२२ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

पुरन्दह माविको भवन शिलान्यास

भवन शिलान्यासपछि सांसद खड्का र भारतीय दूतावासका कन्सुलर श्रीवास्तव। तस्बिर ः महेश्वर

बेलका नगरपालिका १ पुरन्दहस्थित जनता माविले सुविधासम्पन्न भवन पाउने भएको छ। भारतीय दूतावासको अनुदानमा नगरपालिकाले निर्माण गर्न लागेको भवनको बुधबार शिलान्यास भएको छ।

विद्यालयको स्वामित्वमा रहेको दुई कट्ठा क्षेत्रफल जग्गामा निर्माण हुने भवन पाँच करोड ९५ लाख रुपैयाँको प्राविधिक इस्टिमेट भएकोमा निर्माण व्यवसायीबीच प्रतिस्पर्धा हुँदा चार करोड ५१ लाखमा ठेक्का लागेको बेलका नगर प्रमुख अशोक कार्कीले बताए। उनका अनुसार भवन निर्माणमा भारत सरकारको ८० प्रतिशत र नगरपालिकाको साझेदारी २० प्रतिशत लगानी हुने छ।

भवन निर्माणका लागि चालु आर्थिक वर्षको बेलका नगर सभाले बजेट सुनिश्चित गरिसकेको छ। नगरपालिकाले भवन बनाउन ९० लाख हाराहारी बजेट साझेदारी गर्नुपर्ने मेयर कार्कीले बताए।

नगरवासीको शैक्षिक अधिकार ग्यारेन्टी गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै सांसद खड्कामार्फत भारत सरकारसँग सहयोग माग्दा अनुदान प्राप्त भएर यो भवन निर्माण गर्न लागिएको उनको भनाइ छ।

बुधबार आयोजित कार्यक्रममा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका उदयपुर १ का प्रतिनिधिसभा सदस्य डा. नारायण खड्का र भारतीय दूतावासका कन्सुलर प्रसन्न श्रीवास्तवले संयुक्त रूपमा शिलान्यास गरे।

भवन शिलान्यास क्रममा डा. खड्काले आफ्नो निर्वाचन क्षेत्रका सबै विद्यालयका भवन सुविधासम्पन्न बनाउने अभियान जारी रहेको बताए। उनले भारत सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोगको प्रशंसा गरे।

त्यसैगरी भारतीय कन्सुलर श्रीवास्तवले नेपाल र भारतबीच शदीयौंदेखि भाइचारा सम्बन्ध रहँदै आएको बताए। उनले छिमेकीलाई सहयोग गर्न पाउनु भारत सरकारका लागि खुसी र गर्वको विषय भएको भन्दै नेपाललाई सिँचाइ, तटबन्द, खानेपानी र स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्दै आएको बताए।

विद्यालयका प्रधानाध्यापक नारायण रायमाझीले पठनपाठनमा सहज वातावरण निर्माण गर्न चाहिने सुविधासम्पन्न पक्की भवन निर्माणमा भइरहेको कार्यप्रति खुसी व्यक्त गरे। उनका अनुसार भवन ३–३ तलाका दुईवटा र २४ कोठाका हुनेछन्।

भवनमा अपांगमैत्री, छात्र–छात्रा शौचालय, कार्यालय कक्ष, खानेपानीको व्यवस्था हुने छ। शिशुदेखि कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको यस विद्यालयमा हाल पाँच सय ३४ जना विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: २८ मंसिर २०८० ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App