१५ भाद्र २०८३ सोमबार
image/svg+xml
सम्पादकीय

पूर्वसूचना प्रणालीमाथि प्रश्न

भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीले जनधनको ठुलो क्षति पुर्‍याएको छ। मानवीय र भौतिक नोक्सानीको अझै आकलन गर्न कठिन छ। पाँच दिन बित्दा पनि बेपत्ता परिवारका सदस्यहरू आफन्तको जीवनको प्रतीक्षामा छन् तर सरकार प्रभावित क्षेत्रमा अझै प्रभावकारी ढंगबाट देखिन सकेको छैन। उद्धारका लागि नेपाली सेनासहित सुरक्षा निकायहरू परिचालित भएका छन्। तर, स्वास्थ्य उपचार, राहत वितरणका साथै पुनःस्थापनासहितको काममा सरकारले आफ्ना संयन्त्रहरू परिचालन गर्न नसकेको गुनासो छ। विभिन्न जलविद्युत् आयोजनामा फसेका नागरिकको पाँचौं दिनसम्म उद्धार हुन नसक्नुले सरकारप्रति आमनागरिकमा आक्रोश बढ्दै गएको छ। जुन अस्वाभाविक होइन।

रसुवाको भोटेकोसी क्षेत्रमा आएको पछिल्लो बाढी सामान्य मनसुनी बाढी थिएन। यो हिमाली क्षेत्रमा हिमचट्टानको ठुलो भाग खस्नु, नदी थुनिनु र केही समयपछि थुनिएको भाग फुट्दा अत्यन्त तीव्र गतिमा पानीको भेल र गेग्रयान तलतिर उर्लेर आएको घटना थियो। यसले सीमित हिसाबमा कार्यान्वयनमा रहेको नेपालको परम्परागत बाढी पूर्वसूचना प्रणालीको सीमालाई उजागर गरेको छ। सोही क्षेत्रमा एक वर्षअघि पनि विनाशकारी बाढी आइसकेको थियो। जोखिम यसअघि नै उजागर भइसकेको थियो।

आजको मूल प्रश्न हामीसँग पूर्वसूचना प्रणाली छ कि छैन भन्ने होइन। हामीले कस्तो जोखिमका लागि कस्तो पूर्वसूचना प्रणाली बनाएका छौं भन्ने हो। नेपालले बाढीको जलसतह मापन गर्ने सेन्सर, वर्षामापन केन्द्र र सूचना प्रवाह प्रणाली विस्तार गरेको छ। भोटेकोसी क्षेत्रमा पनि सीमावर्ती क्षेत्रमा राखिएको सेन्सरले निश्चित अन्तरालमा नदीको तथ्यांक पठाइरहेको थियो तर यसपटक बाढी यति तीव्र गतिमा आयो कि केही मिनेटको अन्तरालमा आउने तथ्यांकले समेत पर्याप्त समय दिन सकेन। अत्यधिक बहाबसँगै पुल र त्यसमा जडित उपकरण नै बगेपछि सूचना प्रणालीको अर्को कमजोरी पनि देखियो। सम्भावित संकटको पूर्वसूचना दिने उपकरण आफैं विपद्को जोखिममा थिए।

भोटेकोसी घटनाले अझ अर्काे गम्भीर पक्ष देखाएको छ– नेपालले अब नदीको पानी मात्र होइन, नदीभन्दा माथि के भइरहेको छ भन्ने पनि थाहा पाउनुपर्छ। हिमालभित्र वा हिमनदीमाथि के भइरहेको छ ? कुन ठाउँमा हिमतालको आकार बढिरहेको छ ? कुन हिमनदीको सतह अस्थिर बन्दै छ ? कहाँ हिमचट्टान चिरिएको छ ? कहाँ हिमपहिरो खस्ने सम्भावना बढेको छ ? कुनै हिमतालको बाँध कमजोर हुँदै छ कि छैन ? यी प्रश्नको उत्तर बाढी आएको नदीमा राखिएको सेन्सरले दिन सक्दैन।

