coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

विद्यार्थी लोभ्याउँदै सूर्योदयका सामुदायिक विद्यालय

नगरको एक विद्यालयमै पुगेर विद्यार्थीलाई गणितको अभ्यास पुस्तिका वितरण गर्दै मेयर रणबहादुर राई। तस्बिरः नागरिक

शैक्षिक क्षेत्रमा नयाँ अवधारणा ल्याइएसँगै सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालय विद्यार्थीले भरिभराउ हुँदै छन्। बालबालिका आकर्षण र शिक्षकका लागि क्षमता विकास तथा प्रोत्साहनका कार्यक्रम थालिएपछि निजी विद्यालयका विद्यार्थीसमेत सामुदायिकतिर लोभिएका छन्। 

नगरले सामुदायिक विद्यालयको पठनपाठन सुधारमा दर्जनौँ नवीन अवधारणा कार्यान्वयन गरिरहेको छ। शिक्षकलाई दक्षता अभिवृद्धि तालिम–गोष्ठीदेखि बालबालिका विद्यालय ल्याउने–टिकाउने फरक–फरक कार्यक्रम सुरु भएपछि सामुदायिकतिर विद्यार्थीको लहर बढेको हो। नगरका विद्यालयमध्ये कक्षा १ देखि १२ सम्म पढाइ हुने सामुदायिकमा ६१।७४ र निजीमा ३८।२६ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको नगरको तथ्याङ्क छ। 

२०७७ र ०७८ सालमा यहाँका सामुदायिक विद्यालयमा ११।२५ प्रतिशतले विद्यार्थीको संख्या थपिएको नगर प्रवक्ता ख्याम भुजेलले जानकारी दिए। ‘कुनै बेला विद्यार्थी अभावकै कारण बन्द हुन लागेका सामुदायिक विद्यालय क्रमशः सुधारको लयमा छन्,’ उनले भने, ‘वडा ११ को भवानी आधारभूत विद्यालय १ नम्बर प्रदेश सरकारबाट भर्खरै जिल्लाको उत्कृष्ट व्यवस्थापन भएको विद्यालयका रूपमा पुरस्कृतसमेत भएको छ।’

नगरका सबै आधारभूत ९कक्षा १–५० सामुदायिक विद्यालयमा नेपाली र अंग्रेजी माध्यममा पढाइ भइरहेको छ। सबै विद्यालयमा इन्टरनेट, कम्तीमा एउटा कम्प्युटर र प्रिन्टर व्यवस्था गरिएको छ। तर, कागज प्रयोग निरुत्साहित गरिँदै छ। नगरले ल्याएको ‘१२ महिना–१२ कार्यक्रम’अनुसार हरेक महिना शिक्षक र विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ। स्थानीय पाठ्यपुस्तकका रूपमा ‘हाम्रो सूर्योदय’ अहिले कक्षा १ देखि ५ सम्म पढाइ भइरहेको छ भने कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम स्वीकृत भई पाठ्यपुस्तक लेखन भइरहेको भुजेलले बताए। 

नगरले विद्यालयका लागि आर्थिक व्यवस्थापन कार्यविधि कार्यान्वयन गरेको छ भने विद्यालय कार्यसम्पादन निर्देशिकासमेत लागू गरिएको छ। गणितको नतिजा सुधार्न नगरले ‘गणितसँग खेलौँ, गणितीय धारणा बनाऔँ’ अवधारणासहित छुट्टै अभ्यास पुस्तिकासमेत वितरण गरेको छ। विज्ञान र गणित एकीकृत रूपमा शिक्षण गर्न माध्यमिक विद्यालयमा विज्ञान र आधारभूतमा गणित प्रयोगशाला स्थापना गरिँदै छ। यही वर्षभित्र सबै माध्यमिक विद्यालयमा गणित र विज्ञान प्रयोगशाला स्थापना गर्ने नगरको लक्ष्य छ। 

