१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

कर्मकाण्डका विद्यार्थीलाई रुद्राभिषेकको व्यावहारिक सिकाइ

संस्कृत माध्यमिक विद्यालय (दरबार हाई स्कुल) मा संस्कृत शिक्षाअन्तर्गत कर्मकाण्ड विषय अध्ययन गर्ने विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन स्कुल प्रांगणमै अग्नि स्थापना तथा रुद्राभिषेकको विधि सिकाइएको छ। त्यसका लागि गत मंगलबार बिहान ७ बजे नै स्कुलमा विद्यार्थी, अभिभावक, शिक्षक तथा महानगर शिक्षा विभागको प्रमुख उपस्थित भएक थिए। कर्मकाण्डका विद्यार्थीहरू आफूले किताबमा पढेका विषयबारे व्यावहारिक ज्ञान लिन आतुर देखिन्थे।

अग्नि स्थापना तथा रुद्राभिषेकको तयारीका लागि विद्यार्थीहरू समूहमा बाँडिएर कोही रेखी बनाउने, कोही मण्डप सजाउने, कोही दियो–कलश सजाउने, कोही गणेश स्थापना गर्ने काममा व्यस्त थिए।

यसैगरी केही विद्यार्थी रुद्री पाठ गरिरहेका थिए। कोही वेद पढ्न त केही चण्डी पाठ गर्न व्यस्त देखिन्थे। कोही माला जपिरहेका थिए। स्कुलको महोल गज्जबको देखिन्थ्यो।

सबै धर्म-संस्कृतिबारे केही सिक्ने चाहना विद्यार्थीमा स्पष्ट देखिन्थ्यो। किनभने उनीहरू निकै उत्साहपूर्वक पूजा तयारीमा जुटेका थिए।

बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म कर्मकाण्डबारे पूर्ण रूपमा व्यावहरिक ज्ञान दिँदा विद्यार्थीहरू उत्साहित बनेका थिए। किताबकै विषयबारे व्यावहािरक ज्ञान पाउँदा राम्रो बुझाइ भएको भन्दै साथीभाइसँग छलफल गरिरहेका थिए।

कर्मकाण्ड व्यावहारिक विषय भएकाले व्यावहारिक रूपमै पूजाआजा गरेर नै विधिविधान बुझ्नुपर्ने आवश्यक भएकाले स्कुल प्रांगणमै विद्यार्थी, अभिभावक, शिक्षक र महानगर शिक्षा विभागका प्रमुखसहितको रोहवरमा स्कुलले अग्नि स्थापना र रुद्राभिषेकको विधि सिकाएको बताइएको छ।

स्कुलमा कर्मकाण्ड अध्यापन गराउने गुरु ओमकार दुलाल र भानुभक्त खनालले विद्यार्थीहरूको समूह विभाजन गरी सबै पूजाको विधिअनुसार आवश्यक दियो-कलश, गणेश स्थापना गर्न लगाए।

विद्यार्थीहरू पनि समूहमा रहेर आआफ्ना जिम्मेवारी निभाए। कक्षा ९ देखि १२ सम्म अध्ययन गर्नुपर्ने कर्मकाण्ड ऐच्छिक विषय पढ्ने सय जना विद्यार्थीले गुरुको निर्देशनमै पूजाका सबै तयारी गरे। पूजामा विद्यार्थीले व्यावहारिक पाए/पाएनन् भन्नेबारे जानकारी राख्न काठमाडौं महानगरपलिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाको समेत उपस्थिति थियो।

स्कुलका प्राचार्य शिव अधिकारीका अनुसार किताबमा मात्र सीमित गर्दा विद्यार्थीले कर्मकाण्ड कसरी गर्ने तरिका खासै नजान्ने भएकाले स्कुल प्रांगणमै विधिपूर्वक पूजा लगाउँदा समग्र कर्मकाण्ड कसरी गर्नेबारे ज्ञान दिन सकिने जनाए।

उनले विद्यार्थीलाई चार वेद, अग्नि संस्कार, शिव स्थापना, रेखी बनाउने, दियो स्थापना, मण्डप पूजा, कलश स्थापना तथा गणेश पूजाबारे मन्त्र उच्चारणसहित विधिपूर्वक पूजा गर्न प्राक्टिकल रूपमा ज्ञान दिएपछि विद्यार्थीले कहिल्यै नबिर्सने बताए।

‘मंगलबार गुरु ओमकार दुलाल र गुरु भानुभक्त खनालको अगुवाइमा विद्यार्थीले रुद्राभिषेक कसरी गर्ने, रुद्री कसरी पढ्ने, हवन कसरी गर्ने, कुन देवतालाई कति हवन गर्ने भनेर आफैं सहभागी भएर स्पष्ट रूपमा सिकेका छन्,’ प्रिन्सिपल अधिकारीले नागरिकसँग भने, ‘कर्मकाण्ड अध्ययन गर्ने विद्यार्थी पण्डित हुने हो। यो व्यावहारिक विषय नै हो। मंगलबार स्कुलमा सबै विद्यार्थीले आफूले अध्ययन गरेका विषय गरेरै सिके। देव कर्मको सुरुदेखि समापनसम्मको व्यावहारिक ज्ञान विद्यार्थीले पाएको हामीले महसुस गर्‍यौं।’

पूजा सकिएलगत्तै गुरुले सबैलाई रक्षा बाँधेर टीका लगाइदिए। विद्यार्थीले तयार पारेको प्रसाद सबैले ग्रहण गरी उत्साहपूर्वक पूजा सम्पन्न गरे। पूजा सकिएपछि कक्षा ११ की मैयाँ विश्वकर्माले आफूले मन्त्र जप गर्दा शुद्ध र विधिपूर्वक उच्चारण गर्न सिकेको जनाइन्।

‘किताबमा विधि त पढेकी थिए, केही दुविधा थियो, आज प्रस्ट भए। आज मैले सुरुदेखि नै पूजा विधि सिकें। रमाइलो पनि लाग्यो,’ मैयाँले नागरिकसँग अनुभव सुनाइन्, ‘मलाई पूजा गर्न रुचि लाग्छ तर जानकारी थिएन। योग र पूजामा रुचि भएकाले संस्कृत शिक्षा पढेकी हुँ। वैज्ञानिक तरिकाले पनि ब्रह्माण्डमा भएको नकारात्मक ऊर्जालाई सही गर्ने विधि पनि पूजा नै हो। पूजा कसरी गर्ने भन्ने विधिविधानबारे व्यावहारिक ज्ञान पाएँ।’

कक्षा ११ का लोकस सिग्देलले पनि कर्मकाण्डबारे समग्र पूजाको विधि सिकेको बताए। उनी बूढानीलकण्ठ मन्दिरका पुजारीसमेत हुन्। ‘हालसम्म मैले किताबमा मात्र पढेको थिएँ। कर्मकाण्डबारे प्राक्टिकल गरेको थिइनँ,’ लोकसले भने, ‘झुक्किने विषयहरूबाट अब स्पष्ट भएँ। पूजाको सुरुवात र समापनसम्मको सम्पूर्ण विधिविधानबारे आज व्यावहारिक ज्ञान पाएँ।’

प्रकाशित: २५ मंसिर २०८० ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App