८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

विदेशी स्याउ कि स्वदेशी नास्पाती?

मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर हुन नदिने अवरोध हाम्रा आफ्नै व्यवहार हुन्। मिठोमसिनोका नाममा विदेशबाट चामल ल्याएर खाने प्रवृत्ति आफैँमा चिन्ताको विषय बनेको छ। एकातिर हाम्रा ऊर्वर भूमि बञ्जर बन्दैछन् भने अर्कातिर महँगो विदेशी मुद्रा खर्च गरी कृषिजन्य वस्तु आयात गर्न हामीलाई अप्ठ्यारो लागेको छैन। ‘ऋण काढेर पनि घिउ खानुपर्छ’ भन्ने शैलीमा हाम्रो अर्थतन्त्र अगाडि बढिरहेको देखिन्छ। कपाल दुखाउने तातो घाममा काम गरेर देशभित्र रेमिटान्स पठाउने छोराछोरीको दुःखको कल्पना यहाँ धेरै गरिएको छैन। देशभित्रै रोजगारी छैन। तिनले बाध्य भएर विदेश जानुपरेको छ। यसरी कमाएर पठाएको रकममध्ये धेरै उपभोगमै खर्च हुन्छ।  

कृषिप्रधान मुलुकले बर्सेनि चामल मात्रै साढे ४७ अर्ब रुपियाँको आयात गर्नुको दोष सर्वसाधारणको मिठोमसिनो खाने बानीलाई मात्र दिन सकिन्न। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ताले यत्रो धेरै आयात हुनुमा मिठोमसिनो खाने बानीलाई कारण बताएका छन्। तर यो मिठोमसिनो खाने बानीसँग मात्र सरोकार राख्ने पक्ष होइन। एक, देशभित्रै कृषिलाई प्रोत्साहन गर्न सरकार आफैँ असफल भएको छ। दुई, देशभित्रै रोजगारी सिर्जना गर्न र कृषि पेसालाई सम्मानित बनाउनतिर पनि ध्यान पुगेको छैन। तीन, जेसुकै वस्तु पनि आयात गरेर भन्सार राजस्व वृद्धि गरी त्यसैका आधारमा देश चलाउनुपर्छ भन्ने सोच पनि यसमा उत्तिकै जिम्मेवार छ।  

खासमा हाम्रोजस्तो मुलुकले यहाँ उत्पादन नहुने वस्तु मात्र आयात गर्ने हो। त्यसमा पनि अत्यावश्यक वस्तु मात्र आयात गर्नुपर्छ। हामीकहाँ भएका चामल नमिठो भएर बाहिरबाट ल्याउनुपरेको होइन। कसैलाई विदेशी चामल नखाइ नहुने छ भने त्यसलाई अत्यधिक भन्सार लगाएर मुलुकलाई आम्दानी र तिनलाई निरुत्साहित गर्न सकिन्छ। अन्यथा, हाम्रो मुलुकमै उत्पादन हुने धानका विभिन्न प्रकार आफैँमा स्वादिला छन्। त्यसैले मिठोमसिनो खाने बानीले आयात भएको भन्ने तर्कमा विश्वस्त हुन सकिँदैन। बरु हामीकहाँ किसानलाई सबैभन्दा बढी समस्यामा पारिएको छ। तिनलाई प्रोत्साहित नगरेसम्म खेती किसानी पेसा अगाडि बढ्न सक्दैन।

सरकारले कृषिमा आत्मनिर्भर बनाउन भनेर बर्सेनि बजेट पनि ल्याउँछ। अझ किसानलाई प्रोत्साहित गर्ने भनेर अनुदानको व्यवस्था पनि गरिएको हुन्छ। तर त्यस्तो अनुदान पाउने व्यवस्था पारदर्शी छैन। पहुँच भएका व्यक्तिहरूले मात्र यसबाट लाभ उठाउन सक्छन्। स–सानो लगानी गरेर पनि कृषि पेसा गर्ने र त्यसलाई बिक्री गर्न सक्ने गरी योजना बनाउन र कार्यान्वयन गर्न सकिन्छ। यसरी उत्पादन भएको उपजका निम्ति बजारसम्मको पहुँच मिलाउने काम पनि गर्न सकिन्छ। आजकल अग्र्यानिक तरकारी, फलफूल र खानाको निकै ठूलो माग छ। ठुल्ठूला सहरमा बस्ने र तुलनात्मकरूपमा राम्रो आर्थिक अवस्था भएका व्यक्तिसम्म गुणस्तरीय वस्तु पुग्ने हो भने मूल्य तिनका निम्ति ठूलो कुरा होइन। किसानले यसबाट सजिलै फाइदा उठाउन सक्छन्।  

