१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

एमबिबिएस पढ्न तातोपानी गाउँपालिकाले छात्रवृत्ति दिने

तातोपानी गाउँपालिकाले हरेक वर्ष एकजनालाई एमबिबिएस पढ्नका लागि छात्रवृत्ति दिने निर्णय गरेको छ। गाउँपालिकामा अहिलेसम्म डाक्टर पढेका जनशक्ति नभएको र बाहिरबाट आएर पनि कसैले सेवा गर्न नचाहेका कारण स्वास्थ्य सेवा प्रभावित भएको भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले हरेक शैक्षिक सत्रमा एकजनालाई छात्रवृत्तिमा एमबिबिएस पढाउने लक्ष्यसहित गाउँपालिकाले यस्तो निर्णय गरेको बताए। गाउँपालिकाको १४औं गाउँसभाले एमबिबिएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि २०८० पारित गरेको छ।

कार्यविधि बनेपछि गाउँपालिकालाई छात्रवृत्तिमा एमबिबिएस पढाउने बाटो खुलेको हो। ‘स्वास्थ्य जनशक्ति नहुँदा देखिएका स्वास्थ्य समस्या समाधानका लागि पनि डक्टर पढाउने काम उपयुक्त हुने देखिन्छ’, प्रशासकीय अधिकृत कठायतले भने।

कार्यविधिमा चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण गाउँपालिका क्षेत्रभित्र बसोवास गर्ने एकजना जेहेनदार विद्यार्थीलाई एमबिबिएस अध्ययन छात्रवृत्ति उपलब्ध गराउने उल्लेख छ। एमबिबिएस पढ्न चाहिने खर्चको ५० प्रतिशत रकम पालिकाले बेहोर्ने गरी कार्यविधि बनेको छ।

पालिकाले छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि कार्यविधिमा कोषको व्यवस्था गरेको छ। उक्त कोषमा चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ जम्मा गरिएको छ। कार्यविधि तत्काल राजपत्रमा प्रकाशन गरेर अर्को शैक्षिक सत्रमै एमबिबिएस डाक्टर पढाउने कार्यविधि कार्यान्वयनमा आउने छ।

कार्यविधिले पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंको संयोजकत्वमा एमबिबिएस अध्ययन छात्रवृत्ति व्यवस्थापन समिति बनाउने व्यवस्था गरेको छ, जसमा पालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समितिको संयोजक, प्रधानाध्यापकमध्येबाट एकजना, शिक्षाविद् एकजना, एक महिलासहित तीनजना खुला सदस्य र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सदस्यसचिव रहने गरी नौजनाको हुने उल्लेख छ।

रकम अभावका कारण एमबिबिएस पढ्न नपाएका विद्यार्थीका लागि यो व्यवस्था गरिएको अध्यक्ष नन्दप्रसाद चौंलागाईंले जानकारी दिए। उनका अनुसार डाक्टर पढ्न चाहने विद्यार्थीका लागि पालिकाले दिएको सुनौलो अवसर पनि हो।

प्रकाशित: २८ माघ २०८० ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App