८ वैशाख २०८१ शनिबार
शिक्षा

विद्यार्थी राजनीतिमा सधैं उद्दण्डता

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अधिकांश क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन चल्दै गर्दा उस्तै किचलो र उद्दण्डता देखिएको छ। शनिबार काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसहरूमा उम्मेदवारी दर्ता हुँदैगर्दा उसैगरी गुण्डागर्दी, हुलदंगा, झैझगडा, गालीबेइज्जती, हातहतियार प्रदर्शन, एकअर्कालाई निषेध गर्न तालाबन्दीलगायतका दृश्यहरू देखा परे।

रत्नराज्यलक्ष्मी ९आरआर०, नेपाल ल क्याम्पस, ग्रामीण आदर्श, बानेश्वर, कोटेश्वरसहितका क्याम्पसहरूमा विद्यार्थी संगठनहरूबीच विवाद भएको थियो। आरआर क्याम्पसमा त खुकुरीसमेत प्रदर्शन भएको थियो। यस्तैखाले विवाद क्याम्पसहरूमा आइतबारसम्म पनि निरन्तर छन्।  

उसो त स्ववियु निर्वाचनमा देखिएका यस्ता दृश्यहरू अहिले मात्रै होइनन्। त्रिभुवन विश्वविद्यालयमा २०१८ सालमा स्ववियु निर्वाचन सुरु भएपश्चात त्यसपछिका अधिकांश निर्वाचनमा यस्ता दृश्यहरू निरन्तर देखिइरहेको जानकारहरू बताउँछन्।  

‘सुरुमै त यस्तो अवस्था थिएन। उतिबेला राजनीतिक दल प्रतिबन्धित भएको अवस्थामा स्ववियुमार्फत संघर्षको एउटा प्लेटफर्म बनाउन मनसाय थियो। त्यही गरियो पनि,’ त्रिविको स्ववियुमा पहिलोपटक निर्वाचनमार्फत उपसभापति जितेका पूर्वसभामुख दमनाथ ढुंगाना भन्छन्, ‘त्यसपछि भने पार्टीहरूले प्रतिष्ठाको विषय बनाउने र त्यसका लागि विद्यार्थी संगठनलाई प्रयोग गर्न थालेपछि यसैगरी विवाद, झैझगडा, अभद्रता नै देखिन थालेका हुन्। जुन रोकिएका छैनन्।’

यही बुझाइ नेपाल विद्यार्थी संघ ९नेवि संघ०का पूर्वअध्यक्षसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर पनि छ। उनले भने, ‘राजनीतिक दल र नेताहरूले विद्यार्थीहरूलाई अनुचित काममा प्रयोग मात्रै गर्ने, विद्यार्थी आफैले विवेक प्रयोग नगर्ने प्रवृत्तिले यस्ता घटना हुने गरेका छन्।

विद्यार्थी र विद्यार्थी संगठनका नाममा स्ववियु निर्वाचनमा देखिने यस्ता प्रवृत्तिले विद्यार्थी संगठन र स्ववियुकै औचित्यमा प्रश्न चिह्न खडा गर्नसक्ने पूर्वसभामुख ढुंगानाको चिन्ता छ। ‘हामीले स्ववियु र विद्यार्थी संगठन बनाउँदा विद्यार्थी एकता भन्ने मर्मलाई जोड दिन खोजेका थियौं। म आफैं नेविसंघको विधान मस्यौदाकार पनि थिए,’ उनले भने, ‘तर, अहिलेका दृश्य हेर्दा विद्यार्थी संगठनका आडमा विश्वविद्यालय र क्याम्पसमा राजनीति घुसाउने, कमिसन, घुसखोरी गर्ने प्रवृत्ति पनि मौलायो। यसैका लागि स्ववियुको शक्तिको दुरूपयोग गर्न हुलहुज्जत हुन थाल्यो।’ विद्यार्थी संगठनले यस्तै गर्दै जाने हो भने विद्यार्थी संगठन र स्ववियु आवश्यक छैन भन्ने कुरा स्थापित हुनसक्ने उनले बताए। ‘लोकतन्त्र नभएको प्रतिबन्धित कालमा पाइएको संगठन अधिकार अहिले निषेध हुने अवस्था सिर्जना हुनु राम्रो होइन। तर, विद्यार्थी संगठनको प्रवृत्ति सुखद छैन,’ ढुंगानाले थपे।  

