२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

विश्वविद्यालयतर्फको यात्रामा भक्तपुर

भक्तपुर नगरपालिकाका वडावडामा नगरपालिका आफैंले सञ्चालन गरिराखेका शिशु स्याहार केन्द्र छन्। उच्च शिक्षाका लागि भनी भक्तपुर नगरपालिका स्वयंले स्कुल, कलेज पनि आफ्नै लगानीमा सञ्चालन गरिराखेको छ। १२ कक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुनमा स्नातकोतर तहसम्मको उच्च शिक्षा पढ्ने मात्रै होइन, इन्जिनियरिङ, ओभरसियर, नर्सिङ, कानुनमा पनि उच्च शिक्षासम्मको पढाइ हुने कलेज नगरपालिकाकै लगानीमा सञ्चालित छन्। अब यो नगरपालिकासँग आफ्नै लगानीमा एउटै मात्रै शैक्षिक संस्था सञ्चालन गर्न बाँकी छ, त्यो हो– एमबिबिएस अर्थात् चिकित्साशाश्त्र डाक्टरीको पढाइ हुने कलेज।

यसैको स्वीकृतिका लागि नगरपालिकाले विगत एक दशकदेखि नै ख्वप विश्वविद्यालयको अवधारणाका साथ निरन्तर स्वीकृतिका लागि केन्द्रीय सरकारसमक्ष प्रभाव अनि दबाब दिँदै आएको छ। भक्तपुर नगरपालिकाले जनताका छोराछोरीलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिन भनी आफ्नै लगानीमा शैक्षिक संस्था सञ्चालन थालेको २०५६ देखि हो। सोही वर्षको साउन १६ (यो वर्ष मंगलबार) मा ख्वप मावि स्थापना भएको हो। यही मावि स्थापनाको पच्चीसौं वष अर्थात् रजत महोत्सव मंगलबार सम्पन्न भएको छ। कक्षा ११ मा ख्वप माविमा अध्ययन गर्न भनी भर्ना भएका दुई हजार विद्यार्थीलाई स्वागत गरी रजत महोत्सव कार्यक्रम गरिएको हो।

कार्यक्रममा हजारौं विद्यार्थीलाई स्वागत गर्दै भक्तपुर नगरपालिकाका प्रमुख एवं नगरपालिकाद्वारा सञ्चालित आठवटा शैक्षिक संस्थाको समूह ख्वप सर्कलका अध्यक्ष सुनिल प्रजापतिले जनताका छोराछोरीलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिन सञ्चालित देशकै पहिलो शैक्षिक संस्था ख्वप मावि सञ्चालनको २५ वर्ष पुगेको अवसरमा खुसी व्यक्त गरे। देशभरका स्थानीय निकायमध्येबाट सञ्चालित यो शैक्षिक संस्था देशकै पहिलो शैक्षिक संस्था भएको उनको दाबी थियो। ‘अब हाम्रो लक्ष्य ख्वप विश्वविद्यालय हो’, उनले भने, ‘यसका लागि भौतिक पूर्वाधार मात्रै होइन, सम्पूर्ण तयारी पूरा छ, सरकारले स्वीकृति दिनेबित्तिकै निकै कम शुल्कमा एमबिबिएस (डाक्टर) को पढाइ पनि सुरु गर्ने छौं।’

रजत महोत्सव कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें थिए। कार्यक्रममा बिजुक्छेंले नेपालका धेरै विश्वविद्यालयभन्दा फरक तरिकाले शिक्षा दिने योजना भएकाले पनि ख्वप विश्वविद्यालयका लागि निरन्तर आवाज उठाइरहेको सुनाए। ‘अरू विश्वविद्यालयको जस्तो शैक्षिक संस्था सञ्चालन गर्ने हाम्रो उद्देश्य होइन’, उनले भने, ‘यही कारण नै ख्वप विश्वविद्यालयको आवश्यकता भएको हो। घटीमा ४० लाखमा एमबिबिएस पढाइ हुने गरेकोमा स्वीकृति दिए हामी १० लाखमै एमबिबिएसको पढाइ गराइदिने भनी बिजुक्छेंले निरन्तर सार्वजनिक रूपमा बताउँदै आएका छन्।

यो वर्ष ख्वप माविमा अध्ययनका लागि ६५ जिल्लाका झन्डै दुई हजार विद्यार्थी भर्ना भएका छन्। यो वर्ष कक्षा ११ मा कुल एक हजार नौ सय १६ जना विद्यार्थी भर्ना भएका छन्। त्यसमध्ये विज्ञानमा सात सय ५८, व्यवस्थापनमा नौ सय ९१, मानविकीमा ९५, कानुनमा ४९ र शिक्षामा २३ जना विद्यार्थी भर्ना भएका छन्। २०५६ सालमा भक्तपुरलाई एक घर एक स्नातक बनाउने अभियानका लागि नगरपालिकाबाट आफ्नै शैक्षिक संस्था सञ्चालन थालेको थियो। ख्वप मावि २०५६ सालमा स्थापना भएपछि ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेज २०५८ सालमा स्थापना भएको थियो। 

प्रकाशित: १७ श्रावण २०८० ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App