१२ श्रावण २०८१ शनिबार
image/svg+xml
शिक्षा

टोलटोलमा अभिभावक शिक्षा, घरघरमा पढाइ कुना सुरु

जुम्लाको हिमा गाउँँपालिका १ र २ का टोलटोलमा अभिभावक शिक्षा र घरघरमा पढाइ कुना सुरु भएको छ। कालिका माविको सेवा क्षेत्रका टोल र घरहरूमा अभिभावक शिक्षा र पढाइ कुना सुरु भएको हो।

विद्यालयहरूमा हिउँदे विदा भएकाले शिक्षकहरूले अभिभावक शिक्षा दिन थालेका हुन। प्रधानाध्यापक खाम्बा शाहीले समुदायमा अभिभावक शिक्षा र घरदैलोमा पढाइ कुना सुरु भएको बताए।

हिमा १ मा बड्की, जोगीबाडा, बाजागाडा, कोइरेली गाउँ पर्छन्। अभिभावकका घरघरमा पुगेर शिक्षाको महत्व, फाइदा, स्कुल पढ्ने बालबालिकाका विषयमा पढाउने गरिएको छ।

साथै बालबालिकाको आनीबानी विकास गर्न सातवटा संन्देश दिने गरिएको प्रधानाध्यापक शाहीले बताए। ‘हिउँदे बिदाका समयमा विद्यालय बन्द छन् तर अभिभावकलाई आफ्ना बालबालिकाको शिक्षामा सचेत गराउनु यो अभियानको लक्ष्य हो’, प्रधानाध्यापक शाहीले भने।

विद्यालयले प्लान इन्टरनेसनल नेपाल र पेस नेपालको साझेदारीमा सञ्चालित बालिका सशक्त परियोजनाको सहयोगमा अभिभावक शिक्षा र पढाइ कुना सुरु गरिएको पेस नेपालका सुपरिवेक्षक शंकरप्रसाद उपाध्यायले जानकारी दिए। यो अभियानमा समुदायका एक सय ५० जना संलग्न छन्।

पॉच गाउँमा पाँच टोल शिक्षा सुधार र एक घर एक पढाइ कुना व्यवस्थापन समिति गठन गरिएको छ। समितिले आफ्नो समुदायमा एक घर एक पढाई कुना निर्माण गर्न निरन्तर अभियान सञ्चालन गर्ने छन्।

बड्की गाउँनिवासी मेघबहादुर शाहीका अनुसार यो अभिभावक शिक्षा निकै प्रभावकारी बनेको छ। हिमा गाउँपालिका २ कोइरेली गाउँका खाम्बा रोकायाले यसअघि हामीलाई पढाइ कुनाका बारेमा थाहा नभएको बताए।

प्रकाशित: १३ माघ २०८० ०६:२१ शनिबार

टोलटोलमा अभिभावक शिक्षा घरघरमा पढाइ कुना हिमा गाउँँपालिका बड्की जोगीबाडा बाजागाडा कोइरेली गाउँ