coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

कागजमा कमिसन!

जनक शिक्षा सामग्री केन्द्रले तीन दिनअघि गुणस्तरहीन भनी फिर्ता पठाएको कागज बुधबार केन्द्रमै भित्रियो। फिर्ता पठाइएका गुणस्तरहीन कागजसहितका कन्टेनर फर्केर केन्द्रमै आएपछि कर्मचारी चकित बनेका छन्।

ललितपुरस्थित नेपाहेमा ट्रेडलिंकले ल्याएको १ सय ६४ टन कागज केन्द्रले गुणस्तरहीन भन्दै फिर्ता पठाएको थियो। केन्द्रले सो कागज आगामी शैक्षिक सत्रलाई विद्यालय तहका पाठ्यपुस्तक छपाउन मगाएको थियो। टेन्डरमा खरिद गरिएको कागज प्रिन्टिङ मेसिनमा हाल्नै नमिलेपछि फिर्ता पठाइएको प्रेसकै कर्मचारीले नागरिकलाई बताए। तर फिर्ता पठाइएको गुणस्तरहीन कागजसहितका कन्टेनर भारततर्फ नगई तीन दिनपछि पुनः केन्द्रमै भित्रिँदा आफूहरू आश्चर्यचकित परेको कर्मचारी बताउँछन्। फिर्ता पठाएको तीन दिनपछि अर्थात् पुस २७ गते सार्वजनिक बिदाका दिन कन्टेनर कागजसहित केन्द्रमा भित्रिएका थिए।

‘गुणस्तर तथा नापतौल विभागले परीक्षण गरी गुणस्तरहीन प्रमाणित गरेको कागज बोकेका कन्टेनर भारततर्फ जानुपर्ने थियो,’ एक कर्मचारीले भने, ‘हामी त्यतिखेर अचम्मित बन्यौं जब ती चारवटा कन्टेनर तीन दिनपछि केन्द्रमा भित्रिए।’ केन्द्रले गुणस्तरहीन भन्दै फिर्ता गरेको कागज तीन दिनपछि केन्द्रमै भित्रिनुमा पदाधिकारीको मिलेमतो रहेको स्रोतले बतायो। केही अधिकारकर्मीले प्रहरी तथा अख्तियारमा उजुरी दिएपछि प्रहरीको टोली केन्द्रमा पुगेर चारवटै कन्टेनरलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ। केन्द्रलाई कक्षा ४ देखि १० सम्मका १ करोड ९० लाख थान किताब छाप्न १० हजार टन कागज आवश्यक पर्छ। तर अहिले केन्द्रसँग तीन हजार टन मात्र कागज छ। गत वर्ष पनि तीनवटा कम्पनी बिद, सिबिसी र म्याटले संयुक्त रूपमा ५ हजार टन कागज ल्याउन टेन्डर पारे तर ल्याउन सकेनन्। कागज ल्याउन नसकेपछि उनीहरूको ८ करोड रूपैयाँ धरौटी रकम जफत भएको थियो। यसपटक पनि तिनै कम्पनीका सञ्चालक राजनीतिक कृपाले सबैभन्दा बढी कागजको टेन्डर पार्न सफल भएको स्रोतले बतायो।

यसरी केन्द्रले गुणस्तरहीन भन्दै फिर्ता गरेको कागज तीन दिनपछि पुनः केन्द्रमै भित्रिनुले कागज खरिदमा ठूलो कमिसनको खेल रहेको स्पष्ट हुन्छ। यस्तै अवस्था रहे भृकुटी कागज, बासबारी छालाजुत्तालगायत संस्था बन्द भएजस्तै केन्द्र पनि बन्द हुने अवस्थामा पुग्नसक्ने सरोकारवाला बताउँछन्।

प्रकाशित: ३० पुस २०७९ ००:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App