हामीकहाँ किसानलाई सिधै बजारमा पहुँच नदिई बिचौलियाको भर पर्नुपर्ने अवस्था सिर्जना गरिएको छ। कालीमाटी तरकारी बजारमा स्थानीय किसानले आफ्ना उत्पादन बिक्री गर्न खोजे भने पनि सक्दैनन्। अझ आयातित तरकारी र फलफूलका निम्ति तिनले रातो कार्पेट ओछ्याउने गरेका छन्। मुलुकका नीति निर्मातादेखि बजारसम्म विदेशी उत्पादनकै उत्पादकको पहुँचमा छन्। त्यही भएर यहाँका किसान लाभान्वित हुन नसकेका हुन्। आफ्नो लगानीसमेत नउठ्ने भएपछि पेसाबाटै पलायन हुनुको विकल्प छैन। त्यसैगरी कृषिका निम्ति यथोचित मल, जल र थलको व्यवस्था गर्न सकिएको छैन।

इजरायलले कृषि क्षेत्रमा क्रान्ति गरिरहेको छ। थोरै जमिनमा पनि कम मल र जलका भरमा उत्पादन बढाउन सक्ने प्रविधि उपयोग गरिरहेको छ। नेपालका झण्डै तीन हजार किसानले इजरायलमा गएर तालिम पनि लिएका छन्। त्यसमध्ये एक हजार जना जति कुनै न कुनै रूपमा कृषि उत्पादनमा जोडिएका छन्। इजरायलको प्रविधि उपयोग गरेर भारतले समेत कृषि उत्पादनमा व्यापक विस्तार गरिरहेको छ। नेपालले इजरायलसँग संवाद गरी बढी भन्दा बढी किसानलाई तालिम दिएर उत्पादन बढाउन सक्छ। तिनका उत्पादन यहीँ सजिलै बिक्री हुने अवस्था भयो भने विदेश जानुपर्ने अवस्था पनि हुँदैन। तिनको आर्थिक अवस्था पनि सजिलै सुध्रन्छ। कृषि पेसामा लागेर आफ्नो जीवन सुधार गरेका नमुना किसान यहाँ धेरै छन्। तिनको अनुभवलाई पनि आमनागरिकसम्म पुर्‍याएर कृषिलाई विस्तार गर्न सकिन्छ।  

हामीकहाँ उद्योगधन्दाको विकास हुने अवस्था देखिएन। सेवा विस्तारको क्षेत्रमा पनि काम हुन सकेन। बरु परम्परागतरूपमा हुँदै आएको कृषिलाई मात्र आधुनिकीकरण गर्ने हो भने अनाहकमा आयात बढाएर व्यापार घाटामा मुलुकलाई लैजानु पर्दैन। देशको निम्ति नभइनहुने भनेको पेट्रोलियम पदार्थ मात्र हो। त्यसको खपत पनि क्रमशः कम गर्दै लैजान सकिन्छ। विद्युतीय सवारी साधनको प्रयोग बढाएर तेलमाथिको निर्भरता घटाउन सकिन्छ। सरकारले त्यतातिर ध्यान दिन सकेको छैन। देशको आन्तरिक आवश्यकता मात्र पूरा गर्न मात्रै पनि कृषिले सक्ने हो भने धेरै ठूलो रकम बाहिरिनबाट जोगिन्छ। हामीले विदेशीको तरकारी र फलफूल किनिदिने अवस्थामा सुधार गर्दै हाम्रा उत्पादन पनि त्यता जाने अवस्था सिर्जना गर्नु आवश्यक छ।  

हामीकहाँ आफैँ उत्पादन गर्न सकिने वस्तुसमेत आयात गर्ने चलन छ। यसो गरेर भन्सार राजस्व बढाउन त सकिन्छ तर देशभित्रै उत्पादशीलता र रोजगारी सिर्जना गर्न सकिँदैन। दाँतदेखि कान कोट्याउने सिन्का हुँदै एअरबडसम्म आयात गर्ने गरिएको छ। देशभित्रै सजिलै स्थानीय सामग्रीबाट उत्पादन हुने वस्तुलाई समेत उपयोग नगरी आयातमै जोड दिनु भनेको नालायकीपन हो। नेपाली पाखापखेरा र फाँटमै फल्ने मकै, गहुँ, आलु, प्याज, तेलहन, स्याउ, केरा, सुन्तला, कागती र माछामासुका निम्ति विदेशको मुख ताक्नै पर्दैन। देशभित्रै उद्यमशीलता बढाएर देशको अर्बौँ जोगाउन सकिन्छ। यतातिर सोचिदिने को होला? विदेशी स्याउ भन्दा स्वदेशी नास्पाती खाएर अर्थतन्त्रलाई मजबुत बनाऔँ।

प्रकाशित: १ भाद्र २०७९ ००:२९ बुधबार

Download Nagarik App
Download Nagarik App