१६ चैत्र २०८० शुक्रबार
सम्पादकीय

राजनीतिमा ७० वर्षे हद

प्रमुख राजनीतिक दलमा भावी नेतृत्व चर्चा चलिरहेको छ। तर नेतृत्वको सहज हस्तान्तरण त्यतिबेलासम्म सम्भव छैन जतिबेलासम्म उपल्लो पदमा रहेका पाका नेताहरूले आफूलाई अलग गर्दैनन्। यतिबेला सबैजसो दलमा ७० को दशकमा हिँडिरहेका नेताहरूको हालिमुहाली छ। 

अहिलेसम्मको अवस्था हेर्दा उनीहरू आफैँ तयार नभएसम्म कसैले पनि तिनलाई जिम्मेवारीबाट हटाउन सक्ने स्थिति छैन। सार्वजनिक जिम्मेवारीका पदमा काम गर्ने उमेर तोकिएको छ। निजामती कर्मचारी ५८ वर्षमा अवकास उमेरमा पुग्छन्। संवैधानिक निकायमा पाउने नियुक्ति हद यो भन्दा माथि छ। तैपनि हाम्रो जस्तो स्वास्थ्य स्थितिका आधारमा व्यक्तिले ७० वर्षसम्म काम गर्दा केही हदसम्म ठिकै जस्तो देखिए पनि युवा जोशको भने सर्वथा अभाव देखिएको छ।

अचेल धेरैको गुनासो सुनिन्छ– देशमा काम गर्न सक्ने नेता भएनन्। वास्तवमा अहिले ७० को दशकमा हिँडिरहेका नेताहरू ३० वर्षअघि राष्ट्रिय राजनीतिमा आउँदा जिउँदाजाग्दा देखिन्थे। त्योबेला ३०/४० वर्षका उनीहरूको काम गराइ भिन्न थियो। मुलुकले गति लिन सक्छ भन्ने आशा पनि थियो।अहिले आएर खासै काम भएको देखिँदैन। 

अचेल कामभन्दा बढी षड्यन्त्र हुन्छ। वयोवृद्ध नेताहरूको अधिकांश समय षड्यन्त्रपूर्ण कदममै बित्न थालेपछि झनै नेतृत्वको अभाव खड्किनु स्वाभाविक हो। अहिलेको समयका चुनौती बहन गर्न युवा नेतृत्वकै आवश्यकता छ। उनीहरूले आफूलाई काममा लगाउन बढी समय दिन सक्छन्। उनीहरूमा छिटोछरितोपन पनि देखिन्छ।

प्रमुख विपक्षी एमालेले आफ्नो दलको विधानमा ७० वर्षे उमेर हद राखेको छ। यसैलाई निरन्तरता दिन दोस्रो र तेस्रो पुस्ताका नेताहरू इच्छुक देखिएका छन्।यसलाई कार्यान्वयन गर्ने हो भने अबको दुई महाधिवेशनमा नेतृत्व परिवर्तन अत्यन्त सहज हुने देखिन्छ। 

अहिले आफूलाई युवा नेता भनिरहेका व्यक्तिले समेत एक कार्यकालपछि ७० वर्षे हद पार गर्नेछन्। यसो भएमा दलभित्र युवा नेतृत्वको आगमन हुने सहज वातावरण बन्छ। अहिलेसम्मको स्थिति हेर्दा वृद्ध नेताहरूले आफूलाई राजकाजबाट सहजै बाहिर निकालेर आरामको जिन्दगी बिताउने सोच राखेको देखिएन। बरु सक्रिय राजनीति छाडेको स्थितिमा आउन सक्ने एकांकीपन र स्रोतसाधनको अभावले तिनलाई सत्तामै अडिइरहन बाध्य पारेको देखिन्छ।

एउटा खास उमेरमा पुगेपछि स्वतः राजनीतिक नेतृत्व र कार्यकारी जिम्मेवारीबाट अलग हुनुपर्छ भन्ने हो भने त्यसले मुलुकमा नयाँ नेता पाउन सहज हुन्छ। नयाँ व्यक्तिले चुनौतीको सामना गर्दै आफूलाई अगाडि लैजान कोसिस गर्छन्। पाका नेताहरूले समयसीमालाई बेवास्ता गर्दै दलको नेतृत्वमा अडिरहँदा युवाहरूमा स्वाभाविक रूपको  दिक्दारी बढेको छ। 

