२०८३ वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिकालगायत राजधानीका स्थानीय सरकारले साझा यातायातसँगको सहकार्यमा रात्रि बस सेवा सुरु गरेको छ। यो सेवा लामो समयदेखि जनताले भोग्दै आएको समस्याको ठोस समाधानतर्फको महत्त्वपूर्ण पहलका रूपमा हेर्न सकिन्छ। त्यति मात्र होइन, रातिको समयमा सुविधा नपाउँदा यहाँको आर्थिक गतिविधिलाई समेत अवरोध ल्याएको छ।
लाखौं मानिस बसोबास गर्ने काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु हुनु केवल एउटा प्रशासनिक निर्णय मात्र होइन, यो सहरी जीवनको स्वरूप परिवर्तनको महत्त्वपूर्ण कदम हो। यति ठुलो सहरमा साँझ ८ बजेसम्म त सार्वजनिक सवारीको विकल्प पाइन्छ तर त्यसपछि भने काठमाडौं लगभग ठप्पजस्तै बन्ने गरेको थियो। पछिल्ला वर्षमा पठाओ, इनड्राइभ, याङ्गोलगायत सवारी एप्सको सुरुवातले यात्रा केही सहज बनाएको हो तर रात्रिकालमा यी सेवाहरूको मूल्य चर्काे हुने गर्छ । यस्तो अवस्थामा यात्रुहरू या त निजी सवारी वा महँगो ट्याक्सीमा निर्भर हुन बाध्य थिए। यस्तो अवस्थामा रात्रिकालीन बस सेवा सुरु हुनु विशेषतः सीमित आय भएका र कामकाजी सर्वसाधारणका लागि ठुलो राहत हो । लगनखेलदेखि बुढानीलकण्ठसम्मको उत्तर–दक्षिण र थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको पूर्वपश्चिम रुटमा सञ्चालन हुने यी बसहरूले सहरको मुख्य आवागमन धुरी समेटेका छन्, जुन सकारात्मक पक्ष हो।
यो सेवाको अर्को महत्त्वपूर्ण आयाम भनेको सुरक्षा हो। विशेषगरी महिला, किशोरी र विद्यार्थीहरू राति यात्रा गर्दा असुरक्षा, दुव्र्यवहार र ठगीको जोखिममा पर्ने गरेका थिए। बसमा जडान गरिएका सिसिटिभी क्यामेरा र नगर प्रहरीको व्यवस्था यात्रुहरूको सुरक्षाप्रति देखाइएको संवेदनशीलता हो। यसले सार्वजनिक यातायातप्रति विश्वास बढाउनेछ। यसले सहरलाई सेवायुक्त बनाउन मद्दत गर्छ। हरेक व्यक्तिले निजी सवारी किन्नैपर्ने बाध्यता घटाउने हो भने यस्ता सेवाले सहयोग पुर्याउँछन्।
यसलाई केवल सुरुवातका रूपमा मात्र लिनुपर्छ। चारवटा विद्युतीय बस र दुईवटा रुटले काठमाडौंजस्तो विशाल र व्यस्त सहरको आवश्यकता पूरा गर्न सक्दैन। यो सेवा दीर्घकालीन रूपमा सफल बनाउने हो भने बस संख्या बढाउन, रुट विस्तार गर्न र समयावधि अझै लम्ब्याउन आवश्यक छ। राति ११ बजेसम्म मात्र चल्ने यो सीमित सेवा धेरै कामदार र सेवामूलक क्षेत्रमा कार्यरत व्यक्तिका लागि अझै पर्याप्त नहुन सक्छ। यसलाई थप विस्तार गर्न आवश्यक छ।
विश्वका विकसित सहरहरूबाट हामीले सिक्नुपर्ने धेरै कुरा छन्। उदाहरणका लागि लन्डनमा ‘नाइट ट्युब’ सेवा सप्ताहन्तमा रातभर सञ्चालन हुन्छ, जसले सहरलाई २४ घण्टा चलायमान बनाएको छ। त्यस्तै, न्युयोर्कलगायत विश्वका सबवै प्रमुख सहरमा सबवे प्रणाली २४ घण्टा सञ्चालनमा रहन्छ, जसले कामदार वर्गदेखि पर्यटकसम्म सबैलाई सहजता प्रदान गर्छ। छिमेकी भारतको दिल्लीमा सीमित भए पनि रात्रिकालीन बस सेवा सञ्चालन हुँदै आएको छ। यी उदाहरणले देखाउछन् कि आधुनिक सहरहरूमा सार्वजनिक यातायात केवल दिनमै सीमित हुन सक्दैन।
काठमाडौं पनि तीव्र रूपमा सहरीकरण भइरहेको छ। यहाँको जनसंख्या, आर्थिक गतिविधि र जीवनशैली दिन प्रतिदिन बदलिँदो छ । होटल, अस्पताल, सञ्चार, सुरक्षा, निर्माणजस्ता क्षेत्रमा रातभर काम हुने हुँदा यातायातको अभावले ठुलो समस्या सिर्जना गर्छ । यस्तो अवस्थामा रात्रिकालीन सार्वजनिक यातायात सेवा केवल सुविधा मात्र होइन, आवश्यकता हो।
यद्यपि यस्ता कार्यक्रमहरू नेपालमा प्रायः सुरु त हुन्छन् तर निरन्तरता पाउन गाह्रो हुन्छ । प्रारम्भिक उत्साहपछि व्यवस्थापन, बजेट, समन्वय र राजनीतिक इच्छाशक्तिको अभावले सेवा कमजोर बन्दै जाने जोखिम रहन्छ। त्यसैले महानगरपालिकाले यसलाई ‘पाइलट प्रोजेक्ट’का रूपमा मात्र नभई दीर्घकालीन नीतिगत कार्यक्रमका रूपमा विकास गर्नुपर्छ । निजी क्षेत्रसँग सहकार्य, डिजिटल टिकटिङ, समयतालिकाको कडाइसाथ पालना र यात्रु फिडब्याक प्रणालीलाई पनि सुदृढ बनाउन आवश्यक छ। विगतमा पनि यस्तो सेवा सुरु भएर पछि बन्द भएको हो। अब सुरु भएपछि बन्द हुनुहुँदैन। बरु विस्तारित हुँदै भविष्यमा काठमाडौंको सार्वजनिक यातायात विश्वमै अनुकरणीय छ भन्ने पर्न सकोस्। हामी उदाहरण बन्ने गरी काम गरौं।
अन्ततः रात्रिकालीन बस सेवा सुरु हुनु काठमाडौंका नागरिकका लागि आशाको किरण हो, नयाँ वर्षको उपहार हो। यसले सस्तो, सुरक्षित र सहज यात्रा सुनिश्चित गर्दै सहरलाई अझ जीवन्त बनाउनेछ तर यसको सफलता निरन्तरता, विस्तार र प्रभावकारी व्यवस्थापनमा निर्भर हुनेछ। प्रस्ट छ, काठमाडौंजस्तो सहरका लागि सार्वजनिक यातायात केवल विकल्प होइन, सहरको जीवनरेखा हो र यो जीवनरेखा अब राति पनि जारी रहनु अनिवार्य छ।
प्रकाशित: २ वैशाख २०८३ ०६:०६ बुधबार

