राष्ट्रको भविष्य आजका बालबालिकामा निहित हुन्छ भन्ने कुरा हामी बारम्बार दोहोर्याउँछौं तर यही भविष्यलाई संरक्षण गर्ने जिम्मेवारी बोकेका परिवार, विद्यालय, समुदाय र राज्य संयन्त्रकै आँखाअगाडि बालबालिका कुलतको दलदलमा फसिरहेका छन्। उनीहरू केवल एउटा खराब बानीको सिकार भइरहेका छैनन्, आफ्नो स्वास्थ्य, शिक्षा, आत्मविश्वास, पारिवारिक सम्बन्ध र भविष्यको सम्भावनालाई समेत जोखिममा पारिरहेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ‘ग्लोबल युथ टोबाको सर्वेक्षण–२०२५’ ले सार्वजनिक गरेको तथ्यांकले यही गम्भीर यथार्थ उजागर गरेको छ । कक्षा ७ देखि १० सम्म अध्ययनरत १३ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीमध्ये १८ प्रतिशत सुर्तीजन्य पदार्थको लतमा परेको तथ्य केवल एउटा संख्या होइन, यो हाम्रो समाजको चेतनामा बजेको खतराको घन्टी हो।
अझ चिन्ताजनक पक्ष के छ भने कुलतको स्वरूप बदलिएको छ। परम्परागत चुरोट र बिँडीको प्रयोग केही घटे पनि सिसा, हुक्का, भेप तथा ई–सिगरेटजस्ता नयाँ स्वरूपका सुर्तीजन्य पदार्थको प्रयोग तीव्र रूपमा बढेको छ। आधुनिकता, आकर्षक प्याकेजिङ, मिठो स्वाद र कम हानिकारक भन्ने भ्रमपूर्ण प्रचारका कारण किशोरकिशोरीहरू यसतर्फ आकर्षित भइरहेका छन्। धेरै अभिभावकले आफ्ना छोराछोरी चुरोट नखाने भएकाले सुरक्षित छन् भन्ने ठानिरहेका हुन सक्छन् तर वास्तविकता त्यसभन्दा धेरै भयावह छ। अहिलेको कुलत धुवाँको गन्धले मात्र चिन्न सकिने अवस्थामा छैन, यो मोबाइलको पर्दा, सामाजिक सञ्जालको विज्ञापन, साथीहरूको प्रभाव र उत्सुकताको आवरणमा लुकेर बालमस्तिष्कमा प्रवेश गरिरहेको छ।
एउटा बालक, जसको हातमा पुस्तक, खेलौना वा सिर्जनात्मक गतिविधि हुनुपथ्र्यो, उसले सुर्तीजन्य पदार्थको स्वाद चाखिरहेको छ भने त्यसलाई केवल व्यक्तिगत कमजोरी भनेर टार्न सकिँदैन । यो परिवार, विद्यालय, समाज र राज्यकै सामूहिक असफलता हो।
कुलतको सुरुआत प्रायः जिज्ञासाबाट हुन्छ तर त्यसको अन्त्य प्रायः निर्भरता, रोग र पछुतोमा हुन्छ । बालबालिकाले आफूभन्दा ठुला व्यक्तिको व्यवहारबाट सिकिरहेका छन् । घरमा बुबा, दाजु वा अन्य सदस्यले सुर्तीजन्य पदार्थ सेवन गरिरहेका छन् भने बालबालिकाको मनमा त्यो व्यवहार सामान्य र स्वीकार्य लाग्न सक्छ । साथीभाइको समूहमा ‘एकपटक मात्र प्रयास गर’ भन्ने दबाबले पनि उनीहरूलाई कुलतको बाटोमा धकेल्न सक्छ।
