हामीले ‘महाभारत’को कथामा पढेका छौ-गान्धारीका सय पुत्र (कौरव) र एक पुत्री (दुशाला) को जन्मका लागि व्यास ऋषिले आशीर्वाद दिएका थिए । उनले नौ महिनाको सट्टा दुई वर्षसम्म गर्भधारण गरेपछि एउटा मांसपिण्ड मात्र जन्मियो । ब्यास ऋषिले त्यस मांसपिण्डलाई एक सय एक टुक्रामा विभाजन गरी घडामा राखे । त्यसमा घिऊ भरेर राखे । त्यसैबाट सय पुत्र र एक पुत्रीको जन्म भएको थियो ।
करिब ३ हजारदेखि ६ हजार वर्ष भएको घटनाका रुपमा विश्वास गरिने त्यो महाभारतकालीन समयबाट आऔं अहिलेको संसारतर्फ । गत साता अमेरिकाको ओहायो राज्यका एक जोडीलाई ३० वर्षदेखि फ्रिजमा सुरक्षित एउटा भ्रुणबाट शिशुको जन्म भएको छ । यसलाई संसारकै ‘सबैभन्दा जेठो’ शिशुका रुपमा चित्रण गरिएको छ । वैज्ञानिक उपलब्धिका हिसाबले महाभारतकालीन कथाजस्तो भए पनि यो वर्तमान समयमा विज्ञान र प्रविधिले हासिल गरिरहेको उपलब्धि हो । मानवले जीवनका बहुआयामिक पक्षमा सम्भावनाको खोजी गरेको छ । यससँगै मानव सन्तानोत्पादको भविष्य र यसमा जोडिएका नैतिक सवाल पनि सार्वजनिक भइरहेका छन् ।
सात वर्षसम्म सन्तान जन्माउने प्रयास गरेर थालेका ३५ वर्षीया लिन्ड्से र ३४ वर्षीया टिम पियर्सले गत शनिबार छोरा थाडियस ड्यानियल पियर्सको जन्मको घोषणा गरेका थिए । सन् १९९४ देखि प्रयोगशालामा सुरक्षित अन्य कसैको भ्रुणलाई गर्भमा राखेर लिन्ड्सेले यी शिशुलाई जन्म दिएकी थिइन् । हाल ६२ वर्ष पुगेकी लिन्डा आर्चड र उनका तत्कालीन पतिले आइभीएफ प्रविधिमार्फत त्यो भ्रुण बनेको थियो । अर्थात् बालकका जैविक र अनुवासिक मातापिता आर्चड र उनका पति हुन् । यी दुई जोडी आपसी सम्बन्धबाट मुक्त भइसकेका छन्, तर तिनको निशानीले भने अहिले शिशुका रुपमा जन्मिने मौका पाएको हो ।
आइभीएफ प्रविधिमार्फत त्यतिबेला ती जोडीबाट चार भ्रुण बनेकोमा एकबाट त्यतिनै बेला छोरी जन्मेकी थिइन् । उनी अहिले ३० वर्षका छिन् । बाँकी रहेका तीन भ्रुणलाई फ्रिजमा सुरक्षित भण्डारण गरेर राखिएको थियो । आर्चडले हजारौँ डलर खर्च गरेर प्रयोगशालामा ती भ्रुणलाई सुरक्षित राखेकी थिइन् । यो क्रममा उनी स्नोफ्लेक्स नामक कार्यक्रम संचालन गरिरहेको क्रिश्चियन एडप्सन नामक संस्थाको सम्पर्कमा आएकी थिइन् । सोही संस्थामार्फत टेनेसीमा रहेको रिज्वाइस फर्टिलिटी नाम गरेको आइभिएफ क्लिनिकमा उक्त भ्रुणलाई लिन्ड्सेको गर्भाशयमा राखिएको थियो र समय पुगेपछि बालक ड्यानियलको जन्म भएको थियो ।
यो वैज्ञानिक उपलब्धिले आफैमा विश्व कीर्तिमान राखेको छ । यसलाई लिएर लिएर विभिन्न तर्क र समीक्षा हुन थालेका छन् । यसको पक्ष र विपक्षमा अभिमत आएका छन् । हुन पनि, यो घट्नालाई वैज्ञानिक, सामाजिक, नैतिक तथा दार्शनिक कोणबाट फरक फरक हिसाबले हेर्न सकिन्छ ।
