१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

विद्यार्थीको नतिजा सुधार्न आफैं पढ्दै शिक्षक

फाइल तस्वीर

आइतबार काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका शिक्षक कक्षाकोठामा पढिरहेका भेटिए। सरकारले कार्यान्वयनमा ल्याएको नयाँ पाठ्यक्रम अनुसारको व्यवस्था र ग्रेडिङअनुसारका क्रियाकलापमा आधारित शिक्षण पद्धतिबारे विद्यालयका प्राचार्यलगायत अन्य ३८ शिक्षकहरू कक्षाकोठाभित्र नवीनतम सिकाइ प्रयोग गरी कक्षाकोठाभित्र शिक्षण सिकाइ कसरी सुधार गर्ने भन्नेबारे पढिरहेका थिए। उनीहरूलाई पढाउने शिक्षक भने काठमाडौं विश्वविद्यालयका थिए।

सरकारले बालकक्षादेखि १० सम्म नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ। तर, त्यसअनुसार शिक्षकलाई दक्ष बनाउन सकेको छैन। पुरानै शिक्षण विधिबाट विद्यार्थीको नतिजामा सुधार ल्याउन नसक्ने महसुस गर्दै काठमाडौं महानगरपालिकाले आफू मातहतका सरकारी विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमसँग जोड्न ‘टिचर कलेज कार्यक्रम’ सुरु गरेको छ।

पद्यमकन्याकी प्रधानाध्यापक रिता तिवारीले विद्यार्थी मात्र नभई नवीनतम र अन्वेषण शिक्षण विधिबाट पठनपाठन गराउन शिक्षकहरू पनि अध्यावधिक हुनुपर्ने बताइन्। आफूले चार दिन कक्षाकोठामा सहभागिता जनाउँदा शिक्षण विधिका नयाँ आयाम सिकेको पनि उनले बताइन्।

‘बुधबार अन्तिम दिन तीन घन्टाको अनलाइन कक्षाको सिकाइबाट आइटीबारे ज्ञान हाँसिल गरियो। विद्यार्थीलाई गुगल ड्राइभसँग जोड्नेबारे सिकियो,’ प्रअ तिवारीले भनिन्, ‘नयाँ पाठ्यक्रमले विद्यार्थीलाई सकेसम्म बढी सहभागी गराएर कक्षामा पढाउनुपर्ने व्यवस्था गरेको छ। तर, त्यसअनुसार हामीसँग तालिम थिएन। काठमाडौं विश्वविद्यालयका शिक्षकहरूले हामीलाई कक्षाकोठाको नतिजा सुधार गर्न अन्वेषण र नवीनतम शिक्षण विधि प्रयोग गरी शिक्षण सिकाइ गर्न सिकाउनुभयो।

विषयगत, बहुविषयगत, अन्तरविषयगत र विषयविहीन ढाँचाबाट विद्यार्थीलई शिक्षण सिकाई गराउनुपर्ने सिकियो। यसले विद्यार्थीलाई सिर्जनशील बनाउँदो रहेछ। ’ विश्वविद्यालयले शिक्षकलाई पढाएको यो प्राज्ञिक कोर्षमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षासँग लिंक गरिएको छ। विज्ञान र गणित विषयका, अंग्रेजी, नेपाली, कला संस्कृतिका विषयसँग लिंक गरी पढाउन सकिनेबारे स्पष्टसँग सिकेको प्राचार्य तिवारीले बताइन्।

सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई तालिमबाट क्षमता विकास गराउने, यसबाट शिक्षकले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराएर वृत्ति विकाससँग जोड्न काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा सो कार्यक्रम सुरु गरिएको महानगरपालिका शिक्षा विभाग प्रमुख सरस्वती पोखरेलले बताइन्। महानगरले मातहतका सबै सरकारी विद्यालयको विद्यालय र विद्यार्थीको नतिजा सुधार गर्न तालिमको व्यवस्था गरेको उनले जानकारी दिइन्।

शिक्षकको क्षमता र वृत्ति विकास हुने भएपछि शैक्षिक क्रियाकलाप सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित हुनेछन्। यसको नतिजा विद्यार्थीको शैक्षिक प्रमाणपत्र र व्यवहारिक सिपमा प्राप्त हुनेछ। महानगरपालिकाको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’मार्फत कार्यक्रम सञ्चालन गरिएको उनले बताइन्।

