विगत २ वर्षदेखि कोभिड–१९ महामारीले विश्वका अन्य मुलुक जस्तै नेपालको अर्थतन्त्र पनि तहसनहस भएको छ। कोभिडकै कारण अर्थतन्त्र सुस्त हुँदा अघिल्लो आर्थिक वर्षमा आर्थिक वृद्धि दर ऋणात्मक हुन पुगेको थियो। चालु आवमा पनि यसको असर कायमै छ। सरकारी निकायले यो वर्ष २ प्रतिशत हाराहारीले मात्र आर्थिक वृद्धि हुने अनुमान गरेका छन्। यथार्थमा त्यो पनि हासिल हुने अवस्था छैन। यो वर्ष देखिएको कोभिडको दोस्रो लहरले गत वर्षको पहिलो लहर भन्दा धेरै व्यक्तिलाई संक्रमित बनाएको छ।
संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या र दर पनि उकालो लागेको छ। कोभिडको दोस्रो लहर बढी संक्रामक र घातक देखिएपछि सरकारले वैशाख १६ गतेदेखि मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा लगाएको छ। राजधानी काठमाडौंँलगायत केही जिल्लामा निषेधाज्ञा अझै कायमै छ। कोभिडको दोस्रो लहरका कारण अहिले लाखौँ सर्वसाधारणले आयआर्जन गुमाएको अवस्था छ। उपभोक्ताको क्रयशक्ति घटेकोे छ। तर यस्तो बेला पनि व्यापार घाटा भने बढेको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा यो वर्ष व्यापार घाटा साढे २ खर्ब रुपैयाँले बढेको छ। पोहोर जेठसम्मको आयात–निर्यातको तथ्यांकका तुलनामा चालु आर्थिक वर्षको जेठसम्म व्यापार घाटा २ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँले बढेको देखिएको छ। यो गत वर्ष भन्दा २४.६१ प्रतिशत बढी हो।
विभागका अनुसार पोहोर जेठसम्म मुलुकको व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ थियो भने यो वर्ष १२ खर्ब ६१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। नेपालले यो जेठसम्म १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँका वस्तु तथा सेवा विदेशबाट आयात गरेको छ। यही अवधिमा नेपालबाट एक खर्ब २१ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएको अवस्था छ। गत वर्ष भन्दा अहिले आयात २५.६७ प्रतिशत र निर्यात ३७.७८ प्रतिशतले बढेको छ। आयात भन्दा निर्यात करिब १२ प्रतिशत धेरै हुनु मुलुकका लागि फाइदा हो। तर आयातको परिमाण धेरै भएकाले सानो आकारको निर्यातमा सुधार आउँदैमा मुलुकलाई धेरै फाइदा पुग्न सकेको छैन।
आयात भन्दा निर्यात करिब १२ प्रतिशत धेरै हुनु मुलुकका लागि फाइदा हो। तर आयातको परिमाण धेरै भएकाले सानो आकारको निर्यातमा सुधार आउँदैमा मुलुकलाई धेरै फाइदा पुग्न सकेको छैन।
यो वर्ष मुलुकको आयातमात्र बढेर व्यापार घाटा उच्च भएको भने होइन। वैदेशिक व्यापारको परिमाण नै बढ्न पुगेको छ। गत वर्ष ११ महिनासम्ममा हाम्रो वैदेशिक व्यापारको आकार ११ खर्ब ८८ अर्ब थियो। यो वर्ष १५ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ। यो गत वर्ष भन्दा २६.५६ प्रतिशतले बढी हो। कुल वैदेशिक व्यापारमा आयात बढेसँगै निर्यात पनि बढेको अवस्था छ।
नेपालको व्यापार विश्वका करिव १ सय ६० मुलुकसँग चलिरहेको छ। त्यसमध्ये मुस्किलले २ दर्जन मुलुकसँग मात्र नेपालको व्यापार नाफामा छ। अरू मुलुकसँगको व्यापार घाटामा छ। विगतमा जस्तै नेपालको कुल वैदेशिक व्यापारमा सबै भन्दा ठूलो हिस्सा दुवै छिमेकी मुलुक भारत र चीनसँग छ। आयात–निर्यातको हिस्सा र व्यापार घाटा सबै यिनै मुलुकसँग बढी छ। दक्षिणी छिमेकी भारतसँग यो वर्ष ७ खर्ब ९६ अर्ब रुपैयाँ व्यापार घाटा पुगेको छ। यो वर्ष भारतबाट ८ खर्ब ८६ अर्ब ५९ करोडका वस्तु आयात गरिएका छन्। नेपालले भारतमा ९० अर्ब १९ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ।
