१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

शिक्षक-विद्यार्थीको हाजिर महानगरले गर्ने!

क्याप्शन

काठमाडौं महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीको हाजिर अब महानगरपालिकाले गर्ने भएको छ। नयाँ शैक्षिक सत्रको सुरुवातसँगै महानगरले आफ्ना मातहतका ८४ सामुदायिक विद्यालयमा विद्युतीय हाजिर जडान गरी विद्यार्थी र शिक्षकको अनुहारसहितको हाजिर गर्ने व्यवस्था गरेको छ। यसअघि शिक्षकले हाजिर रजिस्टरमा गर्ने गरेका थिए भने विद्यार्थीको हाजिर पनि कक्षा शिक्षकले नै रजिस्टरमा गर्ने गरेका थिए।

महानगरले विद्यालयमा जडान गरेको विद्युतीय हाजिरमा शिक्षक र विद्यार्थीको अनुहारसहितको हाजिर हुने व्यवस्था गरिएको छ। यसले सामुदायिक विद्यालयको शिक्षण सिकाइमा क्रमशः गुणस्तर वृद्धि गर्ने महानगरको दाबी छ।

रजिस्टरमा कलमले लेख्ने भएकाले शिक्षक नआएको दिनको समेत हाजिर गर्ने गरेको गुनासो महानगरमा आएको थियो। यसैगरी विद्यार्थीको सवालमा पनि धेरै विद्यार्थी देखाएर फर्जी विद्यार्थीको नाममा रकम दुरूपयोगका गुनासा महानगरमा आएका थिए। यस्ता विकृति विद्यालयबाट हटाउन विद्यालयमा विद्युतीय हाजिरको व्यवस्था गरिएको महानगरले जनाएको छ।

महानगर शिक्षा विभागप्रमुख सरस्वती पोखरेलका अनुसार अब सामुदायिक विद्यालयमा कक्षाकोठाभित्र पनि महानगरको निगरानी हुनेछ। नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी विद्यालयमा विद्युतीय हाजिर डिभाइस राखिएको उनले बताइन्। उनका अनुसार एउटा डिभाइसमार्फत १५० जनासम्मको फोटोसहित हाजिर हुन्छ।

‘महानगरले यसका लागि प्राविधिकसहित एउटा छुट्टै युनिट खडा गरी दैनिक विद्यालयमा शिक्षक र विद्यार्थीको उपस्थितिबारे तथ्यांक संकलन, विश्लेषण र सत्यापन गर्ने काम गर्छ,’ शिक्षा विभागप्रमुख पोखरेलले भनिन्, ‘यसले काठमाडौं महानगरभित्रका विद्यालयमा विद्यार्थी संख्या यकिन हुन्छ। बजेट तथा कार्यक्रम तर्जुमा गर्न पनि सहज हुन्छ। विद्यालयभित्र शिक्षक र विद्यार्थीको फोटोसहित दैेनिक हाजिर महानगरले गर्छ।’

उनले को शिक्षक कति दिन विद्यालय आए र को को विद्यार्थी कति दिन विद्यालयमा हाजिर भए भन्ने तथ्यांक अब महानगरसँग हुन्छ। यसले विद्यालयको कक्षाकोठाभित्रको पठनपाठनमा सुधार गरी शिक्षण सिकाइमा गुणस्तर कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।’

महानगरभित्र कुल ८७ सामुदायिक विद्यालय छन्। जसमा ५३ हजार विद्यार्थी अध्ययनरत छन्। तीनवटा विद्यालय जेलभित्र सञ्चालन भएकाले त्यहाँ भने विद्युतीय हाजिर गरिने छैन।

यति मात्र होइन, काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा विद्यालय सुशासन कायम हुने विश्वाससहित महानगरले विद्यालयमा फोटोसहितको विद्युतीय हाजिरको व्यवस्था गरेको सामुदायिक विद्यालय हेर्ने अधिकृत इन्द्र दाहालले बताए।

‘विद्यार्थीले नियमित खाजा खाएनखाएको, शिक्षक नियमित कक्षामा उपस्थित भए नभएको र प्रधानाध्यापक पनि नियमित आएनआएको निगरानी महानगरको विद्युतीय हाजिरले गर्छ,’ अधिकृत दाहालले भने, ‘स्थानीय तहमा बनाइने परिकारलाई प्रोत्साहन गर्दै महानगरले प्रत्येक शुक्रबार स्थानीय परिकारलाई खाजामा समाबेस गर्न स्कुललाई निर्देशन गरेको छ। नयाँ शैक्षिक सत्रदेखि यमरी, चटामरी, छोइला, कचिला, बारालगायत धेरै स्थानीय परिकार अब विद्यार्थीले विद्यालयमा खाजाको रूपमा खान पाउँछन्।’

उनले थपे, ‘महानगरमै विद्यार्थी र शिक्षकको यकिन तथ्यांक हुने भएपछि विद्यार्थीको उपस्थितिबारे ट्रेन्ड एनालाइसिस गर्न सहयोग मिल्छ भने सामुदायिक विद्यालयमा शिक्षक नियमित हुन्छन्।’

कतिपय विद्यालयले खाजको रूपमा जंक फुड दिने गरेको गुनासा समेत महानगरमा आएको उनले बताए।

महानगर भित्रका सामुदायिक विद्यालयमा महानगरले कक्षा १० सम्म खाजाको निःशुल्क व्यवस्थापन गरेको छ। सरकारले प्रति विद्यार्थी १५ रूपैयाँ उपलब्ध गराउँछ, त्यसमा महानगरले १५ रूपैयाँ थपेर कुल ३० रूपैयाँको दरले खाजाको रकम वितरण गर्ने गरेको भए पनि विद्यार्थीले दैनिक खाजा खान नपाएको, विद्यालयले खाजा स्वास्थ्यप्रदायक नदिएको, शिक्षक नियमित नभएको र विद्यार्थी पनि बिचैमा कक्षा छाडेर जाने गरेका गुनासाको आधारमा महानगरले विद्यालयमा विद्युतीय हाजिरको व्यवस्था गरेको हो।

प्रकाशित: १ वैशाख २०८१ ०९:११ शनिबार

काठमाडौँ महानगर सामुदायिक विद्यालय