१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
सम्पादकीय

स्वास्थ्य सुरक्षामा सचेत बनौं

इबोला भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेपछि विश्व समुदाय पुनः सतर्क बनेको छ।  प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इतुरी प्रान्तबाट सुरु भएको संक्रमण छिमेकी मुलुक युगान्डासम्म फैलिसकेको छ। संक्रमण, मृत्युदर र फैलावटको यथार्थ अवस्था अझै स्पष्ट नभएकाले यो विषयलाई सामान्य रूपमा लिन मिल्दैन। विश्वव्यापी महामारीको औपचारिक मापदण्ड पूरा नभए पनि यसको जोखिमलाई बेवास्ता गर्न सकिने अवस्था छैन। नेपालजस्तो सीमित स्वास्थ्य पूर्वाधार भएको मुलुकका लागि त यस्ता संक्रामक रोग अझ बढी चुनौतीपूर्ण हुन सक्छन्। त्यसैले अहिलेको आवश्यकता भनेको डर फैलाउने होइन, सचेतना बढाउने र समयमै तयारीलाई प्रभावकारी बनाउने हो।

इबोला संसारकै घातक भाइरसमध्ये एक मानिन्छ।  यसले मानिसको शरीरभित्र रगत बग्ने, उच्च ज्वरो आउने, अंगहरूमा असर पर्ने र अन्ततः मृत्यु हुने अवस्था सिर्जना गर्न सक्छ।  यसको संक्रमण दर र मृत्युदर दुवै उच्च हुने भएकाले प्रारम्भिक सतर्कता अत्यन्त महत्त्वपूर्ण हुन्छ। जंगली जनावरको मासु सेवनबाट सुरु भएको यो संक्रमण अहिले मानिसबाट मानिसमा फैलिरहेको छ। विशेष गरी संक्रमित व्यक्तिको रगत, पसिना, र्‍याल, दिसा, पिसाब, वीर्य तथा अन्य शारीरिक तरल पदार्थको सम्पर्कबाट रोग सर्ने भएकाले स्वास्थ्य सुरक्षाका आधारभूत उपाय अनिवार्य रूपमा अपनाउनुपर्छ।

नेपाल इबोलाको प्रत्यक्ष जोखिममा नरहेको जस्तो देखिए पनि पूर्ण रूपमा सुरक्षित भने छैन। अफ्रिकी मुलुकमा नेपाली शान्ति सैनिक खटिएका छन्, वैदेशिक रोजगारीका लागि नेपालीहरू त्यहाँ गइरहेका छन् र अन्तर्राष्ट्रिय यात्राको पहुँच विस्तार भइसकेको छ। यस्ता कारणले संक्रमणको सम्भावना शून्य छैन। विशेषगरी संक्रमण फैलिएका मुलुकबाट आउने यात्रुको निगरानी, परीक्षण र व्यवस्थापनमा कमजोरी भयो भने जोखिम बढ्न सक्छ। अहिले विमानस्थलमा ‘थर्मल स्क्रिनिङ’को व्यवस्था गरिएको भनिए पनि त्यसको प्रभावकारिता र निरन्तरताबारे गम्भीर प्रश्न उठिरहेका छन्। अझै पनि कतिपय नाकामा सामान्य सोधपुछकै आधारमा निगरानी सीमित छ।  यस्तो अवस्थामा स्वास्थ्य प्रणालीलाई कागजी होइन, व्यावहारिक रूपमा सक्षम बनाइनुपर्छ।

सरकारले तत्कालै संक्रमण व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न आवश्यक छ। शंकास्पद बिरामीलाई छुट्टै राख्ने आइसोलेसन वार्ड, आवश्यक औषधि, व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), प्रशिक्षित स्वास्थ्यकर्मी र द्रुत परीक्षण प्रणालीको व्यवस्था अनिवार्य गरिनुपर्छ। टेकु अस्पताललगायतका केन्द्रीय अस्पतालमा विशेष तयारीसाथ आइसोलेसन सेवा विस्तार गरिनु आवश्यक छ भने प्रदेशस्तरमा पनि तयारीको सञ्जाल निर्माण गरिनुपर्छ। महामारीको जोखिम सीमित स्रोतबाट मात्र नियन्त्रण हुँदैन, त्यसका लागि समन्वित राज्य संयन्त्र आवश्यक पर्छ।