‘क्रेडिट आवरमा आधारित पढाइ सकिएपछि शिक्षकले काठमाडौं विश्वविद्यालयबाट शैक्षिक योग्यताको प्रमाणपत्र पाउनुहुन्छ। यसले शिक्षकले विश्वविद्यालयमा कुनै प्राज्ञिक कोर्ष गर्न चाहेमा उहाँहरूले प्राप्त गर्नुभएको क्रेडिट आवर जोडिने छ,’ प्रमुख पोखरेलले भनिन्, ‘शिक्षकले पुस्तक पढाउने मात्र होइन, सिर्जनात्मक सिकाइको वातावरण मिलाउनुपर्छ। विद्यार्थी, विद्यालय र अभिभावकबीच त्रिकोणात्मक सम्बन्ध स्थापना गर्न यो तालिमले सकारात्मक भूमिका खेल्छ। असारसम्म चल्ने तालिमले महानगरभित्रका ८४ सरकारी विद्यालयका दुई हजार शिक्षकले प्रत्यक्ष लाभ लिनुहुन्छ।  यसले समग्रमा सरकारी विद्यालयको विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गरी नतिजामा सुधार हुन्छ।’

 उनका अनुसार तालिमका कक्षा यसअघि पनि चलाइएका थिए।  ती तालिमबाट शैक्षिक सुधारका लागि कति नतिजा हाँसिल भयो भन्न सक्ने वा मापन गर्नसक्ने आधार थिएन। यसपटकदेखि तालिमको नतिजा शिक्षक र विद्यार्थी दुवैबाट मापन गर्न सकिन्छ। यस्तै शिक्षकले पाएको तालिम प्रमाणीकरण हुनेछ। महानगरपालिकाले यो वर्ष उत्कृष्ट नतिजा ल्याउनेलाई नौ क्रेडिटसम्म दिने तय गरेको छ।

यस वर्ष शैक्षिक सुधार पूर्वाधार, शिक्षण सामग्री, प्रविधि र उपकरणसहित कार्यक्रमका लागि करिब ३१ करोड रूपैयाँ महानगरले बिनियोजन गरेको छ। यसमध्ये पुस्तकरहित शुक्रबार, शिक्षामा सिप, प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति, शिक्षण र सिकाइ पद्धतिसहितका कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई करिब २८ करोड रूपैयाँ विनियोजित छ। यी कार्यक्रमको साझेदार विश्वविद्यालयलाई दुई करोड ९५ लाख रूपैयाँ प्रदान गर्ने महानगरले जनाएको छ।

स्नातक तह उत्तीर्ण शिक्षकले तालिमबाट २७ क्रेडिट पाएपछि पोष्ट ग्राजुएट डिप्लोमा र कुनै विषयमा स्नातकोत्तर उत्तीर्णलाई मास्टर इन एजुकेसन (एमएड) को प्रमाणपत्र उपलब्ध गराउने काठमाडौं विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेलले बताए।

‘सर्टिफिकेट प्राप्त गर्नका लागि तोकिएको समयअवधिसम्म कक्षामा उपस्थित हुनुपर्छ।  कक्षा कार्य बुझाउनुपर्छ। परीक्षामा सहभागी हुनुपर्छ,’ उनले भने, ‘प्राप्त गरेको जिपिएअनुसार ग्रेडसिट उपलब्ध गराइनेछ।’

१६ घण्टाको तालिम आधारभूत हो।  यसपछि अर्ली चाइल्ड डेभलपमेन्ट (इसिडी), टेक्निकल, भोकेसनल एजुकेसन टे«निङ (टिभिइटी), डिजिटल पेडागोजी, चाइल्ड साइकोलोजी र करिअर काउन्सिलिङ, स्टुडेन्ट लर्निङ आउटकम जस्ता विषय स्नातकोत्तर तहसम्मको उपाधि लिन सकिन्छ।

‘पूर्वप्राथमिकदेखि कक्षा ३ सम्म एकीकृत शिक्षा, कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक शिक्षा र कक्षा ९ र १० मा सिपमा आधारित शिक्षा प्रदान गर्ने लक्ष्य प्राप्त गर्न नवीनतम सोच र प्रविधिमा आधारित क्रियाकलाप सञ्चालन हुनेछन्।  कक्षामा विद्यार्थीको सिकाइस्तर वृद्धि गर्छ,’ पोखरेलले भनिन्, ‘तालिमको वातावरण र तालिका मिलाउने, आवश्यक पर्ने स्थान, साधन तथा उपकरणको प्रबन्ध गर्ने, प्रयोगशाला, समूहगत कार्य, वार्षिक कार्ययोजना बनाउनमा प्रधानाध्यापक र स्रोत शिक्षकको मुख्य भूमिका हुन्छ।’ महानगरपालिकाभित्र वैकल्पिक र धार्मिकसहित ९० वटा सामुदायिक विद्यालय छन्। 

प्रकाशित: ६ वैशाख २०८१ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App