१५ चैत्र २०८० बिहीबार
शिक्षा

पोषण शिक्षासम्बन्धी सचेतना अभियान शुरु गर्न जरुरीः मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धि सचेतना अभियान शुरु गर्न जरुरी रहेको बताएका छन्।

बुधबार विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले खाद्यान्न स्वच्छ, सफा हुनुपर्ने, खाद्यको सुरक्षा हुनुपर्ने भन्नेकुरा निश्चित समूहमा मात्रै पुग्ने गरेकाले आम मानिसमा यसको प्रचारप्रसार हुन जरुरी रहेको बताए। खाद्य शिक्षा र पोषण शिक्षाका बारेमा सचेताना अभियानका मन्त्रालयले रकम छुट्याएर काम गर्नेपनि उनले प्रतिवद्धता जनाए।

उनले एकले अर्कोलाई ढाँट्नु भनेको अपराध भएकाले सबैले कसैलाई पनि नढाँटी काम गर्न जरुरी रहेको बताए। उनले खाद्य स्वच्छता सम्बन्धी विधेयक गत वर्ष नै राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा अड्किएको र आफूले संसदमा प्रस्तुत गर्न सभामुखसँग आग्रह गरिसकेकाले अब चाँडै नै खाद्य स्वच्छता सम्बन्धी विधेयक संसदमा आउने बताए।

उनले भने, ‘खाद्यान्न स्वच्छ, सफा हुनुपर्छ, खाद्यको सुरक्षा हुनुपर्छ भन्नेकुरा निश्चित सीमाभित्र मात्रै हामी पु¥याउन सकेका छौँ, सबैमाझ हामीले पु¥याउन सकेका छैनौँ। व्यापक रुपमा बिस्तार गरेर हामीले जनतामाझ पुग्न सकेका छैनौँ। त्यसकारण हामीले खाद्य शिक्षाको बारेमा, पोषण शिक्षाको बारेमा एउटा नयाँ अभियान चलाउनुपर्ने जरुरी छ। खाद्य स्वच्छता, खाद्य सुरक्षा, कृषि सुरक्षा यसका बारेमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। हामीले यस पटक खाद्य शिक्षा र पोषण शिक्षाका बारेमा सचेताना अभियानका लागि केही रकम छुट्याइ काम गर्नेछौँ। यो सबैको लागि हो। ढाँट्ने काम राजनीतिक क्षेत्रबाट मात्रै भएको छ जस्तो मलाई लाग्दैन। कसैले पनि कसैलाई पनि नढाँटौँ। आफूले आफूलाई ढाँट्ने काम बन्द गरौँ। खाद्य स्वच्छता सम्बन्धी विधेयक गत वर्ष नै राष्ट्रिय सभाबाट पारित भएर समितिमा गइ छलफल गरी अघि बढाएका थियौँ। अहिले प्रतिनिधि सभामा छ, यसबारेमा मैले सभामुखज्युलाई भनेको छु, अब यो छिटै आउनेछ।’

प्रकाशित: २४ जेष्ठ २०८० ०८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App