१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

अभिभावकका पीडा सुनाउँछन् विद्यार्थी

म्याग्दी सामुदायिक पुस्तकालयमा आयोजित कार्यक्रम। तस्बिर: नागरिक

म्याग्दी सामुदायिक पुस्तकालयमा आयोजित एक कार्यक्रममा बेनी सामुदायिक माविकी एक विद्यार्थीले आफ्ना अभिभावकले वैदेशिक रोजगारीका क्रममा भोगेको पीडा सुनाइन्। म्यानपावर कम्पनीले आकर्षक तलब सुविधा दिने घोषणा गरेर खाडी मुलुक गएका उनका बुबाले समयमै तलब नपाएको जस्ता समस्या अन्य साथीलाई सुनाउँदै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्नेमा जोड दिइन्।

रिड नेपालको आर्थिक सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले सञ्चालन गरिरहेको सुरक्षित स्थान्तरण दियो परियोजनाअन्तर्गत सुरक्षित आप्रवासनसम्बन्धी सचेतनामा वैदेशिक रोजगारमा गएका विद्यार्थीले आफ्ना अभिभावले भोगेका अनुभव सुनाएका थिए। पर्याप्त तालिम र सीप र सुरक्षाको ग्यारेन्टीविनै वैदेशिक रोजगारीमा जाँदा अभिभावकले धेरै दुःख पाएको विद्यार्थीको भनाइ छ।

‘मेरा बुबाले विदेशमा गएर धेरै दुःख पाएको अनुभव सुनाउनुभएको थियो, सबै कुरा बुझेर जाँदा मात्रै वैदेशिक रोजगारमा जाँदा सजिलो हुने रहेछ’, एक छात्राले भनिन्।

धन कमाउन विदेशमा पुगेका अभिभावकले झेल्दै आएका समस्या समाधान हुने गरी म्याग्दी सामुदायिक पुस्तकालयले सुरु गरेको वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानित र व्यवस्थित बनाउने अभियानमा हालसम्म सहभागी आठ सामुदायिक विद्यालयका विद्यार्थीले वैदेशिक रोजगारीमा गएकाहरूको दुःख छोराछोरीले समेत महसुस गरेको पाइएको म्याग्दी सामुदायिक पुस्तकालकी कर्मचारी भुजु क्षेत्री कटुवालले बताइन्।

‘विद्यार्थी वैदेशिक रोजगारीमा गएका अभिभावकका समस्या सुनाउँछन्, ‘कोही भावुकसमेत हुन्छन्, कोहीले सुरक्षित हुने उपायमा चासो देखाउँछन्’, परियोजनाकी सहजकर्ता समेत रहेकी कटुवालले भनिन्।

म्याग्दी पुस्तकालयले आफ्ना अभिभावकको वैदेशिक यात्रा र रोजगारीलाई व्यवस्थित, भरपर्दो, सुरक्षित, उत्पादक र मर्यादित बनाउन विद्यार्थीले चासो देखाएपछि कार्यक्रमले निरन्तरता पाएको छ।

हतारमा विदेश जाने योजना बनाउँदा जोकोही दलालको फन्दामा परी ठगिने सम्भावनाका बारेमा विद्यार्थीको चासो धेरै रहेको बेनी सामुदायिक माविका प्रधानाध्यापक दीपक श्रेष्ठले बताए।

‘यो कार्यक्रमले सचेतना फैलाएको छ, वैदेशिक रोजगारीमा गएका अभिभावकको सुरक्षाबारे विद्यार्थी चिन्तित हुनु राम्रो हो’, प्रधानाध्यापक श्रेष्ठले भने।पुस्तकालयमार्फत हालसम्म करिब साढे दुई सय विद्यार्थीलाई वैदेशिक रोजगारमा जाँदा कसरी सुरक्षित हुने, वैदेशिक रोजगारको सिलसिलामा कुनै वाधाअड्चन आएमा क्षतिपूर्तिसहित फिर्ता हुन सकिन्छ आदि विषयमा जानकारी गराइएको थियो।

‘परियोजनाले निरन्तरता पाएमा ग्रामीण क्षेत्रका विद्यालयमा समेत पुर्‍याउँछौ’, वैदेशिक रोजगारी रहर नभई बाध्यता हो’, अध्यक्ष श्रेष्ठले भने। उनले रिड नेपाललाई कार्यक्रम निरन्तरताका लागि अनुरोध गरिने बताए।

वैदेशिक रोजगारीको सिलसिलामा पति विदेशी भूमिमा कठिन परिश्रम गरी नेपालमा पैसा पठाइरहेको अवस्थामा दुरूपयोग गर्ने र वैदेशिक रोजगारीकै कारण हुने डरलाग्दो सामाजिक तथा आपराधिक घटना न्यूनीकरणमा समेत यो कार्यक्रमले विद्यार्थीमार्फत समुदायलाई सचेत बनाउन सकिने बताए।

परियोजनाअन्तर्गत हालसम्म वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, फर्किएर गाउँमै सीपमूलक कार्य गरेका, समुदायमा फरक पेसामा आबद्ध भएकालाई समेत समेटिने जनाइएको छ।

प्रकाशित: १० आश्विन २०८० ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App