१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
शिक्षा

त्रिविको शैक्षिक सुधारमा प्रधानमन्त्री आफैँ प्रतिबद्ध हुनुपर्छ: प्रतिनिधिसभाका सांसदहरू

प्रतिनिधि सभाका सांसदहरूले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक सुधारका लागि प्रधानमन्त्री आफैँ प्रतिबद्ध र जिम्मेवार हुनुपर्ने बताएका छन्।

नेकपा एमालेकी सांसद विद्या भट्टराई, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिविमा सुधार ल्याउन प्रधानमन्त्री र प्रमुख राजनीतिक पार्टीहरु आफैँ प्रतिबद्ध र जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता औँल्याएका हुन ।

 पूर्व शिक्षामन्त्री समेत रहेका माओवादी केन्द्रका सांसद पौडेलले त्रिविमा तत्काल सुधार नआए निकट भविष्यमै विद्यार्थी विहीन हुने अवस्था आउन सक्नेतर्फ पनि सरकारलाई सचेत गराए।आज संघीय संसद प्रतिनिधि सभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले परीक्षा प्रणालीमा सुधार गर्न र शैक्षिक क्यालेन्डर लागू गराउने काममा विशेष ध्यान दिन त्रिवि पदाधिकारीहरूको ध्यानाकर्षण गराए।

एमालेकी सांसद विद्या भट्टराईले कुलपति भएकाले त्रिविको सुधारका लागि प्रधानमन्त्री आफैँ प्रतिबद्ध भएर लाग्नुपर्ने बताइन।उनले काँग्रेस, एमाले र माओवादी केन्द्रले पनि त्रिविको सुधारका लागि उत्तिकै जिम्मेवार भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिविको सुधारका लागि तत्काल पाठ्यक्रममा सुधार गर्न पनि त्रिवि पदाधिकारीलाई आग्रह गरिन।उनले शैक्षिक जनशक्तिको अभाव, बजेटका अभाव हुन नदिन पनि त्रिवि पदाधिकारीले सरकार समक्ष ठोस प्रस्ताव राख्नुपर्ने बताइन।

सांसद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले दिने शिक्षा रोजगारमूलक हुनुपर्नेमा पनि जोड दिइन।


 

प्रकाशित: १९ श्रावण २०८० १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App