वैज्ञानिक र चिकित्सकीय दृष्टिकोणले दशकौंसम्म भ्रुण सुरक्षित राखेर पनि सफल र स्वस्थ बच्चा जन्माउन सकिन्छ भन्ने प्रमाण यो घट्नाले पुष्टि गरेको छ । यसैगरी, यसले प्रजनन प्रविधिमा नयाँ सम्भावनाको ढोका पनि खोलिदिएको छ । सन्तान नभएका दम्पती, क्यान्सर पीडित, ढिलो सन्तान चाहनेका लागि यो प्रविधि उपयोगी बन्न सक्छ । यो उपलब्धिले दुर्लभ जातका जनावर तथा मानिसको समेत वंशाणु सुरक्षित राख्न सकिने भएको वैज्ञानिक तर्क छ । आफ्नो युवावस्थामा भ्रुण सुरक्षित गरेर दशकौंपछि सन्तान जन्माउन सकिने भएकाले आमाबुबा कहिले बन्ने भनेर निर्णय गर्न सक्ने भएकाले अव उमेरको परिभाषा समेत फेरिन सक्ने देखिएको छ । गत साता जन्मिएका ड्यानियलकी अहिले ३० बर्षकी दिदी छिन् । यसले पुस्तान्तरको चुनौती र पारिवारिक सम्बन्धमा समेत नयाँ सोच आउन सक्ने देखिएको छ । यसबाहेक, यो घट्नाका नैतिक र दार्शनिक प्रश्न समेत उब्जाएको छ ।
उमेरको अर्थ के हो ? ३० वर्ष पुरानो भ्रुणबाट नयाँ जीवन सुरु हुन्छ भने जीवन कहिले सुरु हुन्छ भन्ने प्रश्न उठ्छ । सँगसँगै यति धेरै पुराना भ्रुणको विषयमा निर्णय कसले गर्ने? दाता जीवित छैनन् भने भ्रुण प्रयोग गर्नु के नैतिक हुन्छ? जस्ता प्रश्न ज्वलन्त बनेका छन् । अब मानिसहरूले जीवनलाई वर्षौंको लागि रोक्न र फेरि सुरु गर्न सक्ने देखिएको छ —यसलाई प्रकृतिको समयको नियममै हस्तक्षेप भएको भनेर चिन्ता पनि थपिएको छ । यसैगरी, यो प्रविधि स्वभाविक हिसाबले महँगो भएकाले धनी र गरिबबिचको खाडल अझ गहिरो बनाउन सक्छ । प्रजनन उपचारको हिसाबले आइभिएफलाई महत्वपुर्ण प्रविधि मानिन्छ । सन् १९७८मा पहिलो टेस्ट ट्युब बच्चा लुइस ब्राउनको जन्म हुँदादेखि यो प्रविधिका विषयमा फरक फरक मत रहँदै आएको छ ।
यो समग्र पृष्ठभूमिमा, सबैका लागि पितृत्व–मातृत्वको सम्भावना बोकेको यो प्रविधिको सही र नैतिक प्रयोगमा सबैको ध्यान जानु पर्छ । त्यसो गर्न नसकेमा अथवा यसको गलत प्रयोग भएमा डिजाइनर बेबी वा भ्रुण व्यापार को डर बढ्ने चिन्ता रहन्छ । वैज्ञानिक क्रान्तिको प्रतीकको रुपमा रहेको यो घटना रेकर्डको हिसाबले पहिलो भएपनि अन्तिम होइन । अव यस प्रकारका घटनाक्रम बढ्ने निश्चित छ । त्यसैले आशा र सम्भावना बोकेको यो विषयलाई व्याख्या गर्न र व्यवस्थित तुल्याउन पनि गहिरो नैतिक सोच र जिम्मेवारी आवश्यक देखिएको छ । हामीले हिजो जेजस्ता पौराणिक कहानी सुन्थ्यौं, त्यो यथार्थ भएको छ । विज्ञान कथाजस्तो यो समय आफैंमा रोचक छैन त ?
प्रकाशित: १९ श्रावण २०८२ ०६:०५ सोमबार

