२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

आपत्कालिन विद्यालय पुन: निर्माणले शिक्षण सिकाईमा वरदान

अन्जुकुमारी ठाकुर पाटनमा रहेको पाटन माध्यमिक विद्यालयमा शिशु कक्षादेखि अध्ययनरत छिन्। पहिले उनलाई महिनावारी हुँदा स्कुल जानै समस्या लाग्थ्यो। किनभने स्कुलमा व्यवस्थित शौचालय थिएन। तर अहिले भूकम्पपछि जापान सरकारले पुन निर्माण गरेको यो विद्यालयमा उनी रमाएर स्कुल जान्छिन्। हाल उनी कक्षा ८ म अध्ययनरत छिन्।

‘शौचालयमा पानी र प्याड तथा हात धुने ह्यान्ड वासको कति राम्रो व्यवस्था छ,’ अन्जुले बुधबार नागरिकसँग एक कार्यक्रममा भेट हुँदा भनिन्‘ यति मात्र होइन हाम्रो स्कुलमा आधुनिक कम्प्युटर ल्याब, पुस्तकालय र विज्ञानको ल्याबले स्कुलमा हामीलाई अध्ययन गर्ने धेरै सकारात्मक वातावरण बनेको छ।’ उनी खुसी हुँदै भनिन् ‘अहिले त हामी छात्राहरु कति रमाइलो गरी स्कुलमा अध्ययन गर्छौ।’

सोही स्कुलका कक्षा ९ का सरोज परियार पनि पाटन माविमा शिशु कक्षादेखि अध्ययन गरिरहेका छन्।

‘सबै भन्दा मलाई राम्रो लागेको हाम्रो स्कुलमा खाने पानीको उचित व्यवस्था पुन निर्माण भएपछि भयो। रसायन शास्त्रको ल्याब आधुनिक भएकोले किताबमा पढेको विषय ल्याबमा राम्ररी प्रयोग गर्न सक्ने भयौँ। पहिले विज्ञान त किताबमा मात्रै पढ्नु पर्थ्यो,’ सरोजले सुनाए ‘पहिले पानी र ह्यान्ड वास शौचालयमा नभएको कारण खाजा खान मन लाग्दैनथ्यो। अहिले खाजा खाएर खुसीसाथ पढ्ने वातावरण बनेको छ। विद्यार्थी मैत्री विद्यालय बनेको छ। कम्प्युटर पनि किताबमा मात्र सीमित हुनु परेन व्यवहारिक ज्ञान हासिल गर्न कम्प्युटर ल्याब पनि छ।’

भूकम्पबाट क्षति भएका कुल विद्यालय मध्ये हालसम्म ७ हजार ४ सय ४९ विद्यालयको पुन निर्माण कार्य सम्पन्न भएको र १ सय ८६ को पुन निर्माण कार्य भइरहेको छ। यसरी कुल ७ हजार ६ सय ३५ विद्यालयको पुन निर्माण कार्य सम्पन्न हुने भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

  

बुधबार काठमाडौंमा शिक्षा मन्त्रालय र जापानी दूतावासले संयुक्त रुपमा आयोजना गरेको आपत्कालीन विद्यालय पुन: निर्माण परियोजना समापन कार्यक्रममा मन्त्रालय अन्तर्गतको केन्द्रीय स्तर परियोजना कार्यान्वयन इकाई (सिएलपिआइयु) का परियोजना निर्देशका डिल्लीराम लुइँटेलले २०७२ साल वैशाख १२ गतेको महाभूकम्पमा कुल ३१ जिल्लाका ७ हजार ९ सय २३ विद्यालय क्षति भएकोमध्ये हालसम्म कुल ७ हजार ६ सय ३५ विद्यालयको पुन निर्माण कार्य सम्पन्न भई विद्यार्थीहरूको शिक्षण सिकाई सुचारु भइसकेको बताए।

अब कुल क्षति भएका विद्यालय मध्ये २ लसय ८८ मात्र पुन निर्माण बाकी रहेको र उक्त विद्यालय पनि पुन निर्माण कार्य भइरहेको मन्त्रालयले जनाएको छ।

जसमध्ये जापान सरकारको जाइकाद्वारा विकसित डिजाइन र संरचनात्मक निर्देशिकाहरूको आधारमा आपतकालिन विद्यालय पुन निर्माण परियोजना अन्तर्गत ६ जिल्लाहरु गोरखा, रसुवा, नुवाकोट धादिङ, मकवानपुर र ललितपुर जिल्लाका कुल २ सय ७४ आपतकालिन विद्यालय पुन निर्माण कार्य सम्पन्न गरिसकेको निर्देशक लुइँटेलले जनाए। 

उनका अनुसार जापान सरकारको ऋण सहयोगमा कुल २ सय ७४ विद्यालयमा ७ सय ६० भवन बनाइएको छ भने २ हजार २ सय ३ अत्याधुनिक कक्षाकोठाहरु निर्माण गरिएको छ। यति मात्र होइन जाइकाको विकसित डिजाइन अनुसार विद्यालय भित्र एक सय १६ प्रविधि मैत्री प्रयोगशाला, एक सय ८४ आधुनिक पुस्तकालय, २ सय १४ बाल विकास कक्ष, ६८ वटा म्युजिक रुपम, एक सय ३३ कम्प्युटर कक्षाकोठा, र १७ वटा बहुउदेसीय भवनहरु निर्माण गरिएका छन्।

