४ वैशाख २०८१ मंगलबार
शिक्षा

शिक्षण सिकाइ वरदान साबित

बालबालिकामैत्री विद्यालय

अन्जुकुमारी ठाकुर पाटनस्थित पाटन माध्यमिक विद्यालयमा शिशु कक्षादेखि अध्ययनरत छिन्। पहिले उनलाई महिनावारी हुँदा स्कुल जानै समस्या लाग्थ्यो। किनभने स्कुलमा व्यवस्थित शौचालय थिएन। तर अहिले भूकम्पपछि जापान सरकारले पुनर्निर्माण गरिदिएपछि उनी रमाएर स्कुल जान्छिन्। हाल उनी कक्षा ८ मा अध्ययनरत छिन्। ‘शौचालयमा पानी र प्याड तथा हात धुने ह्यान्डवासको कति राम्रो व्यवस्था छ,’ अन्जुले बुधबार नागरिकसँग एक कार्यक्रममा भेट हुँदा भनिन्, ‘यति मात्र होइन हाम्रो स्कुलमा आधुनिक कम्प्युटर प्रयोगशाला, पुस्तकालय र विज्ञान प्रयोगशालाले अध्ययन गर्ने धेरै सकारात्मक वातावरण बनाइदिएका छन्।’

सोही स्कुलको कक्षा ९ का सरोज परियार पनि पाटन माविमा शिशु कक्षादेखि अध्ययन छन्। ‘सबैभन्दा राम्रो स्कुलमा खानेपानीको उचित व्यवस्था पुननिर्माण भएपछि भयो। रसायन शास्त्रको प्रयोगशाला आधुनिक भएकाले किताबमा पढेको विषय प्रयोगशालामा राम्ररी प्रयोग गर्न सक्ने भयौं। पहिले विज्ञान त किताबमा मात्रै पढ्नुपर्थ्याे,’ सरोजले सुनाए, ‘पहिले शौचालयमा पानी र ह्यान्डवास नभएकाले खाजा खान मन लाग्दैनथ्यो। अहिले खाजा खाएर खुसीसाथ पढ्ने वातावरण बनेको छ। विद्यार्थीमैत्री विद्यालय बनेको छ। कम्प्युटर पनि किताबमा मात्र सीमित हुनु परेन, व्यावहारिक ज्ञान हासिल गर्न कम्प्युटर ल्याब पनि छ।’

अन्जुकुमारी ठाकुर पाटनस्थित पाटन माध्यमिक विद्यालयमा शिशु कक्षादेखि अध्ययनरत छिन्। पहिले उनलाई महिनावारी हुँदा स्कुल जानै समस्या लाग्थ्यो। किनभने स्कुलमा व्यवस्थित शौचालय थिएन।

भूकम्पबाट क्षति भएका कुल विद्यालयमध्ये हालसम्म ७ हजार ४ सय ४९ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको र १ सय ८६ को पुनर्निर्माण भइरहेका छन्। यसरी कुल ७ हजार ६ सय ३५ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न हुने तयारीमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

शिक्षा मन्त्रालय र जापानी दूतावासद्वारा संयुक्त रूपमा केही दिनअघि काठमाडौंमा आयोजना गरिएको आपतकालीन विद्यालय पुनर्निर्माण परियोजना समापन कार्यक्रममा मन्त्रालय अन्तर्गत केन्द्रीय स्तर परियोजना कार्यान्वयन एकाइ (सिएलपिआइयु) का परियोजना निर्देशक डिल्लीराम लुइँटेलले २०७२ साल वैशाख १२ गतेको महाभूकम्पमा कुल ३१ जिल्लाका ७ हजार ९ सय २३ विद्यालयमा क्षति भएको र तीमध्ये हालसम्म कुल ७ हजार ६ सय ३५ विद्यालयको पुनर्निर्माण सम्पन्न भई शिक्षण सिकाइ सुचारु भइसकेको बताए।

अब कुल क्षति भएका विद्यालयमध्ये २ सय ८८ मात्र पुनर्निर्माण बाँकी रहेको र उक्त विद्यालय पनि पुनर्निर्माण कार्य भइरहेको मन्त्रालयले जनाएको छ।

जसमध्ये जापान सरकारको जाइकाद्वारा विकसित डिजाइन र संरचनात्मक निर्देशिकाहरूको आधारमा आपतकालीन विद्यालय पुनर्निर्माण परियोजनाअन्तर्गत ६ जिल्ला गोरखा, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर र ललितपुर जिल्लाका कुल २ सय ७४ आपतकालीन विद्यालय पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको निर्देशक लुइँटेलले जनाए।

