१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

‘निजीले पाठ्यपुस्तक छाप्न नपाउने

सरकारले विद्यालय शिक्षाका लागि आवश्यक पर्ने पाठ्यपुस्तक निजी क्षेत्रलाई नदिने तयारी थालेको छ। सरकारको स्वामीत्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र सक्षम बन्दै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस पटक निजी प्रकाशन गृहलाई विद्यालय स्तरको पाठ्यपुस्तक छपाइको अधिकार कटौती गर्ने तयारी गरेको हो। सोही अनुसार पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरले छपाई बारे निर्णय गर्न मन्त्रालयमा लेखि पठाएको चार महिना भइसक्दा पनि मन्त्रालयले अझै छपाई बारे निर्णय गर्न सकेको छैन।

निजी प्रकाशन गृहलाई अगामी शैक्षिक सत्रमा कक्षा १देखि३ सम्मको पुस्तक मात्र छाप्न दिने बारे मन्त्रालयमा छलफल भइरहेको छ। गत वर्ष निजीले कक्षा १देखि ५ सम्मको पुस्तक छपाई गर्ने अधिकार पाएको थियो। ‘गत वर्ष निजी प्रकाशन गृहलाई कक्षा १–५ र जनक लाई कक्षा ६–१०सम्मको पुस्तक छपाइको निर्णय भएको थियो ।तर यस पटक जनक शिक्षा सामग्री केन्द्र सक्षम बनेकाले निजीको अधिकार घटाउनेबारे छलफल भइरहेको छ,’ स्रोतले भन्यो, ‘कक्षा १देखि ३ सम्म र कक्षा १ देखि ५ सम्म दुवै विषयमा छलफल जारी छ। यस कारण पनि निर्णय गर्न ढिला भएको छ।’  

अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले पुस्तक छपाइका विषयमा निर्णय गर्न ढिला हुँदा समयमा पुस्तक नपुग्ने र कृत्रिम अभाव हुनसक्ने आशङ्का व्यक्त गरे। ‘अहिलेको अवस्थामा जनक शिक्षा सामग्री केन्द्र विद्यालय स्तरको पुस्तक छपाई गर्न पूर्ण सक्षम भइसकेको पाठ्यपुस्तक समितिको बैठकमा कुरा उठेकै हो,’ अध्यक्ष भण्डारीले नागरिकसँग भने, ‘सरकारले किताब छपाई बारे छिटो निर्णय गरी कसरी र कसलाई कति दिनेबारे स्पष्ट निर्णय गरेर छपाइको निकास दिनुपर्‍यो।’

उनका अनुसार फागुन पहिलो सातादेखि हिमाली क्षेत्रका विद्यालयको नयाँ शैक्षिक सत्र सुरु हुन्छ। अझै किताब छाप्ने सरकारी निर्णय भएकै छैन। यसले कृत्रिम अभाव खडा गर्ने प्रपञ्च देखियो।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक वैकुण्ठ अर्यालले मन्त्रालयको निर्णय ढिलाइका कारण पाठ्यक्रमले छपाई बारे आवेदन आह्वान गर्न नसकेको बताए। ‘विद्यालय स्तरको किताब छपाई कार्यको निर्णय गरी आवेदन माग गर्न पाठ्यक्रम तयारी अवस्थामा छ ,’ अर्यालले भने,‘मन्त्रालयले जनक र निजीको हकमा कति÷कति छपाई बारे निर्णय गरी पाठ्यक्रममा पठाएपछि बल्ल पाठ्यक्रमले छपाई कार्यको लागि सूचना निकाल्ने हो।’ पाठ्यक्रमले पुस्तक छपाइ बारे टिप्पणी उठाएर मन्त्रालयमा मंसिर मै पठाए पनि निर्णय भई नसकेको बताए।

उता जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी रवीन्द्र कुमार शर्माले केन्द्र विद्यालय तहका सबै कक्षाको किताब छाप्न सक्षम रहेको बताए। अहिलेसम्म कक्षा ६ देखि १० सम्मको ९० लाख थान किताब छाप्ने काम सकिएको जानकारी दिँदै भने, ‘जनकले रङ्गिन किताब छपाइका लागि चार कलर छपाई गर्ने चार वटा मेसिन र आवश्यक कागजहरू खरिद गरी आवश्यक तयारी छ।’

निजी प्रकाशन गृहहरूले भने गत वर्ष जस्तै कक्षा १देखि५ सम्मको किताब छपाइका लागि सरकारले अधिकार दिनुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: ६ पुस २०८० १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App