मुलुकको दोस्रो ठुलो दल नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन धुमधामसाथ सम्पन्न गरेको छ। जेनजी विद्रोहपछि प्रमुख दलका गतिविधि सकिए भन्ने ठाउँमा फेरि एमाले बौरिएको मात्र छैन, सबैजसो दललाई पुनर्ताजगीका निम्ति सन्देशसमेत दिएको छ।
त्यति मात्र होइन, महाधिवेशनमार्फत निर्वाचनकै अभ्यासबाट नयाँ नेतृत्व चयन गरेर फेरि पनि यसले आफूलाई सदैव दह्रो र खरो दलका रूपमा प्रस्तुत गरेको छ। गत भदौ २३ को जेनजी आन्दोलन, त्यसको आडमा भोलिपल्ट भदौ २४ गते भएको आगजनी, लुटपाट र ध्वंसका कारण मुलुकको निर्वाचित प्रधानमन्त्रीबाट बलात् हट्न बाध्य पारिएका केपी शर्मा ओलीले दलको अध्यक्ष पदमा ‘ह्याट्रिक’ गरेर आफ्नो वर्चस्वको पुनर्पुष्टि गरेका छन्। ओलीविरुद्ध उम्मेदवार बनेका वरिष्ठ नेता ईश्वर पोखरेल पक्षका दुईबाहेक अधिकांश पदाधिकारी पनि उनकै देखिएका छन्।
दलभित्र ओलीमाथि एकलौटी गरेको आरोप लाग्दै आए पनि त्यहाँ आफ्नो बलियो पकड रहेको उनले खुला निर्वाचनमार्फत पुष्टि गरेका छन्। त्यति मात्र होइन, मुलुकको राजनीतिमा ओली अझै सान्दर्भिक रहेको यसले देखाउँछ। जेनजी विद्रोहपछि पुस्तान्तरण र पद हस्तान्तरणको जबर्जस्त भाष्य निर्माण भएको हो। तथापि, एमालेभित्रको निर्वाचन परिणामले त्यसलाई स्वीकार गरेको देखिएन। महाधिवेशन परिणामले फेरि पनि एमालेभित्र दह्रो अडान राख्न सक्ने र बलियो नेतृत्वलाई खोजेको देखिन्छ। विशेष गरी जेनजीका नाममा मुलुकमा गरिएको ज्यादती, आगजनी, तोडफोड, राज्य र व्यक्तिका सम्पत्तिमाथिको क्षयमा बोल्न सक्ने व्यक्तिका रूपमा ओली देखिएका छन्। जेनजी विद्रोहअघिका ओलीभन्दा अहिलेका ओली अरू सशक्त बन्ने संकेत देखिएको छ।
२०४६ सालको परिवर्तनपछि निरन्तर राजनीतिको केन्द्रमा रहेका नेताहरू अहिले पनि प्रभावी छन्। तिनको विकल्प आवश्यक रहेको टिप्पणी हुँदै आएको छ। तर, नेतृत्व भनेको कसैले टिपेर अर्कोलाई दिने स्थिति हुँदैन। दलविशेषको आफ्नो विधान र परम्पराका आधारमा नेतृत्व कतिपटक दोहोरिने भन्ने हुन्छ। ओलीले आफू सक्षम भएको महसुस गर्दागर्दै अरू कसैलाई हस्तान्तरण गर्ने स्थिति हुँदैनथ्यो। कांग्रेसमा मात्र दुई कार्यकालको व्यवस्था भएका कारण शेरबहादुर देउवाले आगामी महाधिवेशनमा नेतृत्व दाबी नगर्ने बताएका छन्। जेनजी विद्रोहपछिको अवस्थामा तत्कालीन नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले भने नयाँ दल बनाएर र ध्रुवीकरण गरेर भए पनि नेतृत्वमा पुग्ने आफ्नो योजना पूरा गरेका छन्।