उनीहरूकै चाहनामा मात्र  नेतृत्व परिवर्तन हुने भएपछि तिनले कहिले मौका पाएर मुलुक हाँक्नु ? अहिलेसम्म प्रतिभावान युवाले जिम्मेवारी नपाएकै कारण दल र सरकारको काममा पनि गति देखिएको छैन। जति शीर्ष नेता देखिएका छन्, यिनैमा भर गर्नुपर्ने हो भने स्वाभाविकरूपमा निराशा मात्रै हात लाग्नेछ। त्यसैले नेतृत्वको सहज हस्तान्तरणका निम्ति हाम्रो जस्तो मुलुकमा उमेरको हद हुनु उपयुक्त देखिन्छ। आफैँ जानेर जिम्मेवारीबाट हट्ने संस्कार नभएसम्म यो उचित उपाय हो।

सत्तारुढ नेपाली कांग्रेसका यतिबेला प्रमुख प्रतिस्पर्धी देखिएका नेताको उमेर हद पनि ७० वर्ष हाराहारी वा योभन्दा माथि छ। उनीहरूले आफ्नो खुसीले मात्र नेतृत्व छाड्ने हो भने युवा पुस्ताले तत्कालै जिम्मेवारी पाउने अवस्था छैन। यसपटक कांग्रेस महाधिवेशनमा नेतृत्व पाउन युवा नेताहरूमा देखिएको छटपटीको कारण पनि यही हो। 

अहिलेसम्म शीर्ष नेताहरूकै इच्छा र चाहनामा मात्र युवा नेतृत्वले पनि जिम्मेवारी पाउँदै आएका छन्। महाधिवेशनका मतदाताले पनि योग्यता र क्षमताका आधारमा नेता छान्ने परिपाटी बनाउनुपर्ने देखिन्छ।अहिलेसम्म नेतृत्वमा रहेका व्यक्तिको मूल्यांकन गरेर मात्रै आगामी दिनको जिम्मेवारीमा पठाउनेतिर ध्यान दिनुपर्छ।

मानव जीवनका आफ्नै सुन्दरता छन्। बाल्यकाल, युवावस्था, वृद्धावस्था सबैका आफ्नै महत्त्व र पारख छ। खुला र उदार लोकतान्त्रिक शासन व्यवस्था भएका विश्वका धेरै मुलुकमा राजनीतिक उच्च नेतृत्वमा युवाहरू पुगेको देखिन्छ। मलेसियामा यसअघि महाथिर मोहम्मदले ९४ वर्षको उमेरमा प्रधानमन्त्रीबाट राजीनामा गरे। उनी वयोवृद्ध निर्वाचित नेताका रूपमा परिचित भएका थिए। त्यसैगरी अमेरिकामा डोनाल्ड ट्रम्प र उनका उत्तराधिकारी जो बाइडेनसमेत तुलनात्मक रूपमा वृद्ध नेता हुन्। अमेरिकाले यसअघि पाएका राष्ट्रपति उनीहरू भन्दा युवा थिए। खासगरी युरोपेली मुलुकमा युवा नेताहरू देख्न पाइन्छ।

हामीकहाँ एक पटक राजनीतिमा प्रवेश गरेपछि आजीवन त्यसैमा लाग्ने गरेको देखिन्छ। निश्चित समय राजनीतिमा संलग्न भई बाँकी समय आफ्नै पेसा व्यवसायमा फर्कने किसिमको व्यवस्था गर्ने हो भने पनि अहिले जस्तो विकृति हुने थिएन। तोकिएको निश्चित समय पार्टी वा सरकारको काम गरेपछि आफ्नै काममा फर्कँदा कसैलाई पनि समस्या हुनुहुँदैन। हामीकहाँ प्रायः राजनीतिलाई पेसा वा व्यवसायका रूपमा चित्रण गर्ने गरेको पाइन्छ। वास्तवमा यो निश्चित समयका निम्ति गरिएको सेवा कार्यमात्र हो। त्यसपछि आफ्नै काममा फर्कने हो भने राजनीतिक विकृति कम गर्न सहज हुनेछ।

वृद्ध उमेरसम्म राजनीतिमा लागिरहने, काममा गति दिन नसक्ने र आफ्नो उपचार राज्यकोषबाटै गराइरहने किसिमको प्रवृत्ति देखिएको छ। यस्तो प्रवृत्ति रहुञ्जेल प्रधानमन्त्री निवास बालुवाटारमा पुग्न युवा नेताले कहिल्यै मौका पाउने छैनन्। उच्च पद जति सबै वृद्धाश्रम होइनन्, त्यहाँ काम गर्न सक्ने युवालाई पुर्‍याउने परिपाटीको विकास हुन सक्यो भने मात्र अहिलेको निराशा कम हुन सक्छ। ज्येष्ठ नेतालाई सम्मान र युवा नेतालाई कामको परिपाटी बनाउने हो भने ७० वर्षे हद सबै दलमा कायम हुनु उचित देखिन्छ। 

प्रकाशित: ३० भाद्र २०७८ ००:१७ बुधबार

Download Nagarik App
Download Nagarik App