यस्तै अर्को उत्तरी छिमेकी चीनसँग २ खर्ब ९ अर्ब ५७ करोड रुपैयाँ व्यापार घाटा पुगेको छ। यो वर्ष २ खर्ब १० अर्ब ५१ करोडका वस्तु चीनबाट आयात भएको छ भने ९४ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको छ। यी २ मुलुकबाहेक अन्य देशसँगको व्यापार धेरै परिमाणको हुन सकेको छैन।
हाम्रो जस्तो विकासको चरणमा रहेको मुलुकका लागि उच्च व्यापार घाटा हुँदैमा नराम्रो भन्न मिल्दैन। कस्ता वस्तु आयात गरेर व्यापार घाटा बढेको छ त्यसले मात्र ठूलो अर्थ राख्छ। उपभोग्य वस्तु आयात गरेर भएको व्यापार घाटा मुलुकको अर्थतन्त्रका लागि राम्रो होइन। विदेशबाट सामान मगाएर उपभोग गर्ने, नचाहिँदा विलासिका वस्तु आयात गरी प्रयोग गर्ने जस्ता प्रवृत्तिले मुलुकको हित गर्दैन। तर उत्पादन बढाएर अर्थतन्त्रलाई थप क्रियाशील बनाउने वस्तु तथा सेवा आयात गरिएको छ भने त्यसले मुलुक र अर्थतन्त्रलाई थप सहयोग गर्नेछ।
विकास र उन्नति गर्न जुनसुकै मुलुकलाई पनि औद्योगिक कच्चा पदार्थ, विभिन्न किसिमका मेसिनरी सामान, पार्टपुर्जा, इन्धन, ऊर्जालगायतका सामग्री आवश्यक पर्छ। मुलुकको पछिल्ला वर्षहरूको कुल वैदेशिक व्यापार हेर्दा भने उत्पादन बढाउने भन्दा उपभोगमा रमाउने वस्तु तथा सेवाको आयात बढिरहेको अवस्था छ। हामीले स्वदेशमा नै उत्पादन गरी आत्मनिर्भर बन्न सक्ने कृषि तथा पशुजन्य वस्तु पनि ठूलो परिमाणमा आयात गरिरहेका छौँ। सरकारले हरेक वर्षको बजेटमा कृषिलगायत औद्योगिक उत्पादन वृद्धि गर्ने रणनीति लिए पनि कार्यान्वयन भएको अवस्था छैन। उच्च व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरेर वस्तु निर्यात गर्ने उद्देश्यले ल्याएका विशेष आर्थिक क्षेत्र (सेज) को अवाधारण पनि लथालिंग छ।
विश्व व्यापार संगठन र विश्वका धेरै धनी मुलुकले गरिब र पछौटे मुलुकहरूलाई विभिन्न किसिमका सहुलियत उपलब्ध गराउँदै आएका छन्। कुनै मुलुकले सामान निर्यातको कोटा तोकेका छन् भने केही मुलुकले भन्सार महसुलमा छूटको सुविधा दिएका छन्। कतिपय मुलुकले यस्ता सहुलियतको सदुपयोग गर्दै निर्यात बढाउन सफल भएका उदाहरण छन्। तर नेपाल सहुलियत उपभोगमा कहिल्यै सफल हुन सकेको छैन। अहिले पनि नेपालको भारत, चीनलगायतका केही मुलुकसँग छुट्टै व्यापारिक सम्झौता छन्।
नेपालमा पहिलो पटक यही वर्ष निर्यात १ खर्ब भन्दा माथि पुगेको छ। प्रधानमन्त्री ओलीले यसलाई पनि सरकारको प्रगतिको विषय बनाएका छन्। निर्यात बढ्नु नराम्रो होइन तर कुल व्यापारमा आयातको हिस्सा करिव १४ खर्ब हुँदा १ खर्ब निर्यातलाई प्रगति भन्नु आफैँलाई गर्वलाग्दो विषय होइन। अहिलेको अवस्थामा नेपालले उच्च व्यापार घाटा कम गर्न प्रमुखरूपमा २ वटा रणनीति अगाडि सार्नुपर्ने देखिएको छ।
पहिलो हो, स्वदेशमै उत्पादन हुन सक्ने कृषिजन्य वस्तुको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने। यति गर्न सके अहिलेको व्यापार घाटाको एकतिहाइ भन्दा बढी हिस्सा कम हुनेछ। दोस्रो हो, विश्व बजारमा कुन वस्तु तथा सेवा अरूसँग प्रतिस्पर्धामा गएर बेच्न सकिन्छ त्यसको पहिले पहिचान गर्ने त्यसपछि उत्पादन गरी निर्यात गर्ने। शासनको बागडोर हातमा लिएकाहरूले १ खर्ब निर्यात पुग्दैमा सन्तोष मानेर रणनीतिका नयाँ उपाय नखोज्ने हो भने आगामी दिनमा व्यापार घाटाको अवस्था झनै भयाबह हुने निश्चित छ।
प्रकाशित: १३ असार २०७८ ०३:११ आइतबार