कपिलवस्तुको महाराजगंज नगरपालिकाको बर्गदा घटना सम्बन्धमा प्रहरीले शनिबार रातिसम्म नौ जनालाई नियन्त्रणमा लिएको छ।
दुई समुदायबिच भएको घटनाले उग्र रूप लिएपछि प्रदर्शनकारीले ठाउँ-ठाउँमा विरोध प्रदर्शन गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी उपरीक्षक सन्तोष आचार्यले घटनामा कुल २३ जना घाइते भएको बताएका छन्।
नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षकसहित ११ जना तथा सशस्त्र प्रहरीका छ जना घाइते भएका छन्। प्रदर्शनकारीतर्फ ६ जना घाइते भएका छन्। त्यसमध्ये चार जनालाई गोली लागेको छ। चार जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ भने एक जनाको भरतपुरमा उपचार भइरहेको छ। एक जनाको बहादुरगंज अस्पतालमा उपचार भइरहेको छ। महाराजगंजमा निषेधाज्ञा आज पनि कायम रहेको छ।
घटनाका सम्बन्धमा आइतबार प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बस्ने तयारी गरिएको निमित्त प्रजिअ भबिश्वर घिमिरले बताएका छन्। शनिबार बिहान कपिलवस्तुको महाराजगंज नगरपालिकाको बर्गदामा दुई समुदायबिच धार्मिक विषयमा विवादले उग्र रूप लिएपछि प्रशासन कार्यालयले सो क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो।
शनिबार मुस्लिम समुदायको इदमा मस्जिदमा नमाज पढ्ने क्रममा त्यहीँ नजिक रहेको काली मन्दिरमा चर्को स्वरमा भजन लगाइएको भन्दै मुस्लिम र हिन्दु समुदायबिच विवादले उग्र रूप लिएको थियो। घटनापछि कपिलवस्तुमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताएका छन्। उनले संयम रहन सबैमा अपिलसमेत गरेका छन्।
प्रकाशित: ८ चैत्र २०८२ १०:१८ आइतबार



-600x400.jpg)

