१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

रौतहटमा छैन स्ववियू निर्वाचनको चहलपहल

करिब डेढ दर्जन क्याम्पस रहेको रौतहटमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको खासै चहलपहल रहेको छैन। रौतहटको चन्द्रपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा बाहेक अन्य कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन नहुँदा रौतहटमा खासै चहलपहल नदेखिएको हो।

चन्द्रपुरमा चारओटा बहुमुखी क्याम्पस रहेका छन् तर जनज्योतिमा मात्र स्ववियु निर्वाचन भइरहेको छ। स्ववियु निर्वाचनको लागि विभिन्न विद्यार्थी संगठनले शनिवार मनोनयन दर्ता गराएका छन् । चैत ५ मा जनज्योतिमा स्ववियु निर्वाचन हुँदैछ।

जिल्ला सदरमुकाम गौरमा जुद्ध बहुमुखी क्याम्पस र गौरीशंकर क्याम्पस रहेका छन्।आजसम्म कहिल्यै स्ववियु निर्वाचन भएको इतिहास नै नरहेकोले स्ववियु निर्वाचन नगराइएको क्याम्पस स्रोतको दाबी छ।

रौतहटका क्याम्पसहरु कागजमा सामुदायिक क्याम्पसको रुपमा रहेको तर केही निजी मानिसको खल्तीको क्याम्पसजस्तो रहेकाले त्रिविले नियमानुसार स्ववियु निर्वाचन गराइरहेको भए पनि रौतहटका क्याम्पसहरुले स्ववियु निर्वाचनको कुनै कार्यक्रम सार्वजनिक नगरेका हुन।

जिल्लाका अधिकांश क्याम्पसमा केही व्यक्तिको मात्र निर्णय चल्ने हुन्छ, त्यसैले स्ववियु निर्वाचन गराउने परम्परा नै नबसालेको एक विद्यार्थी नेता बताउँछन्। स्ववियु निर्वाचन हुँदा क्याम्पस प्रमुख तथा क्याम्पस व्यवस्थापन समितिले गर्ने एकलौटी नचल्ने र भ्रष्टाचार पनि गर्न नपाउने भएकाले जिल्लाका अधिकांश क्याम्पसले स्ववियु निर्वाचन नगराएको नाम प्रकाशित नगर्न आग्रह गर्दै विद्यार्थी नेताले बताएका छन्।

जिल्लामा करिब डेढ दर्जन सामुदायिक बहुमुखी क्याम्पस छन् तर एउटाबाहेक अन्य कुनै पनि क्याम्पसले स्ववियु निर्वाचन नगराउनुमा त्रिविको असफलता रहेको आरोप विद्यार्थीहरुको रहेको छ । सामुदायिक क्याम्पसको नाममा रहेका निजी क्याम्पसका मालिकहरुसित त्रिवि पदाधिकारीको मिलोमतो रहेकोले स्ववियु निर्वाचन गराउन दबाब नदिएको आरोप विद्यार्थी नेताको छ।

जनज्योति बहुमुखी क्याम्पसले भने पहिलेदेखि नै स्ववियु निर्वाचन गराउने गरेको  ।

जनज्योति बहुमुखी क्याम्पस चन्द्रपुरसँगै गौरीशंकर क्याम्पस र मध्यरौतहट बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहसम्म पठनपाठन हुने गरेको छ । स्नातकोत्तर तहसम्म संचालित क्याम्पसमा पनि स्ववियु निर्वाचनको चहलपहल हुन सकेको छैन। 

प्रकाशित: २७ फाल्गुन २०७९ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App