७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

निरन्तर निगरानी

कोभिड–१९ महामारीका कारण बितेका दुई वर्ष व्यर्थ गएका छन्। उन्मुक्त भएर हिँड्न र काम गर्न पाउनुपर्ने मानव जीवनका निम्ति यी दुई वर्ष बिर्सन सकिँदैन।

कोरोना विषाणुका कारण भएको योबीचको जनधनको क्षति अकल्पनीय छ। अर्थतन्त्र धराशायी भएका छन्। प्रत्येक व्यक्तिको आर्थिक र सामाजिक जीवनमा मात्र प्रभाव पारेको होइन,मानसिक अवस्था पनि उस्तै छ। आँखाले देख्न नसकिने विषाणुले पारेको असर भने सजिलै देखिएको छ।

सन् २०२० को स्वागत गर्ने बेलामा सुरु भएको यो महामारी सन् २०२१ को अन्तिमतिर आइपुग्दा पनि त्रास यथावत् छ। यसको प्रकृति र गर्न सक्ने क्षतिबारे अहिले केही आकलन गर्न सक्ने अवस्थामा मानव समुदाय पुगेको छ। त्यही भएर कोरोनासँगै आफ्ना गतिविधि अगाडि बढाउने स्थितिमा सबैजसो मुलुक पुगेका छन्।

कोरोना अझै लामो समय आममानिससँगै रहने भएकाले आफ्ना आनीबानीमा परिवर्तन गर्नु आवश्यक भएको छ। महामारी सुरु भएपछि लागु भएका स्वास्थ्य मापदण्डको पालना अपरिहार्य भएको छ। त्यसले मात्र महामारी रोक्न सक्छ। अन्यथा यसको विस्तार भइरहन्छ। कोरोना विषाणुले आफ्नो स्वरूप परिवर्तन गरिरहेका कारण पनि यस्तो भएको हो।

हामी दुईवटा बन्दाबन्दी भोगिसकेका व्यक्तिका निम्ति फेरि यसको नयाँ स्वरूप ‘ओमिक्रोन’ को त्रासदी  फैलिन थालेको छ। विशेषगरी अफ्रिकी मुलुकमा यसको प्रभाव परिसकेको छ। अहिलेको विश्वव्यापीकरणको युगमा संक्रामक रोगको विस्तार पनि त्यही गतिमा भइरहेको छ। सूचना र प्रविधिले विश्व समुदायलाई जसरी एउटै गाउँका बासिन्दा जस्तो बनाएको छ, संक्रामक रोगका हिसाबले पनि यो एकै गाउँ र परिवारको जस्तो स्थिति छ।

हामीकहाँ कोरोना संक्रमण जुन गतिमा अगाडि बढ्यो र जनधनको क्षति गरायो, त्यसका आधारमा पनि फेरि सुरु हुन लागेको अर्को संक्रमणप्रति सजग हुनुपर्ने देखिन्छ। अहिले फैलिन थालेको ओमिक्रोन कोरोना विषाणुको बढी संक्रामक स्वरूप रहेको जानकारी विशेषज्ञहरूले दिइसकेका छन्।

कोरोना विषाणुको यो प्रजातिलाई अत्यन्त्र खतरनाक मानिएको छ। बि.१.१.५२९ का नामले चिनिने कोरोना विषाणु प्रजाति दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको जानकारी बुधबार सार्वजनिक भएको हो। आइतबारसम्ममा यसको प्रभाव अफ्रिकाका ९ मुलुकमा परिसकेको छ।

अन्य देशमा पनि यसको संक्रमण देखिन थालिसकेको छ। यसकारण कैयन् देशले अहिले आफ्नो हवाई सम्पर्क अफ्रिकी मुलुकसँग टुटाइसकेका छन्। नेपालले पनि दक्षिण अफ्रिकी मुलुकबाट नागरिकलाई नेपालमा प्रवेश गर्न रोक लगाइसकेको छ।

यो विषाणुको संक्रमण रोक्ने उपाय भनेको अहिल्यैदेखि निगरानी व्यवस्थालाई सुदृढ तुल्याउनु हो। कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट हामीले जे सिक्यौँ, त्यसलाई फेरि सम्झना गर्दै अगाडिका दिनको तयारी नगर्ने हो भने हामी फेरि संकटमा पर्नेछौँ।

