यतिबेला विशेषगरी तराई क्षेत्रमा आँप खाने मौसम सुरु भएको छ। फल्ने फलाउने काम तराईमा भए पनि यहाँको आँप सिंगै मुलुकभर पुग्ने गरेको छ। वसन्त ऋतुमा मञ्जरी लाग्ने, फुल्ने र चिचिला फल लागी ठूलो भएर प्रिय भोजनका लागि तयार हुने यो फल निकै स्वादिलो मानिन्छ। मालदह, बम्बई, काली, मिस्री, बिजुवा, सुपारी, आम्रलगायत अनेक जातको यो फल जातकै आधारमा सानो/ठूलो, बियाको आकारमा फरक तथा स्वादमा समेत पृथक पाइन्छ। समग्रमा जुन जात र रूप/रंगको भए पनि यो फल बालकदेखि ज्येष्ठ नागरिकसम्मका लागि निकै मन पराइँनेमा पर्छ।
खासगरी सिरहा र सप्तरीमा फल्ने आँप तराईका अन्य जिल्लाको तुलनामा अझ स्वादिलो मानिन्छ। सिरहाको मालदह जातको आँप भनेपछि राजधानी काठमाडौँलगायत सबैतिर लुछाचुँडी हुन्छ। पाकेको आँपमा सोडियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नायसिन जस्ता तत्त्व पाइन्छ। जसको सेवनले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर आदिबाट राहत मिल्ने स्वास्थ्यविद्हरूको राय छ। त्यसैगरी यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउने र फाइबर र भिटामिन सीले प्रोटिन बढाउने अनि कोलेस्टेरोलको मात्रा घटाउने पनि उनीहरूको दाबी छ।
त्यति मात्र हैन, आँप फाइबर धेरै हुने भएकाले पाचनशक्तिलाई राम्रो बनाउनेदेखि यसमा हुने मालिक एसिड, टार्टारिक एसिड आदिले शरीरको अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्ने हुँदै शरीरलाई रोग प्रतिरोधी तुल्याउन मद्दत गर्नेसमेतमा यो फलको भूमिका हुने देखिएको छ। कतिपयले आँप सेवनले प्रजनन क्षमता बढ्ने विश्वासमेत गर्छन् भने कतिपयचाहिँ छालाका काला दाग हटाउन पनि यो निकै लाभदायक हुने बताउँछन्। जे होस्, यो मौसमी फल स्वादमा मिठो त हुँदै हो साथै स्वास्थ्यका दृष्टिले समेत बहुआयामिक फाइदाको चिज भएकामा शंका मान्नु पर्दैन।
तर पछिल्लोपटक आँपमा पनि छलछाम प्रवृत्ति मौलाएसँगै आँप किसान, उत्पादन हुने ठाउँ र उपभोक्ता तीनैथरी मारमा पर्दै आएका छन्। मालदह आँपका लागि ख्याति कमाएको सिरहाको लहान अहिले यही मारको शिकार बनेको छ। काठमाडौँ लगायतका बजारमा लहानको गुलियो मालदह आँप भनेर अन्यत्रैको आँप बेचेको पाइएपछि यस्तो अवस्था सिर्जना भएको हो। भारतबाट ल्याइएका, हानिकारक रसायनद्वारा बेलै नभई पकाइएका तथा अन्य आँपलाई समेत यहीँको भनेर झुक्याइने गरिएका घटना प्रशस्तै देखिएका छन्। जसका कारण लहानको आँप बदनाम हुने चिन्ता यहाँका किसानमा देखिएको छ।
यही चिन्तालाई निराकरण गर्ने उद्देश्यले लहान नगरपालिकाले काठमाडौँ पठाइने आँपलाई ब्रान्डिङ गर्न थालेको छ। सप्तरी र सिरहाका किसानले उत्पादन गरेका आँप संकलन गरेर यो नगरपालिकाले ब्रान्डिङ, ग्रेडिङ र प्याकेजिङ गर्छ। हरेक प्याकेटमा लहानको आँप लेखिने र बिक्रीका लागि काठमाडौँमा स्टल नै राखिएको छ। बम्बई र मालदह जातका आपँलाई छुट्टाछुट्टै तथा ५ र १० किलोग्रामका दरले प्याकिङ गरिने व्यवस्था मिलाइएको छ। नगरपालिकाको यो कार्यले लहानको आँपका नाममा बदमासी गर्न खोज्नेलाई तह लगाउने प्रयास भएको छ भने उपभोक्ताले पनि मिठो र स्वस्थ आँप खान पाउने वातावरण तयार भएको छ। साथै यस्तो कार्यबाट आँप उत्पादक किसानलाई समेत राम्रै राहत मिलेको छ।
हामी अचेल स्वदेशी उत्पादनलाई पहिचान गरी उपभोग गर्न पछि परेका छौं। विदेशबाट ल्याएको चाहिँ मिठो र गुणस्तरीय स्वदेशी उत्पादन बेवास्तामा पर्ने अवस्था छ। त्यति मात्र होइन विश्वसनीय संस्थाले स्वदेशी उत्पादनलाई प्याकेजिङ र वितरण नगर्दा पनि स्वदेशी उत्पादन पछि परेका छन्। अन्यथा स्वदेशी उत्पादन खोजेर उपभोग गर्न खोज्ने धेरै हुन्छन्। देशभित्रै राम्रो मह वा अन्य उत्पादन हुन्छ भनिन्छ, तर त्यसले बजार पाउँदैन। राम्रो वस्तु पनि राम्रो हो भनेर चिनाउनु पर्ने हुन्छ। आँपको हकमा पनि यही हो। एकातिर, राम्रोलाई त्यसरी चिनाइँदैन र नराम्रोले भने सर्वसाधारणलाई असर पारिरहेको छ।
महिनौँअघि बोटबाट टिपेका र हप्तौँ लगाएर सात समुन्द्र पारिबाट ल्याइएका सामान हामी तिनका सबै लागत बेहोरेर महँगोमा किन्छौँ तर आफ्नै देशको स्वस्थ र स्वच्छ हावापानीमा उत्पादित फल भने महँगो मान्छौँ र किन्न गाह्राे मान्छौँ। यस्तो अवस्थाले हामी आफ्नै स्वास्थ्यमाथि मात्र खेलवाड गरिरहेका छैनौँ, स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने सुनौलो अवसर पनि चुकाइरहेका छौँ। हामीले खर्च गरेको केही सयले आफ्नै नेपाली किसानको मुहार चम्कने वास्तविकता भुलिरहेका छौँ। त्यसैले मौसमअनुसारका गुणकारी आँप सेवन गरौँ। तर राम्रो र नराम्रोचाहिँ चिनौँ। स्वदेशी उत्पादन उपयोग गरौँ। राष्ट्रिय अर्थतन्त्र सुदृढ तुल्याउँ। तब मात्र हामी आत्मनिर्भर अर्थतन्त्रको सपनालाई विपनामा परिणत गर्न सक्षम हुनेछौँ किनकि यो सरकारले मात्र पूरा गर्न सक्ने काम हुँदै होइन।
प्रकाशित: १ असार २०८२ ०५:५५ आइतबार