२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

शैक्षिक सत्रअगावै पुगे पाठ्यपुस्तक

इच्छाशक्ति भए जस्तोसुकै अप्ठेरोमा पनि सहज रूपमा काम सफल गर्न सकिने उदाहरण जनक शिक्षा सामग्री केन्द्र बनेको छ। विद्यालय तहको नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनुअगावै जनक शिक्षा केन्द्र ७७ जिल्लामा  पाठ्यपुस्तक पुर्‍याउन सफल भएको छ। नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुर्‍याउन बाँकी बाँके जिल्लामा पनि बुधबार नेपालगन्ज डिपोबाट पुस्तक वितरण गरिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले बताए।

प्रबन्ध निर्देशक झाका अनुसार यसपटक नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै ७७ जिल्लामै पाठ्यपुस्तक पुर्‍याउन सफल हुनुको मुख्य कारण सरकारले केन्द्रलाई विश्वास गर्नु र कार्यतालिका बनाएर काम गर्नु हो। नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान वैशाख २ गतेदेखि सुरु हुने तय भएको छ।

भर्ना सुरु हुनुअघि चैत ३० गतेभित्रै देशभरिका सामुदायिक विद्यालयका विद्यार्थीका लागि सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने केन्द्रको लक्ष्य पूरा भएको छ। विगतमा शैक्षिक सत्र सुरु भएको महिनौंसम्म पनि दुर्गम जिल्लाका विद्यार्थीले पाठ्यपुस्तक पाउँदैनथे।

सरकारले यसपटक केन्द्रलाई कक्षा ५ देखि १० सम्मका पाठ्पुस्तक छपाइ र वितरण गर्ने जिम्मा दिएको थियो। अघिल्लो वर्ष कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक छपाएर वितरण गर्ने जिम्मेवारी पाएको थियो।

प्रबन्ध निर्देशक झाका अनुसार केन्द्रले नयाँ शैक्षिक सत्रका लागि कक्षा ५ देखि १० सम्म गरी एक करोड ७५ लाख थाप्न पुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको थियो। प्राप्त जिम्मेवारी समयमै पूरा गर्न केन्द्र सफल भएको उनले बताए।

नयाँ शैक्षिक सत्रका लागि निजी प्रकाशन गृहहरूले कक्षा १ देखि ४ सम्मका पुस्तक छाप्ने जिम्मेवारी पाएका थिए। यसअघि निजी प्रकाशन गृहले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएका थिए।  

विद्यालय तहका पाठ्यपुस्तकसँगै केन्द्रले पछिल्ला वर्षमा सरकारी कार्यालयमा चाहिने विभिन्न सामग्री छाप्ने काम पनि पाएको छ। यसबाट केन्द्रले काम पाउनुका साथै आर्थिक आम्दानी पनि गर्न थालेको छ। केन्द्रलाई जीवित राख्न सरकारी कागजातलगायत सामग्री छपाइको कामले महत्वपूर्ण योगदान पुगेको प्रबन्ध निर्देशक झा बताउँछन्।

विगत तीन वर्षदेखि केन्द्रले विद्यालय तहका पाठ्यपुस्तकबाहेक सरकारी निकायका कागजात, परीक्षाका प्रश्नपत्र र उत्तरपुस्तिका, अन्तःशुल्क स्टिकर, यातायात कार्यालयका बिल, सवारीचालक अनुमति पत्र, ब्लुबुक, लालपुर्जालगायत सामग्री छाप्दै आएको छ। यसैकारण आर्थिक वर्ष २०७७÷७८ देखि हालसम्म ५१ करोड रुपैयाँ मुनाफा आर्जन गर्न केन्द्र सफल भएको झाले बताए।

‘यस अवधिमा ६ अर्ब रूपैयाँ बढीको व्यापार हुँदा ५१ करोड मुनाफा भयो, जसले केन्द्रलाई सबल र सक्षम बनाउँदै छ,’ प्रबन्ध निर्देशक झाले भने, ‘काम पाएर कारोबार बढेपछि हामीले चार कलरमा छपाइ गर्ने चारवटा मेसिनसमेत थपेका छौं।’

उनका अनुसार केन्द्रसँग भएका छपाइ मेसिनले दैनिक १२ घन्टा काम गर्ने हो भने एक लाख उत्पादन गर्ने क्षमता राख्छन्। सरकारले थप जिम्मेवारी दिएमा पूरा गर्न केन्द्र सक्षम रहेको उनले बताए। सरकारले काम दिए सरकारी संस्थाहरू सक्षम हुँदै जाने उनको अनुभव छ।’

केन्द्रका प्रवक्ता रविन्दकुमार शर्माका अनुसार विद्यालय तहको नयाँ शैक्षिक सत्रका लागि केन्द्रले आवश्यक पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने काम बुधबार सम्पन्न गरेको छ।

‘केही पालिकाले विद्यालयहरूका लागि पाठ्यपुस्तक बजेट निकासा नगरेकाले २० प्रतिशतजति पुस्तक एजेन्टबाट विद्यालयमा पुग्न नसकेको सूचना प्राप्त भएको छ,’ उनले भने, ‘केन्द्रले आफूले पाएको दायित्व पूरा गरेको छ। डिपोहरूबाट एजेन्टले पाठ्यपुस्तक लगिसके। अब पालिका र विद्यालयले समन्वय गरेर पुस्तक विद्यार्थीको हातमा पुर्‍याउनु पर्‍यो।’  

सरकारले काम नदिएकै कारण एक दशकदेखि निरन्तर घाटामा गएको केन्द्रको अवस्था अहिले सुदृढोन्मुख छ। सरकारी स्वामित्वको यस संस्थामा विगत चर्को राजनीति हुन्थ्यो। यो संस्था भित्र र बाहिर हुने राजनीतिक दाउपेचले बन्द हुने अवस्थामा पुगेको थियो।

पछिल्ला तीन वर्षदेखि भने सरकारले काम दिन थालेपछि यसको आर्थिक अवस्था सुध्रिँदै गएको छ। ‘अब सरकारले केन्द्रलाई छपाइ हब बनाउनु पर्छ,’ प्रवक्ता शर्माले भने, ‘यसले सरकार र केन्द्र दुवैलाई फाइदा हुन्छ।’  

शर्माका अनुसार २०७० देखि २०७५ सालसम्म केन्द्र ठुलो घाटामा थियो। त्यस अवधिमा पाठ्यपुस्तक छपाइका लागि कागज र मेसिन किन्न अर्थ मन्त्रालयबाट पटकपटक गरी एक अर्ब ३९ करोड ऋण केन्द्रले लिएको थियो। अर्थ मन्त्रालयको एक अर्ब ३१ करोड ऋण तिर्न बाँकी रहेको उनले बताए।

‘जनक शिक्षा सामग्री केन्द्रमा ५० प्रतिशत स्वामित्व शिक्षा मन्त्रालय र ५० प्रतिशत स्वामित्व अर्थ मन्त्रालयको छ। पूर्ण सरकारी स्वामित्वको केन्द्र विगतमा सरकारले काम नदिएरै घाटा भएको थियो,’ शर्माले भने, ‘तीन वर्षयता केन्द्रले ५१ करोड रूपैयाँ मुनाफा गरेमध्येबाट अर्थ मन्त्रालयको ५ करोड १७ लाख ऋण तिरिसकेको छ, अर्को किस्ता तिर्ने तयारीमा छ।’

प्रकाशित: २९ चैत्र २०८० ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App