८ वैशाख २०८१ शनिबार
शिक्षा

विद्यालयप्रति आम धारणा सरकारी कमसल, निजी महँगो

वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदै छ। शैक्षिक सत्र सुरु हुन लागेसँगै अधिकांश अभिभावक आफ्ना बालबालिकाका लागि नयाँ विद्यालय खोज्न परेका छन्। गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने राम्रो विद्यालयमा आफ्ना छोराछोरी पढाउने रहर अभिभावकमा हुनु स्वाभाविक हो। त्यसैले पनि राम्रा विद्यालयमध्येबाट पनि अझै राम्रो विद्यालय अभिभवकको रोजाइमा पर्ने गर्छ।  

अभिभावकमा राम्रो विद्यालय कसरी छनौट गर्ने भन्ने अन्योल यस वर्ष पनि विगतमा जस्तै कायमै छ। विद्यालयका बाहिरी आवरण त झट्ट हेर्दा नै थाहा हुन्छ। भौतिक पूर्वाधार पनि अभिभावकहरूले हेरेर छान्न सक्छन् तर विद्यालयहरूको पठनपाठन गराउने तरिका र शैली, शिक्षकहरूको योग्यता, अनुभव र पाठ्यक्रम तथा पुस्तकबारे भने अभिभावक सधैं अन्योलमै हुन्छन्।  

सबै अभिभावकको चाहना शैक्षिक स्तर र शैक्षिक वातावरण उत्कृष्ट भएका विद्यालयमा केन्द्रित छ। विद्यालयको बाहिरी वातावरण र भौतिक पूर्वाधारभन्दा पनि बालबालिकाका लागि उपयुक्त शैक्षिक वातावरण खोज्न अभिभावक तल्लीन छन्। यस्ता अभिभावक धेरै भेटिन्छन्। पछिल्लो समय सामुदायिक विद्यालयभन्दा निजी विद्यालय अभिभावकको रोजाइमा परेको देखिन्छ। यद्यपि आफ्नो परिवारको शैक्षिक अवस्था र कमाइअनुसार विद्यालय छान्छन् अभिभावक। राम्रो र मध्यम कमाइ भएका वा आर्थिक स्तर राम्रो भएकाको मन निजी विद्यालयमै बालबालिकालाई राख्नेमा केन्द्रित छ। कमाइ भएका र आर्थिक स्तर राम्रो भएका धेरै कम मात्र अभिभावकले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गरेको पाइन्छ। त्यसैले धेरैको रोजाइमा निजी विद्यालय नै परेका पाइएको छ।  

ललितपुरको इमाडोल बस्ने कपिल श्रेष्ठ ६ कक्षामा जाँदै गरेकी आफ्नी छोरीका लागि राम्रो विद्यालयको खोजीमा छन्। विद्यालयले दिने शिक्षा, पढाउने वातावरण, शिक्षकहरूले विद्यार्थीलाई गर्ने व्यवहार, विद्यार्थीलाई गराउने रचनात्मक क्रियाकलाप र विद्यालयले लिने शैक्षिक शुल्कलाई मध्यनजर गर्दै छोरीका लागि विद्यालय खोजिरहेको श्रेष्ठ बताउँछन्।  

सरकारी विद्यालयभन्दा पनि निजी विद्यालय आफूहरूले खोजिरहेको उनले बताए। ‘सरकारी विद्यालयमा पढाउनुपर्छ भनिरहँदा त्यहाँको शिक्षाको अवस्था पनि हामीले हेर्नुपर्छ। हाम्रो सरकारी विद्यालयको शिक्षाको गुणस्तर छैन। शिक्षा क्षेत्रमा यति धेरै प्रतिस्पर्धा भइरहँदा आफ्ना छोराछोरीलाई राम्रै शिक्षा दिऊँ भन्ने हुन्छ। त्यसैले पनि हामीले निजी विद्यालय रोज्न बाध्य हुन्छौं,’ श्रेष्ठले नागरिकसँग भने। सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बालबालिकालाई गर्ने हेरचाहका कारण पनि अभिभावकको रोजाइमा निजी विद्यालय परेको उनको भनाइ छ। निजी विद्यालयले मनोमानी रूपमा लिने शैक्षिक शुल्कमा भने सरकारको ध्यान जानुपर्ने श्रेष्ठले बताए।  

ललितपुरकै पाटनमा बस्ने सुमन खड्का पनि आफ्नो छोराका लागि नयाँ विद्यालय खोज्दै छन्। ५-६ वटा विद्यालयका बारेमा बुझेको र तिनैमध्येबाट एउटा विद्यालय छान्ने उनले बताए। सरकारी विद्यालयभन्दा पनि निजी विद्यालय आफूहरूले खोजिरहेको उनको भनाइ छ। निजी विद्यालयहरूले लिने शैक्षिक शुल्क भने आफूहरूलाई धान्न मुस्किल रहेको खड्काको धारणा छ। उनले भने, ‘निजी विद्यालयले मनोमानी रूपमा शैक्षिक शुल्क लिइरहेका छन्। त्यो शैक्षिक शुल्क त हामीलाई धान्नै गाह्रो हुन्छ। बाध्यता छ, पढाउनै पर्यो। शुल्क तिर्न सक्ने विद्यालय छान्नुप¥यो। सरकारी विद्यालयमा पढाइ राम्रै हुँदैन के पठाउनु।’

भक्तपुरको लोकन्थली बस्ने लक्ष्मी बस्नेत पनि आफ्नो छोराका लागि निजी विद्यालय नै खोजिरहेको बताउँछिन्। उनका छोरा अहिले ७ कक्षाबाट ८ कक्षामा जाँदै छन्। अहिले पढाइरहेको विद्यालयमा पढाइ राम्रो नभएपछि नयाँ विद्यालयको खोजीमा रहेको उनको भनाइ छ। ‘कोरोनापछि विद्यालयले शुल्क त बढाएको छ नै तर पढाइ भने राम्रो हुन सकेन्,’ उनले भनिन्, ‘त्यसैले स्कुल सार्न लागेको हो। बुझ्दै छु, जुनमा पढाइ राम्रो छ, त्यसैमा हाल्नुपर्ला।’ सरकारी विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउन मन भए पनि पढाइ राम्रो नहुँदा निजी विद्यालय जानुपरेको उनले बताइन्।  

सरकारी विद्यालयमा पढाइको स्तरमा सुधार नआएको आम अभिभावकको बुझाइ छ। सरकारीमै पढाउनुपर्ने त हो तर पढाइ राम्रो छैन भन्ने तर्क अधिकांश अभिभावकको छ। अर्कातिर निजी विद्यालयका सञ्चालकले आफू खुसी शैक्षिक शुल्क तोकेका छन्। विभिन्न शीर्षकमा लिइने शुल्कले गर्दा निजी विद्यालय अभिभावकका लागि निल्नु न ओकल्नु भएको छ। त्यसैले सबैको चाहना छ, ‘सकिन्छ सरकारी विद्यालयको शैक्षिक स्तर बढाऊ, नसके निजी विद्यालयलाई तत्काल नियमन गर्नुपर्छ,’ भन्ने सुझाव आम अभिभावकको छ । 

प्रकाशित: ३० फाल्गुन २०७९ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App