नेविसंघका पूर्वअध्यक्ष महर विद्यार्थीले पनि आफ्नो नैतिक आचरण, व्यवहार र प्रवृत्ति सुधार गर्नुपर्ने टट्कारो आवश्यकता रहेको बताउँछन्। ‘विद्यार्थी विवेकशील हुन जरुरी छ। त्यसभन्दा बढी आफ्नो नैतिक पक्षमा सुधार गर्दै सभ्य, सुसंस्कृत र सिर्जनशील भएर देखिनुपर्छ,’ उनी भन्छन्, ‘यस्तो सुन्दरता प्रदर्शन गर्ने थलो नै स्ववियु निर्वाचन हो।’  

‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने स्ववियु निर्वाचन सभ्यता नदेखिए यसको र मुलुककै भविष्यबारे चिन्ता गर्नुपर्ने अवस्था देखिने महरको बुझाइ छ।  

‘सुधार गर्न सकिन्छ’

स्ववियु निर्वाचन र विद्यार्थी संगठनमा देखिएका यस्ता विकृति सुधार गर्नसकिने पूर्वविद्यार्थी नेताहरूको तर्क छ। अनेरास्ववियुको पूर्वअध्यक्षसमेत रहेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले विद्यार्थी संगठनको नेतृत्वमा रहेको व्यक्तिमा समन्वय गर्नसक्ने क्षमता भए यस्ता समस्या समाधान हुने बताउँछिन्।  

‘अहिलेको अवस्था हामीले नेतृत्व गरेभन्दा पहिलेजस्तो कम्युनिस्ट र कांग्रेसबीच निषेधको वातावरण छैन,’ झाँक्रीले भनिन्, ‘अहिले हरकोही सँगठनसँग मिलेर वा प्रतिस्पर्धा गर्ने स्थिती बनेको छ। यस्तो अवस्थामा समन्वयात्मक तवरबाट अघि बढे समस्या समाधान हुँदै जान्छ।’ त्यसको उदाहरण २०६२-०६३ को जनआन्दोलनपश्चात तत्कालीन विद्यार्थी नेताहरूले देखाएको उनले दाबी गरिन्। ‘हामीले त्यो बेला एकदमै सौहार्दपूर्वक वातावरण सिर्जना गरेका थियौं। २०६५ मा धेरै सुधारिएर स्ववियु भएको थियो। जुन अहिलेजस्तो वाताबरण भएन,’ उनले थपिन्। २०७३ मा आंशिक मात्रामा स्ववियु निर्वाचन हुँदा त्यसपूर्व रहेका केही गलत अभ्यासहरूलाई हटाउँदै सुधारको थप प्रयास गरिएको नेविसंघका तत्कालीन अध्यक्ष रहेका महर बताउँछन्। ‘त्यतिबेला हामीले निर्वाचनमा हुने खर्चिलो तडकभडकमा बन्देज लगाएका थियौं। कलेजमा स्टेज राख्ने, कलाकार ल्याएर गानाबजाना गर्ने, सभापति लड्नेले १० औं लाख गर्नुपर्ने अवस्था थियो। त्योलगायतका भड्किलो प्रचारशैलीमा लगाम लगाउने प्रयास गरेका थियौं,’ उनले भने,‘त्यसलाई हटाएपछि मलाई लाग्छ अहिले लड्नेको केही हजार मात्रै खर्च होला। यसैगरी एकएक गरेर सुधार गर्दै लैजानुपर्छ, सुधार पनि हुन्छ ।’

प्रकाशित: ३० फाल्गुन २०७९ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App