मधेस प्रदेश यो साताको सुरुमा समाचारको शीर्षक बन्यो। तर त्यो सुखद समाचार थिएन। केही युवाले सामाजिक सञ्जालमा सम्पे्रषण गरेका घृणात्मक विषयवस्तुबाट सुरु भएको यो विवाद मधेस प्रदेशका विभिन्न स्थानमा हिन्दु तथा मुस्लिम समुदायबिच द्वन्द्व र वीरगन्जमा कफ्र्युसमेत लगाउनुपर्ने स्थितिमा पुग्यो। हिन्दु–मुस्लिम समुदायबिचको तनावका कारण प्रशासनले कफ्र्यु लगाउनुपर्ने स्थितिमा पुग्नु आफैंमा दुःखद छ।
त्यसो त मंगलबार सर्वदलीय तथा सर्वपक्षीय बैठकले केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन नगर्ने सहमतिसँगै सोमबारदेखि लगाइएको ‘कफ्र्यु’ मंगलबार अपराह्नदेखि हटेको छ। जिल्लाका क्रियाशील राजनीतिक दल एवं विभिन्न धार्मिक समुदायका अगुवा सम्मिलित स्थायी सद्भाव संयन्त्र गठन गर्ने र यसप्रकारको हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्ने सर्वपक्षीय बैठकले निर्णयसमेत गरेको छ। यो सँगै केही दिनसम्म तनावग्रस्त रहेको वीरगन्जको जनजीवन सामान्यतर्फ उन्मुख छ। यसलाई सुखद नै मान्नुपर्छ।
बैठकले धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव बिथोल्न उत्प्रेरित गर्ने समूह/आन्दोलनकारीलाई तत्काल कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनलाई थप सक्रिय पार्ने निर्णय पनि गरेको छ।
विशेषगरी साम्प्रदायिक सद्भाव खलबल्याउन पछिल्ला दिनमा सामाजिक सञ्जाल, मिथ्या सूचना र केही हदसम्म गलत समाचार सम्प्रेषण जिम्मेवार देखिएका छन्। यही सन्दर्भमा सो बैठकले सञ्चारकर्मीलाई धार्मिक, सांस्कृतिक÷सामाजिक सद्भावमा खलल नपुग्ने गरी समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ।
धनुषाको कमला नगरपालिका–६ सखुवा मडानका केही युवाले सामाजिक सञ्जालमा घृणात्मक अभिव्यक्तिसहित असामाजिक खालका दृश्यहरू सार्वजनिक गरेका थिए। ती दुई युवकलाई दुवै समुदायका अगुवाले समातेर प्रहरीको जिम्मासमेत लगाएका थिए तर पक्राउ परेका युवालाई तत्काल छाड्ने मागसहित विरोध सुरु भएपछि विवाद झन् बढेको थियो र केही धार्मिक संस्थामा समेत तोडफोड भएको थियो तर धार्मिक संस्थामा भएको तोडफोडको भिडियो सामाजिक सञ्जालमा प्रवाहित भयो र घृणात्मक सन्देश प्रवाहित भएपछि हिंसा भड्केको स्थानीय प्रहरीको कथन छ। यही घटनाका आधारमा नेपाल–भारत सीमामा रहेको व्यापारिक सहर वीरगन्जमा प्रदर्शन र झडपहरू हुन पुगे। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्न खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो र केहीलाई नियन्त्रणमा लिइएको थियो।
विभिन्न धर्मावलम्बीबिच धार्मिक तथा सामाजिक सद्भाव रहँदै आए तापनि नेपालमा यदाकदा हुने यस्ता गतिविधि चिन्ताका विषय हुन्। हाम्रो सदियौं पुरानो सामाजिक एकता र भाइचारामा आँच पुर्याउन यसप्रकारका घटना किन घट्छन्, यस प्रकृतिको आगोमा कसले घिउ थप्ने काम गर्छ भन्नेमा सबै सरोकारवालाको ध्यान जानुपर्छ। पछिल्ला समयमा लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको भावनामा चोट पुग्ने कार्य हुनु चिन्ताको विषय हो। अफवाह, उक्साहट, राजनीतिक स्वार्थ र सामाजिक सञ्जालमार्फत फैलाइने घृणात्मक सामग्रीले यस्ता घटनाका लागि भूमिका खेलेको देखिन्छ। यसले समाजमा शान्ति एवं अमनचयनका साथै आपसी सद्भावसमेत बिथोल्छ।
अशिक्षा, गरिबीसँग लड्नुपर्ने समयमा घृणा, हिंसा र विभाजनमा समाज धकेलिँदा हिंसा बढाउन चाहने मुट्ठीभर व्यक्तिबाहेक कसैको स्वार्थ पूर्ति हुँदैन। आधुनिक समाजमा यो अस्वीकार्य विषय पनि हो। यसप्रकारका घटनाले समग्र समाज, राज्य तथा नागरिक सबैलाई कमजोर पार्छ। त्यसैले संयम, संवाद र सहअस्तित्वको बाटो अवलम्बन गर्नु नै अहिलेको पहिलो आवश्यकता हो। सबैभन्दा महत्त्वपूर्ण विषय बहुसांस्कृतिक र बहुधार्मिक चरित्रको प्रतीक मानिने वीरगन्जमा यस्ता घटना नघटून् भन्नेमा सजक रहनुपर्छ।
सर्वपक्षीय बैठकका निर्णयले यसप्रकारको घटना नदोहोरिओस् भन्नेमा जोड दिएको देखिन्छ। अबको आवश्यकता भनेको यसलाई दीर्घकालीन समाधानमा लग्नु हो। त्यो निरन्तर संवाद, विश्वास पुनर्निर्माण र साम्प्रदायिक सद्भाव मजबुत बनाउने दीर्घकालीन पहलबाट मात्र सम्भव छ। यसप्रकारको परिस्थितिमा सबैभन्दा ठुलो जिम्मेवारी राजनीतिक दल, धार्मिक अगुवा र स्थानीय नेतृत्वको हुन्छ। उत्तेजक अभिव्यक्ति, मौन समर्थन वा अवसरवादी राजनीतिले आगोमा घिउ थप्ने काम गर्छ। प्रशासनले पनि निष्पक्ष रूपमा दोषी पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्छ।
धर्म वा समुदायको आधारमा होइन, मान्छेले गरेको अवराध र कर्मका आधारमा कानुन सक्रिय बनाउनुपर्छ। समयमै संवाद, सहिष्णुता र कानुनी शासनलाई प्राथमिकता दिइएन भने यस्ता घटना अन्य स्थानमा पनि दोहोरिन सक्छन्। विविधतालाई शक्ति बनाउने हाम्रो राष्ट्रिय चरित्रलाई कमजोर पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुनुपर्छ। वीरगन्ज फेरि सहअस्तित्वको उत्कृष्ट उदाहरण बन्न सकोस्, यही नै हामी सबैको साझा चाहना हो।
प्रकाशित: २४ पुस २०८२ ०६:०२ बिहीबार

