१९ पुस २०८२ शनिबार
image/svg+xml
सम्पादकीय

सामुदायिक स्कुलको गिर्दो सान

सरकारले नै विद्यालयलाई सामुदायिक (सरकारी) र संस्थागत (निजी) मा वर्गीकरण गरेको छ। यी दुईखाले विद्यालयले उपलब्ध गराउने शिक्षा, पठनपाठन शैली, पोशाक, पढाइको माध्यम, अतिरिक्त क्रियाकलाप आदिले विद्यार्थी निजीमा पढ्ने हो वा सरकारीमा भन्ने खुल्छ। यसरी हेर्दा नेपालको शिक्षा स्पष्टतः दुई धारमा विभाजित देखिन्छ। शिक्षाले नै वर्ग निर्माण गरिरहेको छ यहाँ।

निजी विद्यालयले अभिभावकसँग भनेजति पैसा लिन्छन्। बदलामा अंग्रेजी सिकाउँछन्, टाइसहितका सफा र चिटिक्क कपडा लगाउन भन्छन्, खेलकुद, नाचगानलगायत अतिरिक्त क्रियाकलापमा पनि सरिक गराउँछन्। सरकारीतवरबाट लिइने परीक्षामा पनि राम्रो अंक ल्याउने गरी तयारी गर्छन्। यी यस्ता कारण हुन् जसले गर्दा अभिभावकले विभिन्न बहानामा निजी विद्यालयमा पैसा खन्याइरहनु परे पनि उनीहरूलाई तनाव हुँदैन। अर्कोतर्फ सरकारी विद्यालय सरकारले तोकेको सीमाबाहिर जान चाहँदैनन्। उनीहरू मेहनत र जुक्तिलाईभन्दा हाजिरलाई ठूलो ठान्छन्। ‘सरकारी काम, कहिले जाला घाम’ उखान उनीहरूको आदर्श हुने गरेको छ। त्यसैले सामुदायिक विद्यालयप्रति आमअभिभावक सन्तुष्ट छैनन्। त्यसैले उनीहरू छोराछोरीका लागि गाँस कटाएर भए पनि राम्रो शिक्षाको लोभमा निजीप्रति आकर्षित हुने गरेका छन्।

यही कारण आफ्नो विद्यालयमा विद्यार्थी आउन छाडेपछि कैलालीको टीकापुर नगरपालिकास्थित सामुदायिक विद्यालयहरूले अंग्रेजी माध्यममा पढाउन सुरु गरेका छन्। यसरी अंग्रेजीमा पढाउन थालेपछि केही विद्यालयमा विद्यार्थी ह्वात्तै बढेका छन् भने केहीमा चाहिँ यसका बाबजुद पनि बढ्न सकेका छैनन्। त्यसैले अंग्रेजी माध्यममा पढाउँदा साथ विद्यार्थी ओइरो लागिहाल्छन् भन्ने मान्यता पनि सही होइन रहेछ भन्ने देखिएको छ।

मुख्य कुरा सामुदायिक विद्यालयमा विद्यार्थी किन आउँदैनन् भन्ने प्रश्नको जरोतिर फर्कनु उचित हुन्छ। पहिलो कुरा, सामुदायिक विद्यालयले प्रदान गर्ने आधारभूत शिक्षा कानुनतः निःशुल्क छ। दोस्रो कुरा, यस्ता विद्यालयका शिक्षकले तोकिएको तलव सुविधा पाउँछन्। तालिम पनि पाउँछन्। नियमानुसार बढुवा पनि हुन्छ। बिदा, सञ्चय कोष, उपदान आदिको सुविधा पनि छ। तर निजी विद्यालयका शिक्षकहरू सरकारीका शिक्षकभन्दा निकै कम तलव पाउँछन्। तालिमको मामलामा पनि यही नियम लागु हुन्छ। उनीहरू सरकारी शिक्षक जस्तो एकाध कक्षा लिएर घर फर्कन पाउँदैनन्। पूरै कक्षा लिएर पनि बिहान चाँडै आएर विद्यार्थीको रेखदेख गर्नुपर्ने र घर जाँदा पनि जाँच गर्नुपर्ने उत्तरपुस्तिकाको मुठो लिएर फर्कने गरेका दृश्य सबैका लागि सामान्य हो। तर पनि निजी विद्यालयका विद्यार्थीको नतिजा राम्रो आउने तर सामुदायिकको भने खराब किन आउँछ ? सामुदायिक विद्यालयप्रति आकर्षण किन भएन भन्ने प्रश्न यो प्रश्नसँग तादात्म्य राख्छ।

सरकारी विद्यालयमा एकपटक छिरेपछि तलव सुविधा पक्का हुन्छ। नपढाए पनि, राजनीतिमा लागे पनि कसैले जागिर खान सक्दैन। अझ अहिले त धेरै शिक्षक स्थानीय तहका निर्वाचित पदाधिकारीले नै राखेका कारण उनीहरू आफूलाई राख्नेप्रति उत्तरदायी भए पुग्छ, विद्यालय र गुणस्तरीय शिक्षाप्रति हुनुपर्दैन। त्यसैले नपढाउँदा पनि कारबाही नहुने अवस्थामा को किन पढाइरहन्छ ? को किन तालिम लिने, थप अध्ययन गर्ने, आफूलाई अद्यावधिक गर्ने कार्यमा टाउको दुखाउँछ ? जबकि निजी विद्यालयमा जुन विषयमा विद्यार्थी अनुत्तीर्ण होइन, अंक कम ल्याएमा पनि सम्बन्धित शिक्षकले जागिरबाट हात धुनुपर्छ। यही कारण पनि उसले मेहनत गर्छ। जुन कुरा सामुदायिक विद्यालयमा अभाव छ।

त्यति मात्र हैन, सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति हुन्छ। तर यो नाम मात्रको हुन्छ। राजनीतिक लेपनको। व्यवस्थापनचाहिँ हुन्न। तर निजीमा व्यवस्थापन समिति हुन्न तर व्यवस्थापनचाहिँ भइरहेको हुन्छ। यसरी हेर्दा समस्या सामुदायिकका शिक्षक र व्यवस्थापनमा छ। भाषामा होइन। यो वास्तविकता मनन गरेर अघि बढेमा मात्र सामुदायिक विद्यालयहरू तंग्रन्छन्, भाषाको उत्तोलक सम्पूर्ण उपचार होइन भन्ने बुझ्न आवश्यक छ।

प्रकाशित: ५ जेष्ठ २०८२ ०६:०६ सोमबार

# sampadakiya # Nagarik