मेयर रणबहादुर राईले नगरमा बिहे गरेर आएका बुहारीका लागि उच्च शिक्षामा पूर्ण छात्रवृत्ति दिइएको बताए। ‘गरिब तथा जेहेन्दार बुहारी र छोरीहरूलाई नगरले स्नातक तहमा छात्रवृत्ति दिएको छ,’ उनले भने, ‘उच्च शिक्षा प्राप्त गर्ने महिलाको दर बढाउन यो कार्यक्रम लागू गरिएको हो।’ अहिले यो कार्यक्रमअन्तर्गत करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसमा १ सय ५४ छोरी–बुहारीले शिक्षा लिइरहेको र यसमा बर्सेनि २५ लाख रुपैयाँ खर्च भइरहेको नगरले जनाएको छ। 

नगरका २४ सामुदायिक विद्यालयमा ई–हाजिरी जडान भई नगरबाटै अनुगमनको व्यवस्था मिलाइएको छ। अभिभावकलाई समेत परिचयपत्र व्यवस्था गरिएको छ। वर्षमा कम्तीमा ४ पटक विद्यालय गएर पठनपाठन र शैक्षिक अवस्थाबारे अभिभावकले पनि अन्तरक्रिया गर्ने गरेका छन्। धुलोरहित कक्षाकोठा, बालमैत्री र अपाङ्गमैत्री संरचना निर्माण भइरहेको छ भने शिक्षक–कर्मचारीलाई श्रम ऐनअनुसार सुविधा उपलब्ध गराउन नगरले प्रोत्साहन रकम नै थपेको छ। ‘सामुदायिक विद्यालयको अनुगमन नगरले मात्रै गर्ने होइन, तेस्रो पक्षबाट स्वतन्त्र हिसाबले पनि गराइन्छ,’ मेयर राईले भने, ‘तेस्रो पक्षले अनुगमनपछि दिएको सुझावलाई शैक्षिक योजनामा समावेश गरिन्छ।’ 

विद्यालयमा बालबालिका टिकाउन र बचत गर्ने बानी विकास गर्न बैंकमा कक्षा १ देखि ५ सम्मका बालबालिकाको बचत खाता खोलिएको छ। नगरले समेत थपिदिने बचत रकमले बालबालिकालाई उच्च शिक्षा अध्ययनका लागि सहयोग पु¥याउने लक्ष्य छ। सबै विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना अन्तिम चरणमा छ भने माध्यमिक तहमा ई–लाइब्रेरी र विज्ञान प्रयोगशालासमेत स्थापना गरिँदै छ। 

मेयर राईले करफोक विद्या मन्दिरलाई देशकै शैक्षिक केन्द्रका रूपमा विकास गर्ने गरी बृहत् शैक्षिक गतिविधि सञ्चालन गर्न सक्ने बनाउन पूर्वाधार निर्माण भइरहेको बताए। चालु वर्ष ५ करोड रुपैयाँको कार्यक्रम चलिरहेको करफोकमा नगर र संघीय सरकारले संयुक्त रूपमा लगानी गरेका छन्। ‘मेयर शिक्षा सुधार कोष’ सञ्चालन गरी गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिइँदै छ। ‘विद्यार्थी वर्तमान र भविष्यका नीति–निर्मातादेखि देश हाँक्ने जनशक्ति हुन्,’ मेयर राईले भने, ‘सक्षम नागरिकले मात्रै देश समृद्ध बनाउन सक्ने भएकाले बालबालिकामा लगानी बढाउन आवश्यक छ।’ 

१४ वटा वडा रहेको पूर्वी पहाडकै ठुलो नगर सूर्योदयमा सामुदायिक, गुरुकुल र गुम्बा गरी ६६ विद्यालय छन्। नगरमा ३१ संस्थागत र गुठीबाट सञ्चालित १ विद्यालय छन्। नगरले आधारभूत तथा माध्यमिक शिक्षा ऐन–२०७६ तयार गरी लागू गरेको छ। 

प्रकाशित: १६ माघ २०७९ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App