८ मंसिर २०८१ शनिबार
image/svg+xml
शिक्षा

दिवा खाजामा ‘घोटाला’: सबै विद्यार्थीले खान्नन्, बाँकी कसले खान्छ ?

बाँके राप्ती सोनारीस्थित सिद्धेश्वर मावि कक्षा ६ मा अध्ययनरत छात्रा अनिता विक (नाम परिवर्तन) ले विद्यालयमा पाक्ने ‘दिवा खाजा’ खाँदिनन्। ‘मिठो हुन्न अनि खान छाडें,’ उनले भनिन्। यो शैक्षिक सत्रमा कक्षा ६ मा भर्ना भएयता उनले खाजा खाएकी छैनन्। विद्यालयले पेस गर्ने खर्च विवरणमा उनीसहितले खाजा खाएको हिसाबकिताब भने समेटिन्छ। उनको कक्षामा ३३ विद्यार्थी छन्। कतिपयले खाजा नखाए पनि सबैले दिनहुँ खाजा खाएको खर्च विवरण विद्यालयले सम्बन्धित निकायमा पेस गर्ने गरेको छ।

सोही कक्षामा अध्ययनरत तारा कुमाल (नाम परिवर्तन) ले पनि ६ कक्षामा भर्ना भएयता दुई दिन मात्रै खाजा खाइन्। विद्यालयमा बन्ने खाजा नमिठो हुने भन्दै उनले पनि खान छाडेकी हुन्। ‘डढेको चना दिनुहुन्छ,’ उनले भनिन्, ‘मिठै हुन्न, खानै मन लाग्दैन ।’ दिवा खाजा नखानेहरू आफैं घरबाट चाउचाउ, बिस्कुट ल्याउँछन् वा विद्यालयकै क्यान्टिनमा किनेर खान्छन्। ‘विद्यालयमा पाक्ने खाजा मिठो नहुने भएकाले कि घरबाटै खाजा ल्याउँछौं कि आफ्नै पैसाले किनेर खान्छौं,’ कक्षा ६ मै पढ्ने छात्रा दीपिका ओली (नाम परिवर्तन) ले भनिन्, ‘अनि यहीँ क्यान्टिनमा चाउचाउ बिस्कुट किनेर खान्छु।’

विद्यालयले सरकारी नियमानुसार नै प्रतिदिन एकजना बराबर १५ रूपैयाँको दरले विद्यार्थीलाई खाजा खुवाइरहेको दाबी गरेको छ। तर सबै विद्यार्थीले नियमित रूपमा दिवा खाजा खाँदैनन्। विद्यालयले भने सबै विद्यार्थीले दिनहुँ खाजा खाएको खर्च विवरण पेस गरिरहेको हुन्छ। बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई विद्यालयमै खाजा खुवाउने नीति सरकारले लिएको छ। ‘हामीले सबै विद्यार्थीलाई नियमित खाजा खुवाउँदै आएका छौं,’ विद्यालयका प्रधानाध्यापक जनक शर्माले भने, ‘विद्यार्थीहरूले खाजा खाएकै आधारमा हामीले खर्च विवरण पेस गर्दै आएका छौं, नखाएका विद्यार्थीहरूको खर्च जोड्ने कुरै भएन नि!’ हाजिरी रजिस्टरका आधारमा विद्यार्थीहरूले खाजा खाने गरेको र विद्यालय नआएका विद्यार्थीको भने खाजा खर्च जोड्ने नगरिएको प्रधानाध्यापक शर्माले दाबी गरे। उनले भने, ‘विद्यार्थीले नआएको दिनको रकम बचत भएर बसेको हुन्छ, खर्चमा देखाउने कुरै हुँदैन नि!’

खाजा खर्चबापतको मासिक खर्च विवरण माग गर्दा प्रधानाध्यापक शर्माले सुरुमा दिन अस्वीकार गरे। विवरण लुकाउन नमिल्ने भनिएपछि विद्यालयका उनले लेखापाल जितेन्द्र केसीलाई सम्पर्क गर्न आग्रह गरे। लेखापाल केसीले विवरण दिन अस्वीकार गरे। उनले कड्किँदै भने, ‘म दिन्नँ, कसले के गर्छ? जसलाई जे गर्न मन छ, गरे हुन्छ ।’ उनी विद्यालयमा भएको क्यान्टिनका सञ्चालकसमेत हुन्।

उनकी पत्नीले क्यान्टिनमा खाजा बनाउँदै आएकी छन्। विद्यालयले क्यान्टिन सञ्चालनका लागि ठेक्का आह्वान नगरेर सिधै लेखापाल केसीलाई जिम्मा दिएको पाइएको छ।

उनले आफ्नै क्यान्टिनमा खाजा खाएको विवरण पनि समेटेर विद्यालयको दिवा खाजाको हिसाबकिताब पेस गर्दै आएको स्रोतको दाबी छ। लेखापाल केसीको अनावश्यक आक्रोश देख्दा दिवा खाजामा ‘घोटाला’को आशंका बढाएको छ। प्रधानाध्यापक शर्माले जोडबल गरेपछि मात्र केसीले गत साउन र भदौ गरी दुई महिनाको खर्च विवरण दिए।

