१५ पुस २०८२ मंगलबार
image/svg+xml
सम्पादकीय

हिमालयको काखमा ज्ञान सत्संग

काठमाडौंमा आजदेखि अर्थात् जेठ १८ देखि चार दिनसम्म समाज विज्ञान विषयमा एउटा दुर्लभ विद्वत् सम्मेलन आयोजना हुँदै छ। एसोसिएसन फर एसियन स्टडिज (एएएस) र सोसल साइस बहाःले जुराएको यो सम्मेलनमा संसारका ४० भन्दा बढी देशबाट १२ सय अनुसन्धाता र विद्यार्थी अनि सात सयभन्दा बढी प्राज्ञिक संस्थाको सहभागिता रहनेछ। सम्मेलनमा हुने ३० गोलमेच छलफल, दुई सय ३० सामूहिक छलफल तथा दुई सय ६० वटा सत्रले छलफल सम्मेलनको बृहत् आकारलाई इंगितसमेत गर्छ। सम्मेलनको मुख्य सम्भाषण भने शनिबार साँझ नै ‘रिफ्रेमिङ ग्लोबल एसियाज: द नेपाल पर्सपेक्टिभ’ विषयमा प्रा. पीताम्बर शर्माले दिएका छन्।

दोस्रो विश्वयुद्धपछि अमेरिकाले एसियाली क्षेत्रमा आफ्नो ज्ञान अपुरो रहेको महसुस गर्दै सन् १९५६ मा स्थापित एएएसले ‘एएएस इन एसिया’ शीर्षकमा एसिया अध्ययन सम्मेलन गर्दै आएको छ। यसअघि इन्डोनेसियामा भएको यो सम्मेलनको १०औं संस्करण नेपालमा आयोजना हुनु किन पनि खुसीको कुरा हो भने नेपालमा यसखाले सम्मेलन पहिलोपटक आयोजना गरिएको हो। त्यति मात्र होइन, अन्य विषयमा पनि यो स्तरको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन यसअघि नभएको जानकारहरू बताउँछन्।

हिमालयको काख, बुद्ध जन्मभूमि नेपालमा ज्ञानमा विश्वास राख्ने यति ठुलो उत्सव हुनु भनेको आफैंमा सुखद हुनु मानिनुमा धेरै कारण हुन सक्छन्। त्यसमध्ये एक निश्चित रूपमा दक्षिण एसिया क्षेत्रमा नेपालको अवस्थितिलाई लिएर हुन सक्छ। ज्ञान–विज्ञान परम्परामा विश्वलाई नै नेतृत्व गर्ने क्षमता बोकेका उत्तरी छिमेकी चीन र दक्षिणी मित्र भारतमाझ रहेको नेपालका यो विशिष्ट भूराजनीतिक अवस्थिति आफैंमा तटस्थ भूमि हो। अझ दक्षिण एसियाका अन्य देशहरूमा भइरहेको आन्तरिक र बाह्य राजनीतिक कलह, हिंसा र अस्थिरताले नेपाल तुलनात्मक रूपमा शान्त र सुरक्षित देश हो नै।

बाङ्लादेश अस्थिरताबाट गुज्रिरहेको छ। श्रीलंका स्थिर हुने प्रयासमा छ। पाकिस्तान र भारत झन्डै युद्धको चपेटामा परिसकेका थिए। ती सारा अस्थिरताले गाँजेका मुलुकले सम्भवतः नेपालभन्दा राम्रो सेवासुविधा दिन सक्थे होलान् तर आसजस्तो संस्थाले यस्तो सम्मेलनका लागि नेपाल छनोट गर्नुका पछाडि नेपालले लामो समयदेखि गरिरहेको स्थिर लोकतान्त्रिक राजनीतिक अभ्यास, स्वतन्त्रता, नेपालीहरूको अतिथि प्रेमको प्रचारप्रसार नै हो। आजका दिनसम्म नेपालमा जस्तोसुकै विमति पनि, यहाँसम्म कि संविधानविरोधी धारणाहरू खुला रूपमा व्यक्त गरिन्छ। फरक मतलाई सम्मान मात्र होइन, अभ्याससमेत गर्न दिइन्छ। तर यस्ता अभिव्यक्तिकै आधारमा दक्षिण एसियाका अधिकांश देशमा जेलनेल र हत्यासमेत हुने गरेको देखिन्छ। जस्तो कि धर्म र आस्थाका नाममा भारतमा जस्तो ‘मोब लिन्चिङ’का घटना नेपालमा दुर्लभ नै हुन्छन्।