सुर्तीजन्य पदार्थको असर केवल फोक्सो वा मुटुसम्म सीमित छैन। कुलतमा फसेका बालबालिकाको पढाइ कमजोर हुन सक्छ । उनीहरूको आत्मअनुशासन खस्किन सक्छ, खेलकुद तथा सिर्जनात्मक गतिविधिप्रतिको रुचि घट्न सक्छ। उनीहरूमा तनाव, चिन्ता, चिडचिडापन र सामाजिक दुरी बढ्न सक्छ। धेरै अवस्थामा कुलतले आर्थिक बोझसमेत सिर्जना गर्छ। आफ्नो खाजा खर्च बचाएर वा अरूसँग पैसा मागेर सुर्तीजन्य पदार्थ किन्ने बानीले चोरी, झुट बोल्ने प्रवृत्ति र अन्य असामाजिक व्यवहारलाई समेत जन्म दिन सक्छ। त्यसैले कुलतलाई केवल स्वास्थ्य समस्या मान्नु पर्याप्त छैन, यो सामाजिक, शैक्षिक, आर्थिक र नैतिक चुनौती पनि हो।
यस अवस्थाबाट बाहिर निस्कन केवल सरकारी अभियान पर्याप्त हुँदैन। परिवार पहिलो र सबैभन्दा प्रभावकारी विद्यालय हो । अभिभावकले आफ्नै व्यवहारमार्फत उदाहरण प्रस्तुत गर्नुपर्छ । घरभित्र धूमपान वा सुर्तीजन्य पदार्थ सेवनलाई सामान्य व्यवहारका रूपमा स्वीकार गर्ने संस्कृतिको अन्त्य गर्नुपर्छ। बालबालिकासँग खुला संवाद गर्ने, उनीहरूको साथीको घेरा बुझ्ने, डिजिटल गतिविधिमा सकारात्मक निगरानी राख्ने र भावनात्मक समर्थन प्रदान गर्ने जिम्मेवारी परिवारको हो।
विद्यालयले पनि केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नरही जीवनोपयोगी शिक्षा दिनुपर्छ। कुलतका जोखिम, मानसिक स्वास्थ्य, आत्मविश्वास विकास र निर्णय क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम नियमित सञ्चालन गर्नुपर्छ । विद्यार्थीलाई डर देखाएर मात्र होइन, तथ्य, संवेदना र प्रेरणामार्फत सचेत बनाइनुपर्छ। खेलकुद, कला, साहित्य र सिर्जनात्मक गतिविधिमा सहभागिता बढाएर उनीहरूको ऊर्जा सकारात्मक दिशामा प्रवाहित गर्न सकिन्छ।
राज्यको भूमिका सबैभन्दा निर्णायक छ । सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुन कडाइका साथ लागु गरिनुपर्छ । विद्यालय वरपर बिक्रीमा पूर्ण रोक, नयाँ स्वरूपका सुर्तीजन्य पदार्थको उत्पादन तथा वितरणमाथि कडा नियमन, सामाजिक सञ्जालमार्फत हुने भ्रामक प्रचार नियन्त्रण तथा बालबालिकालाई लक्षित बजार रणनीतिमाथि निगरानी अपरिहार्य छ । कानुन उल्लंघन गर्ने व्यापारी र कम्पनीमाथि कडा कारबाही हुनुपर्छ । जनचेतनामूलक अभियानलाई पनि परम्परागत नारामा सीमित नराखी डिजिटल माध्यम र युवापुस्ताको भाषामा प्रभावकारी बनाउन आवश्यक छ।
बालबालिका राष्ट्रको अमूल्य सम्पत्ति हुन् । उनीहरूलाई कुलतबाट जोगाउनु केवल स्वास्थ्यको सवाल होइन, राष्ट्र निर्माणको आधारभूत दायित्व हो । आज हामीले उनीहरूलाई सुरक्षित वातावरण, सही मार्गदर्शन र बलियो संरक्षण दिन सकेनौं भने भोलि कुलतले खोसेको सम्भावनाको मूल्य सम्पूर्ण समाजले चुकाउनुपर्नेछ। त्यसैले अब चेतना, प्रतिबद्धता र कार्यान्वयन तीनै तहमा एकसाथ अघि बढ्ने समय आएको छ । बालबालिकालाई कुलतबाट बचाउनु भविष्यलाई बचाउनु हो र भविष्य बचाउने जिम्मेवारीबाट कोही पनि पन्छिन मिल्दैन।
प्रकाशित: २० जेष्ठ २०८३ ०५:५६ बुधबार

