२६ वैशाख २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

कोरोनामुक्त सन् २०२२

छिमेकी भारतमा कोरोना भाइरसको ओमिक्रोन प्रजातिको तीव्र फैलावटले फेरि चिन्ता बढाएको छ। यही गतिमा कोरोनाको नयाँ प्रजाति विस्तार हुँदै जाँदा अर्को लहर आउने निश्चित छ। यसले त्यहाँ विशेषज्ञहरूलाई चिन्तित तुल्याएको छ।

त्यसैअनुसार सरकारले पनि आवश्यक तयारी थालेको छ। कोरोना भाइरस टाढा कुनै देशमा फैलिँदासमेत चिन्तित हुनुपर्ने अवस्था छ। भारतमा हुने यसको फैलावटले भने हामीलाई बढ्ता असर गर्छ। नेपालमा कोरोनाको पहिलो र दोस्रो लहर भारतमा फैलिएलगत्तै देखिएको हो। कोभिड–१९ संक्रमणका हिसाबले पनि ‘दिल्ली दूर’ छैन। अतः त्यहाँको सरकारसँग आवश्यक समन्वय मिलाएर नेपालले पनि आफ्नो रणनीतिक तयारी गरिहाल्नु उचित हुन्छ।

भारतको दिल्लीका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले बिहीबार कोरोनाको ओमिक्रोन प्रजाति समुदायमा फैलिसकेको टिप्पणी गरेका छन्। दिल्लीमा मात्र १ सय १५ नमुनामध्ये ४६ मा नयाँ प्रजातिको कोरोना भाइरस देखापरेको हो। भारतमा यसलाई कोरोना भाइरसको तेस्रो लहरका रूपमा चित्रण गरिएको छ। दिल्लीमा मात्र बिहीबारसम्ममा ओमिक्रोनका ९ सय ६१ संक्रमित देखिएका छन्। त्यसैगरी महाराष्ट्रमा यो संख्या २ सय ५२ पुगेको छ।

नेपाल खुला सीमाले भारतसँग जोडिएका कारण यस किसिमको संक्रमण चिन्ताको विषय हो। यसको प्रभाव यहाँ सजिलै पर्न सक्छ। नेपालमा अहिलेसम्म ओमिक्रोनका तीन संक्रमित फेला परेका छन्। यसको समुदायस्तरमा कस्तो प्रभाव परेको छ भन्ने अझै प्रष्ट छैन।

हामीकहाँ कोरोना संक्रमण व्यवस्थापनमा धेरै हेल्चेक्र्याइँ देखिएको छ। पहिलो र दोस्रो लहरबाट खासै धेरै नसिकेका कारण नयाँ संक्रमण फैलियो भने सर्वसाधारणलाई निकै कठिन हुने देखिन्छ। हामीसँग उपलब्ध सुविधाले मात्र पुग्ने छैन। खासगरी हामीकहाँ व्यवस्थापकीय समस्या देखिएको छ।

खोप लगाउन सुरु भएकै एक वर्ष हुँदा पनि नेपालले भने अहिलेसम्म करिब ३ करोड जनसंख्याको करिब ३३ प्रतिशतलाई मात्र खोप लगाउन सक्षम भएको छ। दुनियाँका अन्य मुलुकले आफ्ना नागरिकलाई थप सुरक्षाका निम्ति ‘बुस्टर डोज’ दिन थाल्दा पनि यहाँ भने त्यसका बारेमा अझै अलमल छ।

सबै जनसंख्यालाई खोपको मात्रा पूरा नहुँदा अतिरिक्त सेवाबारे ध्यान नदिइएको हो। एकथरीले पहिलो मात्रा पनि खोप लगाएका छैनन्। अर्काथरीले दुई मात्रा लगाएर पनि समय गुज्रिसकेको छ। तिनलाई सुरक्षित राख्ने हो हो बुस्टर डोजको व्यवस्था पनि गर्नुपर्छ।

निःसन्देह खोपमा अन्तर्राष्ट्रिय राजनीति जोडिएको छ। धनी मुलुकले आफ्ना नागरिकका निम्ति खोपको व्यवस्था गरेका छन्। उनीहरूले अन्य मुलुकलाई दिने भनिएको खोपको प्रतिबद्धतासमेत पूरा गरेनन्। आफूले थुपारेको खोपको म्याद गुज्रिने देखेपछि मात्र उनीहरूले खोप दिनेबारे विचार गरेका छन्। वास्तवमा धनी मुलुकहरूको स्वार्थ यसपटक पनि राम्रैसँग उजागर भएको छ।