एमालेले आफूलाई सबैभन्दा गतिशील र अप्ठ्यारो परेका बेला पनि धुलो टकटक्याउँदै उठ्न सक्ने क्षमता भएको दलका रूपमा फेरि स्थापित गरेको छ। विषम परिस्थितिका बेला पनि महाधिवेशन आयोजना गर्नु, नेतृत्वका निम्ति निर्वाचन गर्न पनि तयार हुनु र फेरि दललाई एक ढिक्का बनाएर जाने आँट गर्नु सकारात्मक पक्ष हो। आपसमा प्रतिस्पर्धा गरेर पनि पराजित नेता तथा कार्यकर्ताले दलप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। त्यसैगरी निर्वाचित हुनेहरूले पनि उत्तेजनापूर्ण अभिव्यक्ति नदिई अगाडि बढ्ने लक्षण देखाइरहेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लगातार तेस्रो पटक पनि अध्यक्षमा जित्ने आफ्नो क्षमता प्रदर्शन गरेका छन्, त्यो आफैंमा उल्लेख्य छ। एमालेमा यो नै पहिलो पटक निर्वाचन अभ्यास पनि होइन। विगतमा पनि निर्वाचन भएका हुन्। ओलीले भने लगातार तेस्रो पटक निर्वाचित भएर इतिहास बनाएका छन्। विगतमा महासचिव एमालेको सबैभन्दा शक्तिशाली पद हुँदा पनि ओली त्यसमा पुगेनन्। अध्यक्ष पद शक्तिशाली भएपछि माधवकुमार नेपाल र झलनाथ खनाललाई अगाडि बढ्न पनि उनले दिएकै हुन्। जहिलेबाट उनले नेतृत्व लिए, त्यो बेलादेखि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। ओलीमाथि सबैतिरबाट आलोचना र आक्रमण भएको छ। तैपनि उनी त्यसलाई चिर्दै अगाडि बढ्न सक्षम रहेको पुष्टि गरेका छन्।
ओलीको यो विजयसँगै राष्ट्रिय राजनीतिमा उनको भूमिका प्रबल हुने देखिएको छ। जेनजी विद्रोहपछि संसद् विघटन भएको स्थितिलाई उनले स्वीकार गर्न सकेका छैनन्। त्यसैगरी वर्तमान सरकारप्रति पनि उत्तिकै आलोचक रहँदै आएका छन्। राष्ट्रिय राजनीतिमा आगामी दिनमा ओलीको भूमिकाले फरक पार्न सक्छ। संसद् पुनर्स्थापनाका लागि एमाले आफूले मात्र सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छैन, कांग्रेसलाई समेत सहमत गराउँदै निवेदन दिन प्रेरित गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको उनले सार्वजनिक रूपमा प्रशंसा गर्दै आगामी राजनीतिमा आफूतर्फ ल्याउन उनले भूमिका खेल्ने देखिएको छ।
एमालेले आफ्नो महाधिवेशन आयोजना गरे पनि कांग्रेसका निम्ति यो अझै सकसपूर्णजस्तो देखिएको छ। महाधिवेशनपछि आउने कांग्रेस नेतृत्वलाई पनि मुलुकको राजनीतिमा आफ्नो भूमिका निर्वाह गर्न सहज हुनेछ। सबैजसो दलले बदलिँदो परिस्थितिअनुरूप आफूलाई नयाँ ढंगले लैजानुपर्ने चुनौतीपूर्ण समय छ। यसकारण पनि दललाई बदलिँदो परिवेशअनुसार लैजानुपर्नेछ। एमालेले पनि महाधिवेशनपछि दललाई एक ढिक्का बनाएर लैजानुपर्नेछ। जेजस्तो परिस्थिति विगतमा देशले भोग्नुपरेको छ, त्यसलाई आधार मानेर अगाडि बढ्नुको विकल्प छैन। विषम परिस्थितिमा पनि फेरि एमालेले आफूलाई महाधिवेशनबाट पुनर्ताजगी गरेर अगाडि बढ्नु सकारात्मक पक्ष हो। ओलीले सबैलाई समेटेर अगाडि बढ्ने कोसिस गरे भने परिणाम भिन्न आउने छ।
प्रकाशित: ४ पुस २०८२ ०६:०९ शुक्रबार

