५ माघ २०८२ सोमबार
image/svg+xml
सम्पादकीय

युद्धको अत्यास

यतिबेला इजरायलले इरानमाथि सुरु गरेको आक्रमण र इरानद्वारा जारी जवाफी प्रत्याक्रमणका कारण सिंगो विश्व त्रसित छ। इजरायलले तीन दिनअघि इरानका सैन्य अखडा र परमाणु कार्यक्रमहरूमा लक्षित भन्दै गरेका व्यापक प्रहारपछि इरान थप क्रुद्ध बनेको छ। 

त्यसपछिका लगातारका आक्रमणले दुवै देशका जनताको शैक्षिक, स्वास्थ्य, हिँडडुल गर्न पाउने मात्र नभई बाँच्न पाउने अधिकारसमेत हनन भएको छ। खासमा आफ्नो जनताको नैसर्गिक अधिकार अरू कसैका भन्दा पनि आआफ्नै सरकारका तीव्र महत्वाकांक्षाका कारण हरण भएका हुन्। 

तेस्रो रात शनिबार पनि इरानले क्षेप्यास्त्रहरू प्रहार गरेको छ भने इजरायलबाट इरानी जनताका सबै अधिकारमाथि धावा बोल्ने क्रम जारी छ। इरानको परमाणु कार्यक्रमबाट आफ्नो देशको अस्तित्वमाथि सुरक्षा चुनौती खडा भएको र उसको यो कार्यक्रम ध्वस्त नबनाएसम्म आक्रमण नरोकिने इजरायली दाबीका कारण यी दुई देशबीचको मनमुटाव चाँडै विसर्जन हुने देखिन्न। यही कारण पनि अहिले इजरायलले सुरु गरेको र इरानलाई जबर्जस्ती युद्धमा तानेको अवस्थाले सारा विश्वलाई दु:खी भएको छ।

दुवै देशले अर्कोमाथि व्यापक क्षति पुर्‍याउन सफल भएकोलाई बहादुरीसाथ प्रचारप्रसार गरिरहेका छन्। अनि शत्रु पक्षका कैयौँ ड्रोन, मिसाइल र आक्रमणलाई निस्तेज तुल्याएको दाबी पनि गरिरहेका छन्। अनि आफूतर्फ भएको क्षतिलाई मिलेसम्म घटाएर पीडा भित्रै लुकाउने प्रयास गरिरहेका छन्। त्यसैले यी दुई मुलुकबीचको द्वन्द्वको क्षति अहिले सञ्चार माध्यमले फेला पारे भन्दा निकै बढी हुने अनुमान सहजै गर्न सकिन्छ। आक्रमण गरिएका क्षेत्रमा सञ्चार प्रतिनिधि पुग्ने वातावरण नभएकाले पनि एकिन जानकारी आउन सकेको छैन। 

इरान र इजरायल पुरानै शत्रु हुन्। इजरायलले आफूमाथि आक्रमण गरेर पटक पटक दु:ख दिइरहने हिजबुल्लाह, हुथी आदि समूहलाई इरानले उक्साइरहेको आरोप लगाउने गरेको छ। त्यसैगरी इरानले अहिले जुन रफ्तारमा परमाणु कार्यक्रमलाई तीव्र बनाइरहेको छ, त्यसको मुख्य निशाना आफू नै भएको अथ्र्याउँदै आएको छ। उसले इरानलाई यसअघि पनि धम्क्याइरहनु र पछिल्लो पटक ठूलो क्षति हुनेगरी आक्रमण गर्नुको मुख्य कारण यही हो। क्रियाको प्रतिक्रिया स्वाभाविक हुन्छ। तर, युद्धका लागि संसारका जुनसुकै कुनामा हुने होडले आजको एकीकृत विश्वलाई भने नराम्ररी प्रभावित गर्छ। 

