१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

दबाबमा सामाजिक शिक्षा अंग्रेजीकरण गर्ने तयारी

फाइल तस्वीर

संस्थागत विद्यालयको दबाबमा सरकारले विद्यालय तहको अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी गरिरहेको छ। यसको गतिलो उदाहरण राष्ट्रिय परीक्षा बोर्ड बनेको छ। यही वैशाख २६ गते सुरु हुने कक्षा १२ को परीक्षाका लागि सामाजिक विषयको नमुना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा बनाएर आफ्नो वेबसाइटमा राखेपछि सरकारी नियत प्रस्टसँग झल्किएको हो। उक्त नियतको अहिले चौतर्फी विरोध भइरहेको छ।

दुई वर्षअघि मात्र नेपाली भाषा र राष्ट्रियता प्रवद्र्धन गर्न भनेर विज्ञहरूसँगको बृहत् छलफलपछि विद्यालय तहको सामाजिक अध्ययन विषयलाई नेपाली भाषामा पढाउन थालिएको हो। तर हाल  

पाठ्यक्रम विकास केन्द्रले भने परीक्षा बोर्डकै सुझावका आधारमा वैशाख २० गते बस्ने परिषद्को बैठकमा अंग्रेजी भाषामा पनि प्रश्नपत्र सोधिने गरी निर्णय गराउने तयारी गरिरहेको छ। बोर्डका उपनियन्त्रक कृष्णप्रसाद घिमिरेले गत वर्ष कक्षा १२ को सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा मात्र सोधिँदा धेरै विद्यार्थीले प्रश्नका भाषा, शब्द र शब्दावली बुझ्न नसकेकाले धेरै विद्यार्थी न्यून ग्रेडमा परेको सुनाए। ‘दुई वर्षअघिदेखि सामाजिक विषयको पठनपाठन कक्षा १२ मा नेपाली भाषा माध्यमबाट भइरहेको छ। प्रश्न पनि नेपालीमै सोधियो। तर धेरै विद्यार्थीले आफूले प्रश्नै नबुझेको भनेर लिखित निवेदनै दिनुभयो,’ उपनियन्त्रक घिमिरेले नागरिकसँग भने, ‘वैशाख १८ गतेबाट वेबसाइटमार्फत सुझाव संकलन गर्ने काम भएको छ। निजी विद्यालय, विदेशी सम्बन्धनमा नेपालमा खुलेका विदेशी स्कुल र तिनका विद्यार्थी तथा अभिभावकले प्रश्न अंग्रेजीमा पनि सोधिनुपर्ने सुझाव दिनुभएको छ।’ त्यसैले पनि यसपटक कक्षा १२ को प्रश्न नेपाली र अंग्रेजी दुवैमा सोध्ने बोर्डले तयारी गरेको र यो सुझावसहितको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई मंगलबार बुझाइने उपनियन्त्रक घिमिरेले बताए।  

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले नेपालमा सामाजिक अध्ययन विद्यालय तहमा नेपालीमा मात्र पठनपाठन गराइँदा विदेशी सम्बन्धनमा नेपालमा चलेका निजी विद्यालय र नेपाली लगानीमा खुलेका संस्थागत विद्यालयका सञ्चालकले समस्या परेको भनेर गुनासाहरू आएको उनले बताए। विद्यार्थीहरूबाट पनि बुझ्न गाह्रो भएको भनी लिखित गुनासा केन्द्रलाई प्राप्त भएको उनको भनाइ छ। त्यसकारण केन्द्रले यसबारे छलफल अघि बढाएको उनले जानकारी दिए। ‘वैशाख २० गते केन्द्रमा बस्ने परिषद्को बैठकमा विषय प्रवेश हुन्छ,’ महानिर्देशक अर्यालले नागरिकसँग भने, ‘सामाजिक अध्ययन नेपाली र अंग्रेजी दुवैमा पढाउने र प्रश्न पनि सोहीअनुसार निर्माण गर्नेबारे विषय प्रवेश हुन्छ।’ तर त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. जीवन काफ्लेका अनुसार सामाजिक विषयको प्रश्नपत्र अंग्रेजीमा पनि सोधिनुको मतलब नै विद्यालयस्तरको सामाजिक अध्ययन विषयको शिक्षणसिकाइ माध्यम भाषा अंग्रेजी बनाउन दबाब दिनु हो। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा पाठ्यक्रमले नेपाली भाषा माध्यमबाटै अनिवार्य सामाजिक अध्ययन विषय पठनपाठन गराउनुपर्ने व्यवस्था छ।

प्रकाशित: १९ वैशाख २०८० ००:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App