उक्त खर्च विवरणले विद्यालयमा खाजा नखाने विद्यार्थीको रकम बचत हुने भनी प्रधानाध्यापक शर्माले गरेको दाबीलाई झुटो प्रमाणित गरिदिएको छ।

उक्त विवरणमा बालविकास कक्षातर्फका १०, कक्षा १ का ८, २ का १५, ३ का २२, ४ का २० , ५ का २४ र ६ का ३३ विद्यार्थीले नियमित खाजा खाइरहेको उल्लेख छ। यो विद्यालयको कुल विद्यार्थी संख्या हो। ती दुई महिनामा कुल विद्यालय खुलेको ४० दिनमा सबै विद्यार्थीहरूले हरेक दिन खाजा खाएको भनेर विवरण पेस गरिएको छ। यो विद्यालयले बालविकासदेखि कक्षा ६ सम्मका सबै विद्यार्थीलाई साउन-भदौमा खाजा ख्वाउन ५५ हजार ८७५ रूपैयाँ खर्चेको छ। ‘विद्यार्थीले खाजा नखाएको दिनको खर्च नजोड्ने भन्ने नै हो,’ विद्यालयका प्रधानाध्यापक शर्माले भने, ‘कसरी सबै विद्यालयले हरेक दिन खाजा खाएको भनेर आएको रहेछ, बुझ्नुपर्छ।

’यो विवरणलाई जाँच गर्न विद्यार्थीसम्म पुग्दा विद्यालयले दिवा खाजामार्फत ‘घोटाला’ गरेको भन्ने देखिन्छ। कक्षा ६ का कुल ३३ विद्यार्थीमध्ये आधाभन्दा बढी विद्यार्थीले विद्यालयको खाजा खाएका रहेनछन्। अधिकांश विद्यार्थीले खाजा मिठो नभएर खान छाडेको बताए। ‘पहिला अर्को मान्छेको होटेल हुँदासम्म खायौं, अहिले त मिठै हुन्न अनि खानै छाड्यौं,’ विद्यार्थीहरूको सामूहिक आवाज थियो, ‘घरबाटै पैसा लिएर आउँछौं अनि चाउचाउ–बिस्कुट किनेर खान्छौं।’ तर विद्यालयले भने सबै विद्यार्थीले हरेक दिन १५ रूपैयाँ बराबरको खाजा खाइरहेको भनेर गलत खर्च विवरण पेस गर्दै आएको देखिएको छ। यो विद्यालयका कक्षा ५ मा अध्ययनरत विद्यार्थीमध्ये केहीले उक्त खाजा मिठो नहुने भएकाले नखाएको बताए। केहीले भने खाजा मिठो नभए पनि बाध्यताले खानुपरेको सुनाए। ‘भात डढेको हुन्छ अनि भातमा अण्डाको गन्ध आउँछ। चना पनि डढेको हुन्छ,’ कक्षा ५ का एक विद्यार्थीले भने, ‘मिठो नमानीनमानी पनि खानैपर्छ।’

विद्यालयले बालविकासदेखि ६ कक्षा सम्मका सबै विद्यार्थीले नियमित खाजा खाएको खर्च विवरण पेस गर्दै आएको भए पनि आधाभन्दा बढी विद्यार्थीहरूले खाजा नखाने गरेको अभिभावकहरू पनि बताउँछन्। ‘धेरै विद्यार्थीले खाजै खाँदैनन्,’ एक अभिभावकले भने, ‘तर विद्यालयले भने सबैले खाजा खाएको भनेर खाजाबापतको रकम आफैं खाइरहेको छ।’

विद्यालयमा खाजा खर्चबारे गुनासो आउने गरेको भए पनि विद्यालयले भने सुने पनि नसुनेझैं गरिरहेको छ। विद्यालयमा केही दिन विद्यार्थीहरूले खाजा खान छाडेको भन्ने गुनासोका आधारमा छलफल भएको भए पनि विद्यार्थीलयमा क्यान्टिनसमेत चलाउने लेखापाल केसी सबै विद्यार्थीले खाजा खाइरहेको भन्दै उनीमाथि टिप्पणी गर्ने शिक्षकहरूमाथि खनिएका थिए।

सरकारले बाँके, बर्दिया, कैलाली कञ्चनपुर जिल्लाका विद्यालयहरूलाई विद्यार्थीका लागि भुटेको खण्डा र भात, चना-चिउरा, खिर-तरकारी, रोटी-अचार र साँधेको गेडागुडी, दही-चिउरा र तरकारी मिलाएर खाजाका रूपमा विद्यार्थीलाई खुवाउनुपर्ने भनी ‘मेनु’ दिएको छ।

प्रकाशित: १८ पुस २०७९ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App