७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

ओमिक्रोनको अत्यास

संसारलाई आतंकित तुल्याउँदै आएको कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रोनले अन्ततः नेपाललाई पनि छाडेन। सकेसम्म यो विषाणुको नेपालमा प्रवेश गर्नुअघि नै आवश्यक प्रबन्ध गर्न सकियोस् भन्ने आग्रह गरिएको हो।

तर, जे नहोस् भनिएको त्यही भएको छ। ओमिक्रोनका दुई जना बिरामी फेला परेपछि स्वाभाविकरूपमा यसले सबैलाई चिन्तित तुल्याएको छ। एकातिर, कोरोना विषाणुको प्रजातिको संक्रमण दर यसअघिको डेल्टा भन्दा बढी छ। अर्कोतिर, यसले कतिसम्म असर पार्न सक्छ भन्ने अझै प्रष्ट भइसकेको छैन।

प्रश्न यसले असर पार्न सक्दैन भन्ने भन्दा पनि सकेसम्म यो लाग्दै/नलाग्ने गरी वातावरण बनाउनु उचित हुन्छ। रोग लागेर उपचार गराउनु भन्दा लाग्नै नदिने गरी सावधानी अपनाउनु बुद्धिमानी हुन्छ। यो परम्परागत सावधानीको तरिकालाई हामीले उपयोगमा ल्याउनुपर्छ।

हाम्रा निम्ति जाडो मौसम आफैँमा बढ्ता जोखिमयुक्त हुन्छ। चिसो मौसममा यहाँ वायु प्रदूषण बढ्छ। यो आफैँमा हाम्रा सर्वसाधारणको स्वास्थ्यका निम्ति जोखिमको विषय हो। त्यसमाथि कोरोनाको नयाँ प्रजाति पनि थपिएपछि जीवन थप कष्टकर हुने निश्चित छ।

हामीले पहिले पनि प्रदूषणबाट जोगिन मास्क प्रयोग गर्दै आएका छौंँ। त्यसैले कोरोना विषाणुको संक्रमण बढेपछि हामीले मास्क लगाउने हाम्रो पूर्वअभ्यासलाई यथावत् राखेका कारण पनि धनजनको क्षति सोचे भन्दा कम देखिएको छ।

बेलैमा ध्यान दिन सकेको भए डेल्टा प्रजातिले पनि हामीलाई धेरै नोक्सानी गर्न सक्ने थिएन। भारतमा यसको प्रकोप सुरु भएको केही सातापछि मात्र यहाँ प्रभाव देखिएको हो। त्यो अनुभवका आधारमा पनि पूर्वसावधानी अत्यन्त आवश्यक देखिएको हो।

कोरोना विषाणुको स्वरूप बदलिइरहेको छ। त्यसले थप चुनौती सिर्जना गरिरहेको छ। त्यसकारण यो चुनौतीबाट जोगिन सबै नागरिकलाई खोप लगाउन सक्नुपर्छ। हामीकहाँ अझै खोपले गति लिन सकेको छैन। हालसम्म करिब ३ करोड जनसंख्या भएको हाम्रो मुलुकका २९ प्रतिशतले मात्र यो खोप लगाउन पाएका छन्। खोपको गति सुस्त छ।

भएकै खोप पनि व्यवस्थापन गर्ने हो भने धेरै जनसंख्यालाई लगाउन सकिन्छ। एकथरीले दोस्रो खोप लगाएको पनि आठ महिना पुग्न लागिसकेको छ। संसारभरि अतिरिक्त खोप ‘बुस्टर डोज’ लगाउन थालिसकेका छन्। हामीले भने बुस्टर डोजको चर्चा पनि कमै गरिरहेका छौंँ। ठूलो जनसंख्याले अझै खोप नपाएको स्थितिमा बुस्टर डोज दिने कुरालाई महत्व नदिएको जस्तो देखिन्छ। वास्तवमा अगाडि खोप लगाइसकेका अग्रमोर्चामा रहेर काम गर्ने, दीर्घरोगी र ज्येष्ठ नागरिकका निम्ति खोपको सोच बनाउन ढिला भइसकेको छ।