त्यसका लागि उपल्लो क्षेत्रमा ‘अपस्ट्रिम निगरानी प्रणाली’ आवश्यक छ। नेपालले उच्च हिमाली क्षेत्रमा क्यामेरा, तापक्रम तथा पानीको सतह मापन गर्ने सेन्सर, कम्पन तथा भूचलायमानता मापन गर्ने उपकरण र अन्य स्वचालित प्रणाली जडान गर्नुपर्छ। यी उपकरणले चौबिसै घण्टा हिमनदी र हिमतालको अवस्था निगरानी गर्न सक्छन्। असामान्य परिवर्तन देखिएमा नियमित दश मिनेटको तथ्यांक कुर्नुको सट्टा तुरुन्तै सूचना पठाउने ‘थ्रेसहोल्ड–आधारित’ प्रणाली विकास गर्नुपर्छ।

पाँच हजार मिटरभन्दा माथि उपकरण जडान र मर्मत गर्नु कठिन, महँगो र मौसमका कारण सीमित हुन्छ। त्यसैले भूउपग्रह निगरानीलाई नेपालको पूर्वसूचना प्रणालीको मेरुदण्ड बनाउनुपर्ने समय आइसकेको छ। उपग्रहबाट हिमतालको क्षेत्रफल, हिमनदीको गति, बरफको अवस्था, पहिरो तथा हिमपहिरोको सम्भावित क्षेत्र र भूआकृतिमा आएको परिवर्तन नियमित रूपमा पहिचान गर्न सकिन्छ। कृत्रिम बुद्धिमत्ता र रिमोट सेन्सिङ प्रविधि प्रयोग गरेर विगतको अवस्थासँग तुलना गरी असामान्य परिवर्तन पहिल्यै पत्ता लगाउने प्रणालीसमेत बनाउन सकिन्छ।

यसमा चीनसँगको सहकार्य झनै महत्त्वपूर्ण छ। भोटेकोसीजस्ता नदी सीमापारि जोडिएका छन्। जोखिमको स्रोत सीमाभन्दा माथि वा पारि हुन सक्छ तर त्यसको प्रभाव नेपालका बस्ती, सडक, पुल र जलविद्युत् आयोजनामा पर्छ। त्यसैले नेपाल–चीनबिच वास्तविक समयको जल तथा हिमाली जोखिमसम्बन्धी तथ्यांक आदानप्रदान गर्ने औपचारिक संयन्त्र आवश्यक छ। केही मिनेटको पूर्वसूचना पनि जीवन र मृत्युबिचको फरक हुन सक्छ।

पूर्वसूचनाको अन्तिम उद्देश्य तथ्यांक संकलन होइन, ज्यान जोगाउनु हो। त्यसैले केन्द्रमा सूचना आएपछि स्थानीय तह, सुरक्षा निकाय, आयोजना, होटल, यातायात व्यवसायी र सर्वसाधारणसम्म केही मिनेटमै पुग्ने बहुमाध्यम सूचना प्रणाली आवश्यक छ। साइरन, मोबाइल अलर्ट, रेडियो, सामाजिक सञ्जाल र स्थानीय स्वयंसेवकको सञ्जाललाई एउटै प्रणालीमा जोड्नुपर्छ।

नेपालले अब विपद्पछिको उद्धारमा मात्र होइन, हिमालको माथिल्लो भागमा भइरहेका परिवर्तनको निरन्तर निगरानीमा लगानी गर्नुपर्छ। क्यामेराले हिमाल हेर्नुपर्छ, सेन्सरले उसको धड्कन सुन्नुपर्छ र उपग्रहले त्यसको परिवर्तन पढ्नुपर्छ। ती सूचनालाई तत्काल नदी किनारका मानिससम्म पुर्‍याउन सकियो भने केही मिनेटको समय पनि सयौं जीवन बचाउन पर्याप्त हुन सक्छ।  

प्रकाशित: १५ भाद्र २०८३ ०६:०० सोमबार

Download Nagarik App