बाङ्लादेश र पाकिस्तानमा जस्तो नेपालमा अल्पसंख्यक धार्मिक समुदाय प्रताडित हुनुपर्दैन। एएएस इन एसियाजस्तो अन्तर्राष्ट्रिय प्राज्ञिक मञ्चको आयोजनाले नेपाललाई ज्ञान–अनुसन्धानको संवादमा नेपालमै साझा गन्तव्य हुन सक्ने चिनारी त दिलाउनेछ नै, सँगै प्राज्ञिक कर्मको लामो इतिहास नभएको हाम्रो जस्तो मुलुकमा पनि यसतर्फ गहिरिने प्रेरणा दिनेछ। प्रमाणमा आधारित तथ्यका साटो आख्यान र अफवाहहरू सत्य मान्न र ठान्न थालिने नेतृत्व र तिनका कार्यकर्ताको भाइरल जमातले पपुलिस्ट शासक निर्माणमा अघि बढेको हाम्रोजस्तो समाजमा अनुसन्धानका आधारमा मात्रै आफ्ना निष्कर्षलाई आकार दिने यस्ता संकथन आफैंमा अर्थपूर्ण छन्।

‘रिफ्रेमिङ ग्लोबल एसियाजः मार्जिन्स, मोर्डनिटिज, मोबिलिटिज’ अर्थात् ‘वैश्विक एसियाको पुनर्परिभाषाः सीमान्त, आधुनिकता, गतिशीलता’लाई मुख्य नारा दिएको यो सम्मेलनले ज्ञान निर्माणमा एसियाको सामथ्र्य र शक्तिलाई पनि एक अर्थमा स्वीकार गरेको छ। पश्चिमी ज्ञान उत्पादनको आँखाबाट मात्र एसियालाई हेर्ने प्रभुत्ववाद, एकांकी र पूर्वाग्रही दृष्टिलाई चिर्न खोजेको छ अनि यहाँका बहुलवाद र विविधतालाई नियाल्न खोजेको छ। यो प्रक्रियामा पश्चिमा विद्वत् वर्ग विऔपनिवेशिकरणको भासबाट निस्कन खोजेको प्रतीत हुन्छ। सम्मेलनको अर्को उद्देश्य भनेको प्राज्ञिक अनुसन्धानमा सहकार्य गर्नु देखिन्छ, जसबाट पश्चिमा जमातबाट नेपालजस्ता देशले समेत सोझै लाभ लिन सक्छन्।

अपेक्षाचाहिँ के पनि भने यसखाले अन्तरविषयगत सहकार्यले साहित्य र इतिहासदेखि सामाजिक विज्ञान, वातावरणीय अध्ययन र प्रविधिसम्मका विभिन्न विषयका विद्वान्हरूलाई एकै ठाउँमा ल्याउनुपर्छ र आज विश्वले सामना गरिरहेका जलवायु उत्थानशीलता, एआई नैतिकता र शिक्षा प्रणालीको पुनर्कल्पनाजस्ता बहुआयामिक चुनौती र अवसरसँग जुध्न मद्दत गर्नुपर्छ। एएएस इन एसिया विश्वका देश–समाजमा बढ्दै गएको विषमता, ध्रुवीकरण समाधानमा सहायक बन्न सकोस्, एसियाका मौलिकता, जटिलतालाई बुझ्ने र सँगै दक्षिण एसियामा रहेका दुई शक्तिशाली मुलुकलाई विश्वशान्ति र न्यायपूर्ण समाज निर्माणमा दबाब दिने अनि ज्ञानलाई सीमित वर्ग, समुदाय र भूगोलको होइन, सबैको साझा बनाउने अभियानमा जुटोस्। यस विद्वत् सम्मेलनले नेपाल र नेपालीको आतिथ्य र विद्वता दुवैको कीर्ति फैलाउन सकोस्, शुभकामना!

प्रकाशित: १८ जेष्ठ २०८२ ०६:०१ आइतबार

Download Nagarik App
Download Nagarik App