ओमिक्रोनको प्रभाव अफ्रिकी मुलुकमा रहेको चर्चा भइरहेको हो। त्यसैअनुसार कैयन् देशले यसबाट जोगिन आवश्यक तयारी गरिसकेका हुन्। हामीकहाँ अफ्रिकाबाटै आएका ६६ वर्षीय नागरिक र उनको सम्पर्कमा रहेका ७१ वर्षीय व्यक्तिमा यसको संक्रमण देखिएको हो।

अफ्रिकी नागरिक हवाई नाकाबाटै नेपाल प्रवेश गरेका हुन्। ओमिक्रोनको खतरा जहाँबाट छ भन्ने थियो,त्यहींँबाट यहाँ पनि प्रभाव परेको छ। यसबाट अपेक्षित तयारी गर्न नसकेको देखिन्छ। आवश्यक सावधानीका उपाय अवलम्बन गरेको भए पक्कै पनि यो घटना हुने थिएन।

मानव गतिविधिसँगै संक्रमण हुन सक्ने भएकाले सकेसम्म सुरुमै रोक लाग्न सकेन भने देशभित्र यो व्यापक हुन्छ। त्यसैले यसअघिका घटनाक्रमहरूबाट सिक्दै संक्रमण कम गर्न भूमिका खेल्न सक्नुपर्छ। विश्वका ३५ देशमा फैलिएको यो प्रजातिको कोरोना ५ सय ७४ जनामा पुष्टि भइसकेको छ। यसको संक्रमणको गति तीव्र भएका कारण पनि चिन्तित हुनु आवश्यक छ।

अहिलेसम्म यसका बिरामीमा गम्भीर लक्षण नदेखिए पनि ज्येष्ठ नागरिक, दीर्घरोगी आदिलाई असर पार्न सक्ने भएकाले सजग हुनुपर्ने अवस्था छ। सर्ने दर बढी भएका कारण स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्नुपर्छ। कोरोनाका कारण यसअघि धेरै क्षति भइसकेको छ। सर्वसाधारणको जीविकामै संकट उत्पन्न गरेको छ। कैयन्ले आफ्नो व्यवसाय गुमाएका छन्।

कैयन्ले आम्दानीको स्रोत गुमाउँदा समस्यामा पर्नुपरेको छ। यसकारण फेरि ‘लकडाउन’ गरेर जनजीवनलाई ठप्प पार्नुपर्ने अवस्था आउँदा धान्न सकिँदैन। यस्तो उपाय बारम्बार अपनाउनु आफैंँमा कठिन हुन्छ। सुरुका दिनमा भाइरसको गतिबारे धेरै जानकारी थिएन।

खोप र उपचारको समेत व्यवस्था थिएन। अहिले यसको उपचारलगायत विषयमा विश्व जानकार भइसकेको छ। यसको उपचारका निम्ति सबैजसो मुलुकले तयारी गरेका छन्। सबै भन्दा ठूलो उपलब्धि खोपको व्यवस्था हो।

अतः खोपलाई आमजनजीवनसम्म पुर्‍याउन सरकारको तीव्र गति आवश्यक हुन्छ। यसो भएमा गम्भीर बिरामी हुनबाट नागरिकलाई जोगाउन सकिन्छ। जनजीवनलाई सहज ढंगले अगाडि बढाउन पनि सरकारको प्राथमिकता हुनुपर्छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सरकारको नेतृत्व लिने बेलामा भनेका थिए– खोप, खोप र खोप।

प्रधानमन्त्रीको यो तत्परतालाई उनी मातहतका निकायले कार्यान्वयन गर्न सक्नुपर्छ। ओमिक्रोनको त्रासबाट फेरि अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्छ। अतः यसको प्रभावबाट मुलुकलाई मुक्त गर्ने गरी आवश्यक तयारी गर्नुपर्छ। अहिले स्वाभाविकरूपमा कोरोनाको प्रभाव मुलुकमा कम भएको छ। 

यो स्थितिले आमनागरिकलाई उत्साहसाथ अगाडि बढ्न मद्दत पुगेको छ। बितेका दुई वर्षको कठिनाइ फेरि जीवनमा नआउने अवस्थाका निम्ति सरकार र नागरिक दुवैका सजगता आवश्यक छ। सरकारले खोप आदिको व्यवस्था गर्ने र नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्ने समझदारी हुनुपर्छ।

प्रकाशित: २२ मंसिर २०७८ ०२:१४ बुधबार

Download Nagarik App
Download Nagarik App