६ वैशाख २०८१ बिहीबार
शिक्षा

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा एमाले, माओवादी र राप्रपा निकट विद्यार्थी संगठनको संयुक्त प्यानल

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस । तस्बिर भीम-नागरिक

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनको आउँदो चैत ५ मा हुने निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनले गठबन्धन गरेका छन्। राष्ट्रिय रूपमा राजनीतिक दलको गठबन्धनभन्दा भिन्न हिसाबले समेत विद्यार्थीले चुनावी तालमेल गरेका छन्।  

नेकपा (एमाले) निकट अनेरास्ववियु, नेकपा (माओवादी केन्द्रनिकट) अखिल (क्रान्तिकारी) र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले संयुक्त प्यानल बनाएका छन्। यो प्यानलले उम्मेदवार नै घोषणा गरिसकेको छ। यो प्यानलबाट सभापतिको उम्मेदवारमा अनेरास्ववियुका दर्शन कुलुङ राई छन् भने उपसभापतिमा अनेरास्ववियुकै सुशान्त चापागाईं (समानुपातिक) सचिवमा अखिल क्रान्तिकारीका राजेन्द्र लोहार, सहसचिवमा पनि अखिल क्रान्तिकारीकै रेविका राई (समानुपातिक) र कोषाध्यक्षमा अनेरास्ववियुका विशाल कार्कीले उम्मेदवारी दिने भएका छन् ।  

प्रत्यक्षतर्फ अनेरास्ववियुबाट गोपीराज लिम्बू र बबिता खनाल, अखिल क्रान्तिकारीबाट मनिषा दुलाल, ज्ञानेन्द्र चापागाईं, शम्भू राई र पुष्कर बोहोरा तथा राप्रवि संगठनबाट उज्ज्वल पौडेल सदस्यका उम्मेदवार चयन भएको उपसभापतिका उम्मेदवार सुशान्त चापागाईंले जानकारी दिए ।  

नेपाली कांगे्रसनिकट नेपाल विद्यार्थी संघ, नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियु, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियन र विप्लव नेतृत्वको नेकपानिकट अनेरास्ववियु (क्रान्तिकारी)ले अर्काे प्यानल बनाएका छन् । यो प्यानलबाट भने उम्मेदवार चयन हुन बाँकी रहेको अनेरास्ववियुका नेता डिकेन्द्र दाहालले बताए । निर्वाचनका लागि यिनै सात विद्यार्थी संघ÷संगठन दर्ता भएका थिए ।

निर्वाचन समितिका अनुसार स्ववियुको १९ सदस्यीय कार्य समितिमा प्रत्यक्षतर्फ सभापति, सचिव, कोषाध्यक्ष र ७ सदस्य निर्वाचित हुनेछन् । उपाध्यक्ष, सहसचिव र ७ सदस्य समानुपातिकबाट आउनेछन् । निर्वाचन तालिकाअनुसार उम्मेदवारी मनोनयनको समय आज (शनिबार)का लागि तय गरिएको छ । समानुपातिकतर्फका पदाधिकारी र सदस्यका उम्मेदवारको बन्दसूची पनि आजै बुझाइनेछ ।    

२८ वर्ष ननाघेका उम्मेदवारले मात्रै मनोनयन दर्ता गर्न पाउनेछन् । मतपत्रमा प्रत्यक्षतर्फ उम्मेदवारको नामको छेउमा र समानुपातिकतर्फ विद्यार्थी संगठनको नामको छेउमा रेजा लगाएर मतदान गर्ने व्यवस्था रहेको निर्वाचन अधिकृत कृष्णकुमार खत्रीले जानकारी दिए । ‘प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना मतदान भएको बढीमा ७ दिनभित्र आइसक्ने छ,’ उनले भने । मरब क्याम्पसमा १ हजार ९ सय ४१ विद्यार्थी मतदाता छन् ।

प्रकाशित: २७ फाल्गुन २०७९ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App