१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट

होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दै कपिलवस्तुको तौलिहवास्थित सनसाइन आवासीय माध्यमिक विद्यालयका कम्प्युटर शिक्षकले एक छात्रामाथि निर्घात कुटपिट गरेका छन्।

कम्प्युटर विषयका शिक्षक ऋषिकेश पाण्डेले कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रा पिहु बर्मालाई गत बुधबार निर्ममतापूर्वक कुटेका हुन्। बालिकाका देव्रे र दाहिने पाखुरा र हातमा निलडाम छन्। खुट्टामा समेत चोट लागेको छ। छात्रा बर्माले आफूलाई शिक्षक पाण्डेयले होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दैे कक्षा कोठामै कुटेको बताइन्।

विद्यालयका प्रिन्सिपल धर्मेन्द्रकुमार चौधरीले शिक्षक पाण्डेयले छात्रा बर्मालाई कुटेको घटना सत्य रहेको बताए। सो घटनाबारेमा बुझेर शिक्षक पाण्डेलाई विद्यार्थीसमक्ष माफी माग्न लगाइएको बताए। विद्यालय व्यवस्थापन समितिको बैठक बसी अन्य कारबाही प्रक्रिया चलाइने उनले बताए। छात्राका पिता सचिदानन्द बर्माले आफ्नी छोरी कुट्ने शिक्षक पाण्डेयमाथि कारबाहीका लागि प्रहरीमा उजुरी दिएको बताए। पिहु कक्षाकै प्रथम विद्यार्थी रहेको विद्यालय प्रशासनले जनाएको छ।

यशोधरा गाउँपालिका २ घर भएका शिक्षक पाण्डेयले सो विद्यालयमा चार वर्षदेखि पढाउँदै आएका छन्। पीडित र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा सहमति भएपछि मुद्दा भने दर्ता नभएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवीप्रसाद बर्माले बताए। शिक्षक पाण्डेयले छात्रा बर्मा र उनका अभिभावकसँग माफी मागेका थिए। पाण्डेयलाई विद्यालयबाट हटाउने सहमतिसमेत भइसकेको छ।

प्रकाशित: १३ आश्विन २०८० ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App