चाडपर्व भनेका चौतारा जस्ता हुन् । वर्षभरि काम गरेपछि घुम्दै आउने चाडपर्वले फेरि एक छिन सुस्ताउने अवसर दिन्छन् । यिनले पारिवारिक मेलजोल र सामूहिक भावना अभिवृद्धि गराउँछन् ।
यतिबेला सिंगै मुलुक महिलाले मनाउने हरितालिका तिजको रमझममा झुमिरहेको छ । केही वर्षयता तिज भन्ने बित्तिकै यो एउटा पर्व मात्र होइन सामाजिक सम्बन्धको एउटा सेतु पनि बन्न पुगेको छ । विशेष गरी महिलाहरू सार्वजनिक जीवनमा आएसँगै यसलाई भेटघाट र सम्बन्ध विस्तारको अवसरका रूपमा पनि लिँदै छन् । यसलाई ‘नेटवर्किङ’ को अवसरका रूपमा पनि लिन सकिन्छ ।
हाम्रो मुलुकको विशेषता भन्नु नै अनेकतामा एकता हो । हामीले सबैका चाडपर्वलाई आफ्नै सम्झेर मनाउन थालेका छौं । चाडपर्वलाई कुनै एउटा धर्म र संस्कृतिसँग जोडेर हेर्नु आवश्यक पनि छैन । सबैले सबैसँग आत्मीयता राख्ने र अरुलाई बुझ्ने समय पनि हो । अझ तिज भनेको महिला सशक्तीकरणको पर्व पनि हो । कुनै बेला तिजका बेला महिला आफूले घरपरिवारमा रहँदा पाएका दु:ख कष्टलाई आफ्ना गीत र सुस्केरामार्फत् अभिव्यक्त गर्थे ।
मुलुक कृषि प्रधान भए पनि यो जीविकामुखी मात्र रहेको हो । सबैजना सेवा क्षेत्रमा आइनसकेका कारण कृषिका लागि पूरा समय दिनुपर्ने हुन्थ्यो । तिजमा माइती लिन आएपछि महिलाहरूले आफू अनुपस्थित हुञ्जेलसम्म गाईवस्तुका लागि घाँसदेखि आवश्यक तयारी गरेरै हिँड्नु् पथ्र्यो । अझ माइतीबाट कोही लिन आएनन् भने चेलीका निम्ति त्यो साह्रै दु:खको समय हुन्थ्यो । त्यसैले ती बिलौना गरेर बिताइरहेका हुन्थे । तिनले आँसुले भरिएका नयन लिएर फेरि पनि मेलापातमै लाग्नुपर्ने हुन्थ्यो ।
पारिवारिक ताडना, भनेजस्तो खान नपाइने स्थिति आदिका कारण पनि महिलाले तिजलाई एउटा मुक्ति पर्वका रूपमा लिन्थे । दुई दिन भए पनि आफूले माइतीको काखमा गएर आराम लिन पाइने यो समयको प्रतीक्षा तिनलाई रहन्थ्यो । तिजमा खाएका परिकारले तिनलाई वर्षैभरि मिठो अनुभूति गराइरहन्थ्यो । हिजोको समयभन्दा आज अलि बढी उन्मुक्त छ । हिजोको जस्तो खानै नपाइने अवस्था पनि छैन । पारिवारिक र सामाजिक वातावरण पनि हिजोभन्दा आज थप उत्साहप्रद छ ।
तैपनि यदाकदा महिलाले चाड मनाएको देख्दा धेरै नै उतर्सिएको पनि देखिन्छ । हाम्रो जस्तो पुरुषप्रधान समाजमा तिनले वर्षैभरि पार्टी र भोजमा आफूलाई सक्रिय बनाएको देखिन्छ । त्यति मात्र होइन रमाइलो गर्ने पुरुषकै एकाधिकारजस्तो पनि लाग्छ । अझै पनि महिलाहरू सार्वजनिक जीवनमा सक्रिय हुँदाहुँदै पनि घरपरिवारको जिम्मेवारी पनि निरन्तर लिइरहेका हुन्छन् । निजामती, प्रहरी, सेना मात्र होइन राष्ट्रिय जीवनका सर्वाङ्गीण क्षेत्रमा महिलाको उपस्थिति छ । यस्तो अवस्थामा तिनले केही दिन रामरमाइलो गर्दा व्यंग्य गरिहाल्नु पर्ने, संस्कृति नै समाप्त हुन लाग्यो भन्ने ठान्नु नपर्ने हो । संस्कृति पनि समयानुकूल परिवर्तन हुँदै जान्छ ।
त्यसैले रमाइलो गरेकै आधारमा, चाडपर्व मनाएकै भरमा र आफूलाई मन लागेको वस्तु खाएपिएकै आधारमा आलोचना गर्नु आवश्यक छैन । समाजको आधाभन्दा ठुलो हिस्सा भौंतारिएर हिँड्दा देश विकास हुँदैन । त्यस्तो अवस्थामा संस्कृतिको विकास पनि हुँदैन । समाजलाई एकता सूत्रमा गाँस्न पनि सकिँदैन । यसकारण पनि समय र पर्वअनुसार यसका लागि सबैले मौका पाउनै पर्छ । महिलाले पनि अरुको आलोचनाबाट मुक्त हुँदै चाड मनाउने अवसर पाउनु उचित हुन्छ । हरेक पक्षमा खोट झिक्ने रौंचिरा समाजले कहिल्यै प्रगति गर्न सक्दैन ।
दक्षिण एसियाका कतिपय मुलुकमा महिलाले के खान्छन्, कसरी हिँड्छन्, कस्ता लुगा लगाउँछन् भन्ने धेरै चियोचर्चो हुन्छ । कतिपयले खेल, अनुसन्धान र अन्य क्षेत्रमा मनग्गे प्रगति गरेका देखिन्छ । समाजले तिनका कपडा कति छोटा छन् भन्नेमा बढ्ता ध्यान दिन्छ । कतिपय अवस्थामा पश्चिमा समाजमा यस्तो चियोचर्चोको पक्ष कम हुन्छ । त्यसैकारण त्यहाँ महिलाहरू निर्धक्क आफ्नो प्रगतिको बाटोमा लाग्छन् ।
तिज एउटा सन्दर्भ हो तर यसलाई महिला विरोधी एउटा हतियारका रूपमा फेरि पनि तिनकै विरुद्ध प्रयोग गर्न उन्मुख हुनु उचित देखिँदैन । घरपरिवारमा महिला खुसी हुनु भनेको समाज खुसी हुनु हो । समाज खुसी हुनु भनेको देश खुसी हुनु हो । तिजको रमाइलोमा राम्रा परिधानमा सजिएर तिनले आफ्ना कर्तव्य निर्वाह गर्न पाइरहनु पर्छ । महिला द्वेषी समाज होइन तिनीसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रगतिशील समाज आजको आवश्यकता हो ।
तिजको उपलक्ष्यमा समस्त महिलाहरूलाई हाम्रो हार्दिक शुभकामना ।
प्रकाशित: १० भाद्र २०८२ ०६:०६ मंगलबार