अनाहकमा जनधनको क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ। अहिले हामीकहाँ यो विषाणु प्रवेश गरिसकेको छैन भनेर चूप लागेर बस्नु भुल हुनेछ। त्यसैले कहीँ पनि शंकास्पद बिरामी देखिनासाथ थप पहिचान गर्ने र उपचार र रोकथामको उपाय अवलम्बन गर्नेतिर सक्रिय हुनुपर्छ। हवाई यातायात सुरु भई जीवन केही सहज हुने र देश/देशावर घुम्न जान पाइने अपेक्षामा फेरि तुषारापात हुने लक्षण देखिँदैछ। बेलैमाथि यो अवस्थाबारे चिन्तन गर्दै ओमिक्रोन मुलुकमा प्रवेश गर्न नपाउने र प्रवेश गरे पनि फैलिन नदिनेतिर पूर्ण तयारी हुनुपर्छ।

कोरोनाको पहिलो संक्रमणका बेला नेपालले सशक्त ढंगले बन्दाबन्दी पालना गरेको हो। त्यसैकारण फैलावट धेरै भएन तर नेपालीको रोग प्रतिरोध क्षमता राम्रो भएको ठानेर दोस्रो लहर आउने बेलामा धेरै लापरबाही गरेको देखिएको हो।

बन्दाबन्दी गर्दा अर्थतन्त्र ध्वस्त हुने र व्यक्तिको जीवन कठिनाइमा बित्ने महसुस गरेर खुला अवस्थामै धेरै समय राखिएको हो। त्यतिबेला अन्य मुलुकबाट आउने व्यक्तिमाथि निगरानी गर्ने कार्य सशक्त हुन नसक्दाको दुष्परिणाम हामीले भोगिसकेका छौंँ।

विदेशबाट आएका व्यक्तिहरूको क्वारेन्टिन व्यवस्था सशक्त हुन सकेन। त्यसैगरी भारतसँगको खुला सीमाका कारण पनि ओहोरदोहोर भइरहेको हो। यसले दुवै देशमा प्रभाव पारेको हो। भारतमा यसको विस्तार भएको थाहा पाउनासाथ देशमा तयारी गर्न भने कम भएकै हो। त्यसैकारण पछि थामिनसक्नु गरी बिरामीको चाप बढेको हो। दोस्रो लहरका बेला हामीलाई अत्याउने गरी संक्रमित व्यक्तिको निधन भएको पनि हो।

यो स्थितिलाई महसुस गर्दै भारतले सुचारु गर्न लागेका अन्तर्राष्ट्रिय उडानको समयतालिका परिवर्तन गर्न लागेको छ। भारतले दोस्रो लहरका बेला धेरै दुःख पाएको हो। त्यहाँ सर्वसाधारणको मृत्यु पनि अकल्पनीय किसिमले बढी देखिएको छ। नयाँ प्रजातिको कोरोना विषाणु संक्रमण रोक्न नेपाल र भारतबीच समन्वय हुनु पनि उत्तिकै आवश्यक छ। नेपालले मात्र यसलाई नियन्त्रण गर्न खोजेर सम्भव छैन। दुबै देशबीचको आपसी निर्भरताका कारण पनि समन्वय आवश्यक हुन्छ।  तैपनि नेपालले सचेत हुनुपर्ने अवस्था छ।

हाम्रो आन्तरिक क्षमताले नभ्याउने गरी संक्रमण नफैलियोस् भन्ने सजगता नै सबैभन्दा ठूलो उपलब्धि हो। नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको बताएको छ। अफ्रिकाबाट नेपालमा धेरै व्यक्ति नआउने भएका कारण यसको प्रभाव नहोला कि भन्ने आशा सरकारले गरेका हुन सक्छ तर अहिलेको अवस्थामा त्यसरी ढुक्क हुन सकिँदैन।

कोरोना विषाणुको संक्रमण तत्काल नरोकिने देखिइसकेपछि सरकारले खोप कार्यक्रमलाई तीव्र पार्नुको विकल्प छैन। हामीकहाँ एक पटक पनि खोप लगाउन नपाउने संख्या अझै ठूलो छ। एकातिर दुवै मात्रा खोप लगाइसकेका व्यक्तिहरूको रोग/प्रतिरोध क्षमता घट्न थालिसकेको छ।

कैयन् मुलुकले बुस्टर डोजको बारेमा निर्णय गरिसके पनि नेपालमा यसबारे तयारी देखिँदैन। सबै नागरिकलाई खोप र खोप लगाई प्रतिरोध क्षमता कम हुन थालेका व्यक्तिलाई बुस्टर डोज दिन पनि सरकार सक्रिय हुनु आवश्यक छ। विगतका गल्तीबाट पाठ सिक्दै आउन लागेको अर्को महामारीको संकट टार्न प्रयत्नरत हौंँ। यसमा सरकार र सर्वसाधारण सबैको सक्रियता अनिवार्य छ।

प्रकाशित: १४ मंसिर २०७८ ००:४७ मंगलबार

Download Nagarik App
Download Nagarik App