४ पुस २०८१ बिहीबार
image/svg+xml
शिक्षा

कक्षा १२ को शिक्षण सिकाइ कमजोर

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। विगतझैं यस वर्ष पनि परीक्षाको नतिजा ७५ प्रतिशत रह्यो। जबकि नतिजा ८० प्रतिशतमाथि आउनुपर्ने बोर्डकै भनाइ छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कक्षा १२ को नतिजा कमजोर हुनुमा कक्षाकोठामा हुने शिक्षण सिकाइ नै कमजोर भएको देखिएको हो।

कक्षा १२ को नियमित परीक्षामै ‘नन्ग्रेड’को अवस्था नआउनुपर्नेमा यसपटक धेरै विद्यार्थी अर्थात् नियमित परीक्षामा ननग्रेडका विद्यार्थी धेरै रह्यो। परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ जनाले परीक्षा दिएका थिए। तीमध्ये ८८ हजार नौ सय ४७ जना पास भएका छन्। तीमध्ये सबैभन्दा बढी ५४ हजार ६ सय ७२ जनाले अंग्रेजी विषयको परीक्षा दिएका थिए।

राष्ट्रिय परीक्षा बोर्डले भदौ १७ गते प्रकाशित गरेको कक्षा १२ को नियमित नतिजामा ५२ प्रतिशत विद्यार्थी असफल भए। परिणामअनुसार परीक्षामा सहभागीमध्ये एक लाख ८८ हजार चार सय १० विद्यार्थी स्नातक तहमा प्रवेश पाउने अवस्था थिएन।

नतिजामा ‘ग्रेडिङ’भन्दा ‘नन्ग्रेडिङ’ प्राप्त गर्ने विद्यार्थीको संख्या बढी थियो। यसपटक बोर्डले ग्रेडिङ प्रणाली २०७८ अनुसार नतिजा प्रकाशित गरेको थियो। यसले सैद्धान्तिक विषयमा ३५ प्रतिशतभन्दा कम अंक प्राप्त गर्नेलाई ‘ननग्रेडिङ’मा वर्गीकृत गरेको थियो।

बोर्डका कक्षा १२ का उपनियन्त्रक कृष्ण घिमिरेका अनुसार नियमिततर्फ कुल तीन लाख ६३ हजार आठ सय जनाले परीक्षा दिएकोमा ३५ प्रतिशतमाथि अंक प्राप्त गर्ने विद्यार्थीको संख्या एक लाख ७५ हजार तीन सय ९० रहेको थियो। यो ४८ दशमलव १० प्रतिशत मात्र हो। बाँकी ५१ दशमलव ९० प्रतिशत अर्थात् एक लाख ८८ हजार चार सय १० विद्यार्थी ‘ननग्रेडिङ’मा परेका छन्।

‘अनुदानका दुई शिक्षकका भरमा गुणस्तर आउँदैन’

अध्यक्ष शर्माका अनुसार सरकारले कक्षा १२सम्मको तहलाई विद्यालय संरचना बनायो। तर, शिक्षक दरबन्दी भने अझै पनि प्राथमिक, निम्न माध्यमिक र माध्यमिकसम्म मात्र कायम गरेको छ। कक्षा ११ र १२ मा हालसम्म कुनै दरबन्दी नै छैन। दुईजना शिक्षक कक्षा ११ र १२ मा अनुदानमा छन्। कक्षा १२ को गुणस्तर कायम हुन नसक्ने कारण यो पनि रहेको र शिक्षक अभावमा सिकाइ उपलब्धि कमजोर भएको उनको तर्क छ।

‘सरकारले कक्षा १२ सम्म विद्यालय संरचना बनायो तर कक्षा १० पछिको सिकाइको निरन्तरता दिन सकेन,’ अध्यक्ष शर्माले भने, ‘सरकारले पनि कक्षा ११ र १२ लाई अझै प्लस टु र विद्यालयले पनि प्लस टुकै व्यवहारमा सिकाइ गरिरहेको छ। दुई शिक्षक अनुदानको भरमा कक्षा ११ र १२ को विद्यार्थीको शिक्षण सिकाइ राम्रो हुँदैन। ग्रेडिङ हुँदैमा सबै पास हुने गलत सोचबाट शिक्षक र विद्यार्थी मुक्त हुनुपर्छ।’

बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार नतिजामा सुधार ल्याउन शिक्षक व्यवस्थापन नै महत्वपूर्ण पक्ष हो। विषयगत शिक्षकको अभावमा विद्यार्थीले वर्ष दिन बिताउनु दुःखको विषय बनेको उनको भनाइ छ।

‘पूरक परीक्षामा ५४ हजारभन्दा बढी विद्यार्थी अंग्रेजी विषयकै छन्,’ प्रवक्ता अर्यालले नतिजाबारे बताए, ‘यसको अर्थ हामीले माध्यमिक विद्यालय तहमा अझै पनि अंग्रेजी शिक्षक अभावमै वर्ष बिताउनुपर्छ।’ पूरक परीक्षामा दोस्रोमा लेखा विषयका विद्यार्थी सहभागी थिए। अर्थात् २२ हजार विद्यार्थी सो विषयमा सहभागी थिए।

अंग्रेजीमा बढी असफल

उपनियन्त्रक कृष्ण घिमिरेले उपलब्ध गराएको तथ्यांकअनुसार यसपटक सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा असफल भएका छन्। अंग्रेजीमा कुल सहभागीमध्ये एक लाख एक हजार एक सय १३ विद्यार्थी ‘नन्ग्रेडिङ’ थिए भने ए प्लस ल्याउने एक हजार पाँच सय ६७ मात्र थिए।

नेपालीमा ३२ हजार चार सय ९५ असफल थिए भने ए प्लस ल्याउने एक हजार ६ सय २४ मात्र थिए। यी दुवै अनिवार्य विषय हुन् भने ऐच्छिक विषयमा सबैभन्दा बढी विद्यार्थी भएको विषय लेखा, अर्थशास्त्र, भौतिकशास्त्र, गणित र सामाजिक अध्ययन हुन्।

यसैगरी, १२ को नियमित परीक्षामा एकाउन्टमा कुल एक लाख ७१ हजार परीक्षार्थीमध्ये ६६ हजार एक सय ७१ ‘ननग्रेडिङ’मा थिए। ए प्लस ल्याउने दुई हजार ६ सय १२ थिए भने समाजिक अध्ययनमा तीन लाख १२ हजार विद्यार्थीमध्ये ५४ हजार एक सय १३ असफल रहे। ए प्लस ल्याउने एक सय नौ मात्र थिए। गणितमा कुल ५२ हजारले परीक्षा दिएकोमध्ये आठ हजार ८२ असफल थिए।

प्रकाशित: २४ कार्तिक २०८० ००:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App