व्यवस्था गरेको घोषणा गरेका हुन्।

उनले मौलिक र सुशासनयुक्त काठमाडौं निर्माण गर्न नीतिले सघाउ पुरयाउने विश्वास व्यक्त समेत गरे। महानगरबाट कार्यन्वयन हुने विकास निर्माणसम्बन्धी कार्यमा आवश्यक जनशक्ति मध्ये कम्तीमा ३० प्रतिशत जनशक्ति महानगरपालिकाको श्रम बैंक मार्फत आपूर्ति गरिने नीति महानगरको छ।

शहरी सहकारी संस्थाहरुको कारोबारलाई विधुतीय प्रणालीमा आवद्ध गरी थप व्यवस्थित बनाउने कार्यक्रम महानगरको छ।

सहकारी सूचना केन्द्रको स्थापना गरी बचत संकलन , ऋण परिचालन तथा संस्थागत सुसासन प्रभावकारी बनाउने ब्यवस्था गरिएको छ। समाजिक विकास क्षेत्रसँग सम्बन्धी कार्यमा महानगरले विद्यार्थीको मानसिक र शारीरिक विकासका लागि विद्यालयमा पुर्व प्राथमिक तहदेखिनै खेलकुद अनिवार्य गरिने व्यवस्था गरेको छ। सबै स्रोत केन्द्रमा मनोसमाजिक परामर्श दाता र नर्सको व्यवस्था गरिने महानगरको नीति छ।

सामुदायिक तथा संस्थागत र गैर सरकारी निकायबाट उपलब्ध गराउँदै आएको छात्राबृत्तिलाई महानगरको एकद्धार प्रणालीबाट वितरण गर्ने व्यवस्था मिलाएको महानगर प्रमुख साहले बताए।

अपाङता भएका विद्यार्थीको हकमा निजी तथा सामुदायिक सबै विद्यालयमा भेदभावरहित वातावरणमा पठनपाठनको अनिवार्य व्यवस्था महानगरले मिलाउने नीति तय गरेको छ।

‘शैक्षिक तथा रोजगार परामर्श दाताहरुको अनुमति, नियमन, परिक्षण र प्रमाणीकारण सम्बन्धित काठमाडौं कार्यालय सिप तथा तालिम परिषद गठन गरिने छ,’मेयर साहले भने, ‘सामुदायिक विद्यालयको भौतिक तथा वित्तिय परिक्षणको आधारमा विद्यालय सुधार परियोजना तर्जुमा गरिने छ।’

उनले थपे, ‘विद्यालयको वित्तीय सुसासन कायम गर्न विद्यालयको लेखा परीक्षण महानगरबाट गरिने छ।

विद्यालयमा स्पोस्र्ट एकेडमी संचालन गरी संभावित खेलाडी उत्पादन गरिने छ।’विद्यालयमा वार्षिक रूपमा एक महिने खेल कार्यक्रम अयोजना गर्ने महानरको नीति छ। काठमाडौंलाई अन्तराष्ट्रिय शैक्षिक गनतब्यको रुपमा विकसित गरी विदेशी विद्यार्थी आकर्षण गर्ने कार्यक्रम महानगरले तय गरेको छ। नागरिकहरुलाई निदानात्मक सेवा उपलब्ध गराउन सेन्ट्रल ल्याब स्थापना गरि सेवा उपलब्ध गराउने नीति महानगरले लिएको छ।

काठमाडौं महागरसँग विशेषज्ञ स्वास्थ्य सेवाका लागि सहकार्य गर्न इच्छुक सामुदायिक तथा सरकारी अस्पताललाई प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने महानगरको नीति तथा कार्यक्रम रहेको मेयर साहले जनाए।

सार्वजनिक स्थानमा धुम्रपान, मध्यपान र लागु औषध प्रयोगलाइै महानगरले पूर्ण बन्देज लगाएको छ। भने जंकफुडलाई निरुत्साहित गर्ने नीति महानगरले तय गरेको छ। महानगरक्षेत्र भित्र रहेको अस्पताल, फार्मेसि , पोलिक्निीक लगायतको दर्ता प्रणालीलाई सूचना प्रविधिसँग आवद्धगरि अनुगमन र नियमन गरिने व्यवस्था नीतिले तय गरेको छ।

‘शहरी अति गरिबहरुकोलागि एक घर एक रोजगारी वा उद्यमसिलताको सुरक्षित गरि निःशुल्क शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराइने छ,’ मेयर साहले भने, ‘मागको आधारमा ७० वर्ष भन्दा माथिको उमेरका जेष्ठ नागरिकलाई निवासमै आधारभूत औषधि उपचार तथा फलोअपको ब्यवस्था मिलाइने छ।’

मुर्तिकला, चित्रकला, थान्का जस्ता रैथाने सिप तथा कलाको राष्ट्रिय तथा अन्तरािष्ट्रय स्तरमा ब्रन्डिङ गरिने र उद्यासिलता विकास कोष संचालनमा ल्याइने नीति महानगरले लिएको छ। पुर्वाधार क्षेत्रसँग सम्बन्धित नीतिम महानगरले काठमाडौंको इतिहास र सभ्यतासँग जोडिएको टुकुचा खोलालाई खुला गरि प्रकृतिक रुपमा बग्न दिन र संरक्षण गर्न विशेष परियोजना संचालन गरिने छ।

प्रकाशित: १ असार २०८१ ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App