१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

जनता बहुमुखी क्याम्पसको विवाद छ महिनादेखि सुल्झेन

जनता बहुमुखी क्याम्पस इटहरी। तस्बिरः नागरिक

पूर्वका पहाडी जिल्लाबाट अध्ययनका लागि मधेस झर्ने विद्यार्थीको पहिलो गन्तव्य पनि इटहरी नै बनेको छ। इटहरीका शैक्षिक संस्थामध्ये एकमात्र सामूदायिक जनता बहुमुखी क्याम्पस स्थापित छ। स्नातकोत्तर तह सम्म पढाई हुने क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दो छ। तर, पछिल्लो समय भने जनता क्याम्पसमा झन्डै छ महिनादेखि लगाएको तालाबन्दीको विवाद सुल्झन सकेको छैन। यसको मुख्य कारक सञ्चालक समिति नै रहेको छ।  

इटहरी उपमहानगरपालिका वडा नं. ५ मा सञ्चालित  जनता बहुमुखी क्याम्पसमा झन्डै छ महिनादेखि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको थियो।  छ जना कर्मचारीको पदपूर्ति गर्न परीक्षा लिएको विषयलाई लिएर काँग्रेस निकट नेपाल विद्यार्थी संघ बाहेकका अन्य विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए। तर, त्यो विवाद अहिलेसम्म साम्य हुन सकेको छैन्।  

विवाद साम्य नभएको अवस्थामा दुई दिनअघि नेपाल विद्यार्थी संघले तालाबन्दी फोडेको छ। तालाबन्दी फोड्ने क्रममा अनेरास्ववियूसहितका संगठनले प्रतिकार गरेका थिए। प्रतिकार गर्ने क्रममा विद्यार्थी समूहबीच झडप हुन पुग्यो। अनेरास्ववियुका नेता उज्वल सिग्देलका अनुसार दुई जना विद्यार्थी नवराज किराती र हरि भट्टराईंलाई सामान्य चोटपटक लागेको छ। उनीहरु एपेक्स हस्पिटलमा उपचारपछि घर फर्केका छन्।  

नेपाल विद्यार्थी संघले तालाबन्दी फोडेलगतै फेरि अनेरास्ववियूले प्रशासनिक भवनमा तालाबन्दी गरेका छन्। यसले गर्दा सञ्चालक समिति गम्भीर नहुने र विद्यार्थी समूहबीचको विवादले उग्र रुप लिँदा थप समस्या निम्तिने भएको छ।  

अनेरास्वियूका विद्यार्थी नेता सिग्देलले क्याम्पस सञ्चालक समितिकै गैर–जिम्मेवारले गर्दा लामो समयदेखि विद्यार्थीले आन्दोलन चर्काउनु परेको बताए। ‘सञ्चालक समितिले कर्मचारी नियुक्त गर्न लिएको परीक्षालाई नियोजित ढंगले वैधानिक बनाउन खोजिदैछ,’ उनले भने।  

नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस इकाई सभापति सहदेव काफ्लेले क्याम्पस प्रमुखको कार्यकक्षमा मात्र तालाबन्दी गर्नु विकल्प नभएको ठानेर तालाबन्दी फोडेको जिकिर गरे। ‘तालाबन्दी फोड्ने क्रममा हात छाडेपछि हाम्रो तर्फबाट पनि प्रतिकार भो,’ उनले भने, ‘यत्रो लामो तालाबन्दी हुँदैन, कि त क्याम्पस बन्द गर्नुप¥यो, होइन भने समस्या त समाधान गर्नु प¥यो।’  

क्याम्पस प्रमुख गीता अधिकारीले भने सञ्चालक समिति अध्यक्षलाई समस्या समाधान गर्न पटक–पटक ध्यानाकर्षण गराएको बताइन्। ‘अध्यक्षले चाँसो लिएर समस्या समाधान गर्न चाहेको खण्डमा तत्काल निकासा निस्किन्छ,’ उनले भनिन्।  

जनता क्याम्पसमा कर्मचारीको नियुक्त गर्न लिएको परीक्षा प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुुसन्धान आयोगमा उजुरी समेत परेको छ। कर्मचारी नियुक्ती प्रकरणबाहेक क्याम्पसलाई जग्गा दाताले उपलब्ध गराएको जग्गाको अभिलेख पनि वास्तविक नभएको जनाउँदै अख्तियारमा उजुरी परेको छ। यी दुवै उजुरी सम्बन्धमा अख्तियारले क्याम्पसलाई पटक–पटक ताकेता गर्दा पनि तालाबन्दीले अख्तियारलाई जवाफ पठाउन नसकेको क्याम्पस प्रशासनले जनायो।  

क्याम्पस सञ्चालक समिति अध्यक्ष रेवतीरमण भण्डारीले भने छलफल गरेर समस्या समाधान गरिने जिकिर गरे। प्रदेश सभासदमा नवनिर्वाचित भण्डारीले अनेक स्वार्थ समूहले गर्दा पनि विवाद टुग्याउन ढिलाई भएको जिकिर गरे।  

प्रकाशित: २३ मंसिर २०७९ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App