भूकम्पबाट क्षति भएका कुल विद्यालयमध्ये हालसम्म ७ हजार ४ सय ४९ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको र १ सय ८६ को पुनर्निर्माण भइरहेका छन्।

उनका अनुसार जापान सरकारको ऋण सयोगमा कुल २ सय ७४ विद्यालयमा ७ सय ६० भवन बनाइएको छ भने २ हजार २ सय ३ अत्याधुनिक कक्षाकोठा निर्माण गरिएको छ।

यति मात्र होइन, जाइकाको विकसित डिजाइनअनुसार विद्यालयभित्र एक सय १६ प्रविधिमैत्री प्रयोगशाला, १ सय ८४ आधुनिक पुस्तकालय, २ सय १४ बालविकास कक्ष, ६८ वटा म्युजिक रुम, १ सय ३३ कम्प्युटर कक्षाकोठा र १७ वटा बहुउद्देश्यीय भवन निर्माण गरिएका छन्।

‘६९२ छात्र शौचालय र ८३१ छात्रा शौचालय निर्माणले विद्यालय बालबालिकामैत्री बनेका छन्,’ निर्देशक लुइँटेलले भने, ‘जापान सरकारको सहयोगले बनेका विद्यालयमा कुल १ लाख विद्यार्थी र ५ हजार शिक्षक लाभान्वित बनेका छन्। १५ अर्ब २० करोड रूपैयाँ खर्च गर्ने गरी ऋण समझौता भएको हो। भौतिक रूपमा भूकम्प प्रतिरोधात्मक र बालबालिकामैत्री रूपमा यी विद्यालय शिक्षण सिकाइमा वरदान सावित भएका छन्।’

मन्त्रालयका अनुसार कुल क्षति भएका विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिको सहयोगमा ६ हजार १०, ठेकेदारले ८ सय ३२ र गैरसरकारी संस्थाले ७ सय ९३ विद्यालय पुनर्निर्माण कार्य सम्पन्न गरेका हुन्। हालसम्म कुल ३ हजार ४ सय ५९ शौचालय पुनर्निर्माण भएका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी सुशील ज्ञवालीले जापान सरकार प्रविधिमा पनि विश्वमै उत्कृष्ट भएकाले नेपालमा बनाइएका २ सय ७४ विद्यालय प्राविधिक हिसाबले पनि प्रशंसनीय रहेको जिकिर गरे।

‘आधुनकि भवन मात्र भएर शिक्षामा सुधार हुने होइन,’ पूर्व कार्यकारी प्रमुख ज्ञवालीले सुझाए, ‘कक्षाकोठाभित्रको शिक्षण सिकाइ गुणस्तरीय बनाउन संघीय सरकारले स्थानीय निकायसँग समवन्य गरी गुणस्तरीय शिक्षातर्फ जोड दिनुपर्छ।’

नेपालका लागि जापानी राजदूत किकुता युटाकाले नेपाल र जापानबिचको दौत्य सम्बन्धको इतिहासमै शिक्षा क्षेत्रमा यति ठूलो योगदान सफलतापूर्वक सम्पन्न गर्न पाउँदा निकै हर्षित तुल्याएको बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी सुशील ज्ञवालीले जापान सरकार प्रविधिमा पनि विश्वमै उत्कृष्ट भएकाले नेपालमा बनाइएका २ सय ७४ विद्यालय प्राविधिक हिसाबले पनि प्रशंसनीय रहेको जिकिर गरे।

उनले नेपाल भौगोलिक हिसाबले विभिन्न विपत्को जोखिममा रहेको र यसैलाई ध्यानमा राखी जापान सरकारले भविष्यमा हुने यस्ता विपद्बाट जोगिन पूर्वयारीका लागि समेत काम गर्न तयार रहेको प्रतिबद्धता जनाए। ‘जापानका स्कुलहरूमा विपद्बाट जोगिनेबारे सिकाउने क्लबहरू नै हुन्छन्,’ राजदूत किकुता युटाकाले सुनाए, ‘नेपालमा पनि विद्यालय तहका बाल क्लबहरूमा पनि यस्ता छलफल हुुनुपर्छ। जापान सरकारले पुनर्निर्माण गरेका विद्यालयले शिक्षण सिकाइ गुणस्तर बनाउन पक्कै पनि सहयोग गर्ने हाम्रो सरकारको विश्वास छ।’

प्रकाशित: १ जेष्ठ २०८० ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App