‘६९२ छात्र शौचालय र ८३१ छात्रा शौचालय निर्माणले विद्यालयहरु बालबालिकामैत्री बनेका छन्,’ निर्देशक लुइँटेलले भने ‘जापान सरकारको सहयोगले बनेका विद्यालयहरूमा कुल एक लाख विद्यार्थी र ५ हजार शिक्षक लाभवान्तित बनेका छन्। १५ अर्ब २० करोड खर्च गर्ने गरी ऋण सम्झौता भएको हो।’ उनले थपे ‘भौतिक रुपमा भूकम्प प्रतिरोधात्मक र बालबालिका मैत्री रुपमा यी विद्यालयहरु शिक्षण सिकाईमा वरदान सिद्ध भएका छन्।’

मन्त्रालयका अनुसार कुल क्षति भएका विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिको सहयोगमा ६ हजार १०, ठेकेदारद्वारा ८ सय ३२, गैरसरकारी संस्थाले ७ सय ९३ विद्यालय पुन निर्माण कार्य सम्पन्न गरेका हुन्। भने हालसम्म कुल तीन हजार चार सय ५९ शौचालय पुन निर्माण भएको छ।

राष्ट्रिय पुन: निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी सुशील ज्ञवालीले जापान सरकार प्रविधिमा पनि विश्वमै उत्कृष्ट भएकोले नेपालमा बनाइएका २ सय ७४ विद्यालय प्राविधिक हिसाबले पनि प्रशंसनीय रहेको जिकिर गरे।

‘आधुनिक भवन मात्र भएर शिक्षामा सुधार हुने होइन ,’ पूर्व कार्यकारी प्रमुख ज्ञवालीले सुझाए ‘कक्षा कोठाभित्रको शिक्षण सिकाई गुणस्तरीय बनाउन संघीय सरकारले स्थानीय निकायसँग समवन्य गरी गुणस्तरीय शिक्षा तर्फ जोड दिनु पर्छ।’

नेपालकालागि जापानी राजदूत किकुता युटाकाले नेपाल र जापनबिचको दौत्य सम्बन्धको इतिहासमै शिक्षा क्षेत्रमा यति ठुलो योगदान सफलतापूर्वक सम्पन्न गर्न पाउँदा  निकै हर्षित तुल्याएको बताए। उनले नेपाल भौगोलिक हिसाबले विभिन्न विपतको जोखिममा रहेको र यसैलाई मध्यनजर गरी जापान सरकारले भविष्यमा हुने यस्ता विपतबाट जोगिन  पुर्व तयारीकोलागि समेत काम गर्न तयार रहेको प्रतिबद्धता जनाए।

‘जापानको स्कुलहरुमा विपतबाट जोगिनबारे सिकाउने क्लबहरुनै हुन्छन्,’ राजदूत किकुता युटाकाले सुनाए ‘नेपालमा पनि विद्यालय तहका बालक्लबहरुमा पनि यस्ता छलफल हुनु पर्छ। ’ उनले थपे ‘जापान सरकारले पुन निर्माण गरेका विद्यालयहरुले शिक्षण सिकाई गुणस्तर बनाउन पक्कै पनि सहयोग गर्ने हाम्रो सरकारको विश्वास छ।’

शिक्षामन्त्री असोक राईले जापान सरकारले पुन निर्माण गरेका २ सय ७४ भूकम्प प्रतिरोधात्मक विद्यालयहरु चिरकालसम्म जापान र नेपालबिचको मित्रता स्मारकको रुपमा कायम रहने जनाए।

पाटन माविका प्रधानाध्यापक ईश्वरमान बज्राचार्यले जापान सरकारले २८ कोठे तीन वटा अत्याधुनिक भवन बनाएकोले विद्यार्थी सङ्ख्या पनि ह्वात्तै बढेको बताए।

‘हाल हाम्रो स्कुलमा कक्षा १२ सम्म एक हजार एक सय ५० विद्यार्थी छन् ।भदौ २९ गते हाम्रो विद्यालय सय वर्ष पुरा गर्दै छ,’ प्रअ बज्राचार्यले भने ‘भवन त आधुनिक छ तर हामीसँग नयाँ पाठ्यक्रम अनुसारको तालिम प्राप्त शिक्षकको कमी छ। सरकारले शिक्षण सिकाई गुणस्तर बनाउन विद्यालयहरूमा आवश्यक शिक्षक, कर्मचारी र नयाँ ग्रेडिङ अनुसारको पाठ्यक्रम अनुसार शिक्षकलाई तालिमको व्यवस्था गर्नु पर्छ। अनि मात्र शिक्षण सिकाई प्रभावकारी हुन्छ।’

प्रकाशित: २७ वैशाख २०८० १४:१७ बुधबार