इबोलाजस्तो संक्रमण रोकथाममा जनचेतना सबैभन्दा प्रभावकारी हतियार हो।  नागरिकहरूले साबुनपानीले नियमित हात धुने, असुरक्षित सम्पर्कबाट बच्ने, संक्रमित व्यक्तिसँग अनावश्यक नजिक नहुने र स्वास्थ्य मापदण्ड पालना गर्ने बानी बसाल्नुपर्छ। संक्रमण फैलिएका मुलुकबाट आएका व्यक्तिहरूलाई कम्तीमा २१ दिन निगरानीमा राख्ने व्यवस्था प्रभावकारी रूपमा लागु गर्नुपर्छ। रोगका लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्ने संस्कार विकास गर्न पनि आवश्यक छ। नेपालमा प्रायः रोग लुकाउने, घरेलु उपचारमै सीमित रहने वा सामाजिक डरका कारण जानकारी नदिने प्रवृत्ति देखिन्छ, जुन महामारीको अवस्थामा झन् घातक हुन सक्छ।

अर्कातर्फ, सञ्चारमाध्यम र सामाजिक सञ्जालको भूमिका पनि अत्यन्त संवेदनशील हुन्छ।  तथ्यभन्दा बढी त्रास फैलाउने, अपुष्ट सूचना प्रसारण गर्ने वा भ्रम सिर्जना गर्ने कार्यले समाजमा आतंक निम्त्याउन सक्छ। त्यसैले वैज्ञानिक तथ्यमा आधारित जनचेतनामूलक सामग्री प्रवाह गर्नुपर्ने आवश्यकता छ। समुदायस्तरमा स्थानीय सरकार, स्वास्थ्य स्वयंसेविका, विद्यालय र नागरिक समाजलाई परिचालन गरेर सचेतना अभियान सञ्चालन गरिनुपर्छ।

इबोला नियन्त्रणमा विश्व स्वास्थ्य संगठनले सुझाएका उपायहरू कन्ट्याक्ट ट्रेसिङ, सुरक्षित दाहसंस्कार, आइसोलेसन, द्रुत निदान र सामुदायिक सहभागितालाई अत्यन्त प्रभावकारी मानिएका छन्। नेपालले पनि विगतका कोभिड–१९ महामारीबाट केही पाठ सिकेको हुनुपर्छ। महामारी फैलिसकेपछि हतारमा निर्णय लिनुभन्दा समयमै तयारी गर्नु बुद्धिमानी हुन्छ। सीमित साधन र स्रोत हुँदाहुँदै पनि व्यवस्थापन चुस्त भएमा जोखिम न्यूनीकरण गर्न सकिन्छ।

स्वास्थ्य सुरक्षा केवल सरकारको जिम्मेवारी मात्र होइन, प्रत्येक नागरिकको साझा दायित्व पनि हो। महामारीविरुद्धको लडाइँमा सचेतना, अनुशासन र सहकार्य अत्यन्त महत्त्वपूर्ण हुन्छ। इबोलाजस्तो घातक रोगबाट जोगिन डर होइन, तयारी आवश्यक छ। त्यसैले सरकार, स्वास्थ्य संस्था, सञ्चार क्षेत्र र नागरिक सबैले आआफ्नो भूमिकालाई जिम्मेवार ढंगले निर्वाह गर्दै स्वास्थ्य सुरक्षामा सचेत बन्नु आजको अपरिहार्य आवश्यकता हो।  

प्रकाशित: १४ जेष्ठ २०८३ ०६:११ बिहीबार

Download Nagarik App