१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

विद्यार्थीलाई नै सिकाई सामग्री बनाउन लगाइने, विदेशिन कम हुने मन्त्रालयको आसा

सरकारले माध्यमिक विद्यालयका विभिन्न विषयमा चाहिने शिक्षण सामाग्री बनाउन विश्वविद्यालयका विद्यार्थीलाई जिम्मा दिने भएको छ। मावि तहका विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टिम) मा प्रयोग गरिने सिकाई सामग्रीहरू निर्माणको जिम्मा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिने भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय स्तरका स्नातक तहमा अध्ययनरत सम्बन्धित विषयका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराएर विद्यालय स्तरको सामग्री बनाउन दिने भएको छ। कक्षा ५ देखि १० सम्मका विद्यार्थीका लागि कक्षा कोठामा शिक्षण सिकाई सामग्री निर्माणको जिम्मा दिन ‘स्टिम’ प्रतिस्पर्धा सम्बन्धी खुला प्रतिस्पर्धा गराउने लक्ष्यसहित आवेदन समेत माग गरेको छ।

विश्वविद्यालयका विद्यार्थीहरूले हासिल गरेको सम्बन्धित विषयको ज्ञान र क्षमतालाई स्वदेशमै प्रयोग गर्ने यो एक उत्कृष्ट उपाय हुने विश्वासकासाथ मन्त्रालयले कार्यक्रम ल्याएको मन्त्रालयका विज्ञान प्रविधि महाशाखा प्रमुख एवं सहसचिव इन्दुविक्रम जोशीले बताए। ‘यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी समूहबाट निवेदन माग गरिनेछ। प्राप्त निवेदनहरूबाट दोस्रो चरणका लागि समूह छनौट गरिन्छ,’ प्रमुख जोशीले नागरिकसँग भने ‘विद्यार्थी समूहलाई आफ्नो सोच अनुसारको वस्तु निर्माण गर्न चार महिनाको लागि समय दिइनेछ।’ 

‘दोस्रो चरणमा छनौट भएका समूहलाई स्टिम विषयमा विश्वविद्यालय स्तरीय प्रतियोगितात्मक कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि ,२०८० अनुसारको सहयोग रकम समेत सरकारले उपलब्ध गराउने छ’ उनले थपे। 

मन्त्रालयले स्वदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरुको ज्ञान र सिप स्वदेशमै सदुपयोग गर्ने वातावरण तयार गर्न लक्ष्य लिएको समेत सहसचिव जोशीले बताए। उनका अनुसार सरकारले स्टिमको अवधारणालाई प्रवर्द्धन गर्नुको साथै उच्च शिक्षामा विदेशिने विद्यार्थीको क्रमलाई पनि केही हदसम्म कम गर्न लक्ष्य लिएको छ।

त्यति मात्र होइन विश्वविद्यालयमा अध्ययन गरिरहेका नयाँ अनुहारले नयाँ सोच अनुसारको शैक्षिक सामग्री निर्माण गर्दा त्यो सामग्री कक्षा कोठामा सिकाइसँग जोडिने भएपछि विद्यालय स्तरको शिक्षाको समेत शैक्षिक गुणस्तर विकास हुने मन्त्रालयको विश्वास रहेको छ।

‘मन्त्रालयले यस कार्यक्रमको लागि ३० लाख रकम छुटाएको छ,’ उनले भने, ‘नवितम सोचकासाथ विद्यार्थीद्वारा निर्माण गरिने सिकाई सामग्री विद्यालय स्तरमा विद्यार्थीले नै शिक्षण सिकाइमा प्रयोग गरिने भएपछि सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार हुन्छ। विदेशतिर पनि यस्तै हुने हो।’

‘समाजमा भएको समस्यालाई पहिचान गर्ने र त्यसको समाधान समेत खोज्न यो कार्यक्रम ल्याइएको हो,’ उनले भने ‘यसका साथै अगामी वर्षदेखि विज्ञान साक्षरता कार्यक्रम पनि सरकारले ल्याउने तयारी गरिरहेको छ।’ उनले थपे ‘अब विद्यार्थीले कक्षामा पढेर मात्र जीवन जिउन सक्दैन। त्यसका लागि समाजमा कसरी बोल्ने, कसरी खाने, के खाने, कसरी बस्ने, सामाजिक सञ्जालको प्रयोग कति, कसरी र कहिले गर्ने बारे साक्षर गराइन्छ ।यसको पाठ्यक्रम तयारीको चरणमा छ।’ यस विषयको पहिलो चरणमा प्रशिक्षक तयारी भएपछि विद्यालय स्तरमै शिक्षण सामग्री तयारी गरिने उनले बताए।

‘प्रशिक्षकले विभिन्न सामुदायिक स्कुल स्तरबाटै कक्षाकोठामा विद्यार्थीलाई शिक्षण सिकाइबारे तालिम दिने छ,’उनले भने ‘विद्यालय शिक्षकहरूले सोही तालिम र सिकाई सामग्रीबाट बालबालिकालाई विज्ञान साक्षरता बारे सिकाउनु हुन्छ।’ सरकारले यसै गरी कार्यक्रमहरू ल्याएर स्वदेशमै विद्यार्थीलाई अवसरको सृजना गर्ने कामहरू थालनी गर्ने उनले जनाए।

प्रकाशित: २७ मंसिर २०८० ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App