यस्तो स्थितिमा हाम्रा जस्ता मुलुकले खोपका निम्ति बेलैमा ध्यान दिन सक्नुपथ्र्यो। त्यसका निम्ति रणनीति बनाउन नसकिने थिएन। हाम्रो जनसंख्या भारत वा चीनको जस्तो ठूलो छैन। भारतसँग खोपका निम्ति कूटनीतिक पहल हुन सकेन। खुला सीमा रहेका कारण पनि नेपालले भारतबाट खोप पाउनका निम्ति त्यहाँको सरकारसँग आवश्यक पहल गर्न नसकिने थिएन।

कोरोना महामारीका सन्दर्भमा हाम्रो स्वास्थ्य संयन्त्र अल्मलिएको देखिएको छ। मुलुकको स्वास्थ्य प्रशासनलाई चुस्त राख्न यसको नेतृत्वमा प्रभावकारी व्यक्तिहरू पुग्नुपर्ने देखिन्छ। स्वास्थ्य मन्त्रालयको नेतृत्व नै यसबीच पटक–पटक फेरिएको छ।

त्यो नेतृत्वलाई बढ्ता जिम्मेवार बनाएर जान सकेको देखिएको छैन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारले पनि कोरोना संक्रमणलाई ध्यानमा राखेर आवश्यक तयारी गर्नुपर्ने हो।

अहिलेको अवस्थामा योबाहेक अन्य विषय प्राथमिकतामा पर्न सक्दैन। आमनागरिकको जीवन बाँच्यो भनेमात्र बाँकी काम हुने हो। कोरोना व्यवस्थापनका सन्दर्भमा विश्वले निकै अनुभव लिइसकेको छ। सन् २०२० को सुरुआती दिनमा जुन तहको आतंक थियो, त्यो बाँकी छैन। तर अहिले आएर सन् २०२२ को नयाँ वर्षको पूर्वसन्ध्यामा समेत हामी उही अनिश्चितताबाट घेरिएका छौँ।

खोप उत्पादक कम्पनीहरूले योबीच निरन्तर नाफा कमाएका छन्। खोपको विकास हुँदैछ भन्ने पहिल्यै थाहा नभएको होइन। नेपालले त्यहीबेला आवश्यक खोप मात्राको बन्दोबस्त गर्न सक्थ्यो। त्यसका निम्ति सम्बन्धित कम्पनीलाई पहिल्यै भुक्तानी पठाएर वा खोपको धेरै मात्रा जम्मा गरिरहेका देशका सरकारसँग पनि यसमा सहयोग लिन सकिने थियो।

सुरुका दिनमा यसको व्यवस्था गर्न नसके पनि अहिले आएर खोपको उत्पादन बढेको छ। धनी देशहरूले आफ्नो व्यवस्था गरिसकेका छन्। नेपालले पनि तत्काल सबै नागरिकलाई खोप लगाउने गरी युद्धस्तरमा तयारी गर्न नसक्ने थिएन। यसका निम्ति रणनीतिक तयारी भएन। अहिले मुलुकमै भएको खोप पनि सहज ढंगले लगाउने काम भएन।

अतः सरकारले ओमिक्रोन प्रजातिको तीव्र विस्तारलाई समेत ध्यानमा राखी आवश्यक रणनीति बनाउनु उचित हुन्छ। अर्को छिमेकी चीनले कोरोनालाई शून्य बनाउने गरी तयारी गरिरहेको छ। त्यो विधि हाम्रा निम्ति उपयोगी हुन्छ कि ? त्यसमा पनि अध्ययन गर्नु र आमनागरिकलाई जानकार बनाउनु सरकारको कर्तव्य हो। फेरि संक्रमण फैलिएपछि आतंकित हुनु भन्दा अहिल्यै आवश्यक तयारी गरौँ।

त्यसैले तत्काल सबै नागरिकलाई खोप, दुई मात्रा पूरा गरेकालाई थप मात्रा र नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण हुन नदिन आवश्यक व्यवस्थापन गर्नुपर्छ। यो कामका निम्ति हामीसँग समय धेरै छैन। बेलैमा ध्यान नपुर्‍याए पछुताउनु पर्ला। सन् २०२२ को पूर्वसन्ध्यामा यो वर्ष कोरोना मुक्त हुने गरी सरकारले काम गर्न सकोस्।

प्रकाशित: १६ पुस २०७८ ०२:३६ शुक्रबार

Download Nagarik App
Download Nagarik App