३२ असार २०८२ बुधबार
image/svg+xml
सम्पादकीय

ज्यानमारा वायु

अकाल मृत्यु अप्रिय घटना हो। कालगतिले हुने मृत्युलाई सहज जीवन प्रक्रियाका रूपमा लिए पनि असमयमा हुने मृत्युले सबैको मन दुखाउँछ। नेपालीले सहज जीवन यापन गर्न पाएका छैनन्। पूरा आयु बाँच्नका निम्ति तिनका अगाडि अनेकन वाधा छन्। पहिलो, प्राकृतिक छटाले भरिएको मुलुक भएर पनि प्रदूषित मौसममा स्वास फेर्नुपर्ने अवस्था छ। खानेकुरा स्वच्छ, सफा र पोषिलो छैन। स्वस्थकर खाना नभई कसैले पनि आयुलाई बढाउन सक्दैनन्। सफा हावामा सास फेर्न पाउँनु आम नागरिकको नैसर्गिक अधिकार हो। तर, नेपालमा झरीको बेलामा बाहेक अरूबेला सफा हावा पाइँदैन। विशेष गरी काठमाडौं उपत्यका र अन्य ठुला सहरमा बस्ने सर्वसाधारणको जीवनमा प्रदूषित हावाको कष्टकर अवस्था सिर्जना गरेको छ।

विश्व बैंकको प्रतिवेदनले सार्वजनिक गरेको एउटा तथ्यांकले नेपालीको पीडादायी अवस्थालाई उजागर गरेको छ। वायु प्रदूषणबाट बर्सेनि २६ हजारको मृत्यु हुनु डरलाग्दो अवस्था हो। यस्तो विषम परिस्थितिमाथि हाम्रा नीति निर्माताको ध्यान पुगेको छैन। खासमा नेपालमा कुपोषण र सूर्तिजन्य पदार्थ पनि ठुलो संख्यामा मृत्यु हुन्छ। सडक दुर्घटनाबाट मृत्यु हुने सर्वसाधारणको संख्या पनि उत्तिकै कहालीलाग्दो छ। यसले हाम्रा सर्वसाधारणको जीवन कति कष्टकर छ भन्ने प्रष्ट पार्छ। स्वस्थ्यकर वातावरणमा बाँच्न पाउने संविधानप्रदत्त अधिकारलाई हाम्रो सरकारले सम्मान गर्न नसकेको यसबाट प्रष्ट हुन्छ।

विश्व बैंकको प्रतिवेदन अनुसार ७५ प्रतिशत दीर्घकालीन फोक्सोसम्बन्धी, ४६ प्रतिशत पक्षाघात, ४४ प्रतिशत हृदय रोग, ४१ प्रतिशत श्वास प्रश्वास रोगको कारक वायु प्रदूषण देखिएको छ। वायु प्रदूषणले ३८ प्रतिशतमा फोक्सोको क्यान्सर, नवजात शिशुसम्बन्धी ३० प्रतिशत समस्या र  २० प्रतिशत मधुमेह हुने गरेको छ। वायु प्रदूषण कति खतरनाक हो र यसलाई गम्भीर राष्ट्रिय समस्या मानेर अगाडि बढ्नु पर्छ भन्ने यो गतिलो प्रमाण हो। वायु प्रदूषणलाई राष्ट्रिय संकटका रूपमा नलिने हो भने यो अरू भयावह बन्दै जान्छ। १० वषको तत्कालीन माओवादीको दीर्घकालीन ‘जनयुद्ध’मा १७ हजार मानिसको मृत्युलाई हामीले जति गम्भीरताका साथ लिएका छौं, त्यही गम्भीरता प्रत्येक वर्ष वायु प्रदूषणका कारण हुने मृत्युमा देखिएको छैन।

वायु प्रदूषणको कारक हामी मानिस हौं। पशुपन्छीले यो भयावह अवस्था सिर्जना गरेको होइन। अझ नेपालमा केही वर्षयता देखिएको ‘डोजरे विकास’ ले गर्नसम्म क्षति गरेको छ। आजको दिनमा उद्योगधन्दा, यातायात आदिका कारण प्रदूषण हुने गरेको छ। उद्योगधन्दामा पनि धेरै प्रदूषित वायु र त्यसबाट निस्किने पानी सहजै खोलामा हाल्न नपाइने अवस्था छ। प्रविधिले पनि मानिसलाई धेरै सहयोग पुर्‍याएको छ। तर, त्यसको उपयोगमा हामी लागेका छैन। त्यसो नगरेका कारण दिनहुँ वायु प्रदूषण हाम्रो काल बनेर आइरहेको छ। प्रदूषण नियन्त्रण गर्न कानुनी र अन्य संयन्त्र नभएका होइनन्। तर, त्यसको प्रयोग हुन सकेको छैन।

प्रदूषणले मानिसको मृत्यु मात्र भएको छैन, त्यसले अर्थतन्त्रमा पनि गम्भीर धक्का पुर्‍याएको छ। स्वास्थ्य समस्या भएपछि स्वाभाविकरूपमा धेरै खर्च गराउँछ। काम गर्ने क्षमता भएका मानिसको उत्पादकत्व घट्छ। यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नु स्वाभाविक हो। तथ्यांकअनुसार खराब वायुकै कारण नेपालको जिडिपी (कुल गार्हस्थ्य उत्पादन) को ६ प्रतिशतभन्दा बढी नोक्सानी हुने गरेको छ। वायु प्रदूषण व्यक्तिको स्वास्थ्य समस्या मात्र होइन मुलुकको अर्थतन्त्रका निम्तिसमेत नकारात्मक असरको कारक हो। दूषित हावामा २.५ पिएमभन्दा साना विषाक्त कण हुन्छन् जुन हाम्रो शरीरको फोक्सो र अन्य अंगमा सहजै प्रवेश गर्न सक्छन्। वायु प्रदूषणका कारण रोग लाग्ने र बल्झने मुख्य कारण पनि यही हो।

औद्योगिक उत्पादन, कुकिङ तथा सवारीसाधन काठमाडौँमा वायुलाई प्रदूषित बनाउने मुख्य कारक मानिएको छ। आगामी दशकसम्म पनि यी स्रोतमा परिवर्तन हुने सम्भावना देखिँदैन। प्रविधिमै ठुलो फड्को मार्‍यो भने भने केही होला। अन्यथा अहिलेकै अवस्थामा वायु प्रदूषण घटाउने अवस्था देखिन्न। समयमै सुधारका उपाय नअपाउने हो भने आगामी दशक पनि काठमाडौं प्रदूषित वायुमा निसास्निे निश्चित छ। प्रतिवेदनले प्रक्षेपण गरेअनुसार प्रदूषण घटाउन तत्काल कदम नचालेमा आगामी १० वर्षसम्म काठमाडौँको सरदर वार्षिक पिएम २.५ को स्तर ५२ र तराईमा ४२ माइक्रोग्राम प्रतिघनमिटर पुग्ने छ। खतराको घन्टी बजिसकेको छ। बेलैमा यसलाई सुन्न र समाधानको उपाय खोज्न ढिला भइसकेको छ। 

प्रकाशित: ६ असार २०८२ ०५:५७ शुक्रबार

Download Nagarik App
Download Nagarik App