१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

‘आन्दोलन गरौं तर पठनपाठन बन्द गरी नगरौं’

वरिष्ठ प्राध्यापक इन्जिनियरहरूले प्राध्यापकहरु बौद्धिक वर्ग भएकाले विद्यार्थीले जस्तै पठनपाठन नै बन्द गरी आन्दोलन गर्न नहुने बताएका छन्।

 तरबारमा होइन, कलममा विश्वास गर्ने शिक्षक प्राध्यापकहरुले जुनसुकै माग राखेर आन्दोलन गर्दा पठनपाठन बन्द नहुने गरी मात्रै आन्दोलन हुनुपर्ने उनीहरुले बताए।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल इन्जिनियरिङ कलेज (नेक) एकाईको बुधबार भक्तपुरमा भएको पहिलो साधारण सभा उद्घाटन कार्यक्रमका वक्ता वरिष्ठ इन्जिनियरहरूले नेकमा पनि धेरै अनियमितता भएको र त्यसविरुद्ध हालसम्म आफूहरुले कहिले पनि पठनपाठन अवरुद्ध हुने गरी आन्दोलन नगरेको बताए।

‘हामीले पटक पटक ११ बुँदे, ४१ बुँदे माग पत्र राखेर कलेजभित्र आन्दोलन गर्‍यौँ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल इन्जिनियरिङ कलेज (नेक) एकाईका अध्यक्ष सहप्राध्यापक इन्जिनियर दीपक धामीले भने, आन्दोलनको क्रममा प्रिन्सिपललाई पनि घेरा हाल्यौं। तर पठनपाठन बन्द हुने गरी अहिलेसम्म कहिल्यै आन्दोलन गरेनौं।’

चित नबुझेको विषयमा नोट अफ डिसेन्ट लेखेर भद्र आन्दोलन गर्दै आएको उनले सुनाए। आफ्नो संगठनले व्यक्तिको भन्दा पनि संस्थाको हितको लागि आन्दोलन गरिरहेको उनले सम्झे। कलेजको विकासका लागि आफूहरुले आन्दोलन मात्रै नगरी सहकार्य गरेर अगाडि बढेको पनि उनले स्मरण गरे। उनले आफूहरु नेपाली कांग्रेस निकटको प्राध्यापकहरु रहे पनि पार्टीको झण्डा नै बोकेर ढुंगामुढामा नउत्रने प्राध्यापकहरु रहेको बताए।

कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल इन्जिनियरिङ कलेज (नेक) एकाईका उपाध्यक्ष उपप्राध्यापक इन्जिनियर रमेशकुमार पुडासैनी, सचिव सहप्राध्यापक इन्जिनियर मोहनध्वज केसी, सहसचिव उपप्राध्यपाक इन्जिनियर यमन ढकाल, कोषाध्यक्ष नारायण आचार्य, सल्लाहकारद्धय प्राध्यापक इन्जिनियर गणेश शाह, प्राध्यापक इन्जिनियर सावित्री त्रिपाठीलगायतले संस्थाले कलेजको हितका लागि सधैँ आन्दोलित भइराख्ने बताए।

साधारण सभामा अध्यक्ष इन्जिनियर धामीले १६ बुँदे आगामी कार्यक्रम तथा रणनीति प्रस्ताव पेश गरे। उनले संघले आउँदा दिनमा पनि प्रजातान्त्रिक शैक्षिक आदर्शप्रति प्रतिबद्ध यस कलेजका प्राध्यापकहरुलाई एकताको सूत्रमा आबद्ध गरी सम्पूर्ण प्राध्यापकहरुका पेसागत हकहितको संरक्षण गर्न भूमिका खेलिने, कलेजको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यार्थी, अभिभावक, कलेज प्रशासनसँग समन्वय गरी अघि बढिने, कलेजमा लामो समयदेखि रोकिएका शिक्षक/कर्मचारीहरुको स्थायी तथा पदोन्नतिलाई यथाशीघ्र अघि बढाउन दबाबमूलक कार्य अघि बढाइने, कलेजलाई विधिपूर्वक अघि बढ्न कलेजको स्वीकृत बजेट बमोजिम कार्य गर्न दबाब दिइने, कलेजमा भइरहेका अनावश्यक खर्चहरु कटौती गर्न कलेज व्यवस्थापन समक्ष माग गरिने लगायतका प्रस्तावहरू गरे।

साधारण सभाका वक्ताहरूले आफूहरु तरबार चलाउन सिकाउने शिक्षक पनि भएकाले आफूहरुको लचिलो आन्दोलनलाई कमजोरी ठान्ने भुल नगर्न प्रशासनलाई चेतावनी पनि दिए।

प्रकाशित: ६ असार २०८० १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App