सचेतन चेतनासँग सम्बन्धित छ। जुन ज्ञान पनि हो। सोझो अर्थमा भन्दा कुनै पनि कुरामा जानिबुझी सतर्क हुनु मात्र नभई जागरुक हुनुसमेत सचेतन अवस्था हो। सचेतन शब्द भनेको चेतनायुक्त वा सचेत प्राणी भन्ने हो। यति थाहा पाइसकेपछि सहजै भन्न सकिन्छ कि सचेतन प्राणी क्षति र दुःखबाट कम प्रभावित हुन्छ। अग्रिम जानकारीले युक्त हुने हुँदा ऊ सम्भावित दुर्घटना तथा दुष्परिणामबाट पनि जोगिने सम्भावना पनि बढी हुन्छ। त्यसैले सचेतन हरव्यक्तिलाई हरअवस्थामा आवश्यक पर्ने र काम लाग्ने सम्पत्ति हो।
सचेतनको शक्ति कस्तो हुने रहेछ भन्ने थाहा पाउन महोत्तरी ट्राफिक प्रहरीले चालेको कदम उचित हुन सक्छ। यहाँको ट्राफिक प्रहरीले सडक दुर्घटना न्युनीकरण गर्न लगातार थालेको सचेतना कार्यक्रमको प्रभाव हेर्ने हो भने त्यो निकै प्रभावकारी देखिन्छ। योजनाबद्ध रूपमा सञ्चालित यस्तो कार्यक्रमकै प्रभावस्वरूप कुनै बेला निकै सडक दुर्घटना खेप्दै आएको यो जिल्ला यतिखेर त्यस्ता दुःखद खबरबाट थोरै नै भए पनि राहत महसुस गर्ने अवस्थामा आइपुग्नु सकारात्मक खबर हो।
सचेतपूर्वक थालिएको कार्यक्रमको प्रभाव कस्तो रह्यो भन्ने थाहा पाउन यस जिल्लाको विगत दुई वर्षको तथ्यांक नै काफी छ। आर्थिक वर्ष २०७९/८० मा ७४१ वटा सडक दुर्घटना भएकामा पछिल्लो आर्थिक वर्षमा घटेर ५०४ मा आइपुग्यो। त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा सडक दुर्घटनाका कारण ११०७ जना घाइते भएकामा पछिल्लो वर्ष यो संख्या घटेर ७७२ मा आइपुगेको छ। यसरी हेर्दा सचेतना कार्यक्रमहरूले दुर्घटनाको संख्या र क्षति/हानिसमेतको आकार घट्न सक्ने प्रमाणित भएको छ।
नेपालमा सडक दुर्घटनाका धेरै कारण छन्। सडकको स्तर राम्रो नहुनु, सवारी चालक अनुमतिपत्र वितरणमा हेलचेक्र्याइँ, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, सवारीहरू निकै पुरानो हुनु र आवश्यक मर्मत नगरिनु, पैसाको लोभमा क्षमताभन्दा धेरै बढी यात्रु कोचिनु, अनावश्यक प्रतिस्पर्धा गरिनु, सबै ठाउँमा ट्राफिक प्रहरी तथा ट्राफिक संकेतहरू उपलब्ध नहुनु, सवारी कानुन कडा नहुनु जस्ता कारण सडक दुर्घटनाबाट बर्सेनि धेरै हानि हुँदै आएको छ। यी सबै अवस्थालाई ध्यानमा राखेर सडक दुर्घटना र त्यसबाट हुने हानि न्यून गर्न महोत्तरी ट्राफिक कार्यालयले सचेतनाको जुन प्रभावकारी कार्यक्रम गर्यो, त्यसले अरू जिल्लाका ट्राफिक प्रहरीलाई पनि एउटा गतिलो पाठ मिलेको छ।
महोत्तरी प्रहरीले पछिल्लो दुई वर्षयता यातायात व्यवसायी, चालक, यातायात मजदूर, सडक प्रयोगकर्ता र विद्यार्थीबीच ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। चरणबद्ध रूपमा गरिएका यस्ता कार्यक्रमबाहेक सडक सुरक्षा सप्ताह पनि मनाएको छ। अहिले जारी यो सप्ताहअन्तर्गत विभिन्न रचनात्मक कार्यक्रमहरू भइरहेका छन्। जिल्लाको बर्दिबास, जलेश्वर, गौशाला, रामगोपालपुर, सम्सीसहितका ठाउँमा सडक सुरक्षा सप्ताहका कार्यक्रम आयोजना हुँदैछन्। जसले जिल्लाका मुख्य सहर/बजारमा बढ्दो सडक दुर्घटनाको ग्राफ झार्न मद्दत पुगेको तथ्यांकहरूले नै प्रमाणित गरेका छन्।
दुर्घटना जानेरभन्दा पनि नजानेर, नियम थाहा नभएर, आफ्नोभन्दा पनि अर्कोको गल्तीले हुने कुरा हो। कतिपयलाई यसबारे कानुन जानकारी नहुँदा पनि लापरबाहीका कारण दुर्घटना हुने गरेको छ। समग्रमा दुर्घटना अनुमान नमिल्दाको परिणाम हो। त्यसैले सचेत गराउने कार्यक्रमहरूले दुर्घटनाको परिभाषादेखि यसका कारण, यसबाट हुने क्षति, बच्ने तरिका तथा न्युनीकरणका उपाय हुँदै दोषीलाई सजायको समेत जानकारी दिन्छ। यी सबै कुरामा सचेत भएपछि मानिस सतर्क हुन्छ र यस्तो अवस्थामा दुर्घटना स्वतः घट्ने नै भइहाल्यो। त्यसैले पनि महोत्तरी ट्राफिक कार्यालयले थालेको सडक दुर्घटना न्युनीकरणको अभियानलाई अन्य जिल्लाका ट्राफिक प्रहरीले पनि अपनाउन सके सडक दुर्घटनाको संख्या र क्षति दुवै घट्नेमा शंका छैन।
प्रकाशित: २६ जेष्ठ २०८२ ०५:५७ सोमबार