अहिले यो युद्ध इजरायल र इरानबीच मात्र भइरहेको छैन। अमेरिका, बेलायत, फ्रान्स जस्ता मुलुकले इजरायललाई पहिलेदेखि नै सहयोग गरिरहेका छन्। त्यसमा पनि अमेरिकाले शक्तिशाली हतियारहरू उपलब्ध गराएर इजरायललाई यो अवस्थामा पुर्‍याएको हो। त्यसैले आफू तल पर्ने अवस्था आएमा इरानले यी मुलुक र यी मुलुकका सैन्य अखडा तथा अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने सम्भावना उत्तिकै छ। अर्कोतर्फ विश्वभर करिब एकचौथाइ हाराहारीमा रहेका मुस्लिमहरू पश्चिमाहरूको यस्तो आक्रमणविरुद्ध एक हुँदा आउने परिणाम अप्रिय हुनेछ। युद्धका कारण बढ्ने तेलको मूल्य, आवतजावत र व्यापारमा हुने कठिनाइ तथा धमिलिने मानवीयताको क्षति अर्को अपुरणीय पाटो हुनेछ। 

यतिबेला रुस र युक्रेनको युद्ध झन् झन् तीव्र बन्दो छ। पाकिस्तान र भारतको मनमुटाव उस्तै खतरनाक छ। दक्षिण र उत्तर कोरियाबीचको संकट जहिल्यै छ। विभिन्न नामधारी छापामार समूहले कुनबेला कहाँ आक्रमण गरेर कसको इहलीला समाप्त पार्छन् भन्ने कुनै ठेगान छैन। यस्तो अवस्थामा अहिले इजरायलले इरानमाथि आक्रमण गरेर निम्त्याएको युद्ध यसमा प्रत्यक्ष सहभागी उनीहरूका लागि मात्र नभएर अमेरिका, बेलायत जस्ता अप्रत्यक्ष सहभागी हुँदै सरोकारै नभएका मुलुक र त्यहाँका जनताका लागि पनि निकै महँगो सावित हुनेमा शंका छैन। रुस–युक्रेन युद्धले खाद्य वस्तुमा ठुलो महँगी ल्याएको थियो। 

अहिले तेलको मूल्यमा उतारचढावबाट पछिल्लो युद्धको नकारात्मक परिणाम देखिन थालिसकेको छ। नेपाल पनि यो युद्धबाट अछूतो रहने छैन किनकि ती मुलुकमा उत्पन्न द्वन्द्वका कारण अन्य मुलुकले भोग्नुपर्ने क्षति त यसले पनि भोग्छ नै, साथै विशेषगरी इजरायलमा कामदारका रूपमा रहेका ठूलो संख्या पनि स्वत: प्रभावित हुनेछ। आखिर पहिले नै विद्रोहीको आक्रमणमा परेका विपीन जोशी आजसम्म बेपत्तै छन्।

युद्ध कसैका लागि हितकर हुन सक्दैन। केही पश्चिमा मुलुकहरू आफ्ना हतियार बिकाउन मात्र हैन, परीक्षणका लागि पनि युद्ध गर्न उक्साइरहेका देखिन्छन्। अनि केही शासकमा आफ्नो सत्ता लम्ब्याउने बहाना पनि बन्ने गरेको छ युद्ध। तर केही सन्की शासकहरूका कारण दु:ख भने बाँकी विश्वले पाउँछ। त्यसैले युद्ध अन्त्यका लागि सबैतिरबाट खबरदारी आवश्यक छ। विशेषगरी अमेरिका, रुस, चीन जस्ता प्रभावशाली मुलुकले चाहेमा यस्ता युद्ध सदाका लागि रोकिन सक्छन्। त्यसैले बुद्धि उनीहरूकै फिर्नुपर्छ। हामीले कामना मात्र गर्ने हो।

प्रकाशित: २ असार २०८२ ०६:०६ सोमबार

Download Nagarik App
Download Nagarik App