२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
सम्पादकीय

सञ्जालको जञ्जाल

सन् २००० पछि तीव्र बनेको इन्टरनेटको विकाससँगै विश्वभर सामाजिक सञ्जालको प्रयोग बढ्दो छ। विशेषगरी टिकटक, फेसबुक, एक्स, युट्युब, इन्स्टाग्राम, ब्लग तथा स्न्यापच्याट जस्ता वेबसाइटमा झुम्मिने क्रम लतकै रूपमा देखा परिरहेको छ। यो लत विकसित देशमा मात्र सीमित छैन, संसारभर एकछत्र विस्तार भएको छ। धनीगरिब सबैमा यसको प्रभाव छ। जसले तत्कालै सूचना ग्रहण गर्न सक्ने, नवप्रवर्तनका लागि आवश्यक सामग्री जुटाउन सकिने अवसर त प्रदान गरेको छ साथै उत्तिकै मात्रामा विकृति पनि भित्रिरहेका छन्। यसबाट फाइदा उठाउन सक्नेले रचनात्मक प्रयोग गरेका छन्। तर, कैयन यसको लतमा परेर विकृतिमा फसेका पनि छन्।

भर्खरै सार्वजनिक एक अध्ययनले बेलायतमा मानसिक समस्या भएका किशोरकिशोरीले सामाजिक सञ्जालमा बढी समय बिताउने गरेको उल्लेख गरेको छ। नेचर ह्युमन बिहेभियर नामक वैज्ञानिक जर्नलमा प्रकाशित उक्त अध्ययनअनुसार औसतमा अन्यको तुलनामा मानसिक रोगी किशोरकिशोरीले सामाजिक सञ्जालमा ५० मिनेटभन्दा बढी समय बिताउने गरेको बताइएको छ। तीन हजारभन्दा बढीमा गरिएको यो अध्ययनअनुसार कतिपयले त सामाजिक सञ्जाल कति समयसम्म प्रयोग गर्ने भन्ने जानकारीसमेत नराखेका देखाएको छ।

नेपाल पनि यस्तो समस्याबाट मुक्त छैन। साना बालबालिकाले खाना खान मानेनन् भने तिनलाई खुवाउनदेखि कलेज नजाने छोराछोरीलाई भने जस्तो मोबाइल÷कम्प्युटर किनिदिएर प्रेरित गर्नुपर्ने समस्या प्रत्येक घरमा प्रवेश गरिसकेका छन्। त्यति मात्र हैन, यो समस्या कतिसम्म गहिरिइसकेको छ भन्ने थाहा पाउन खासगरी किशोरकिशोरीहरू रातभर सामाजिक सञ्जालमा झुम्मिने र बिहान १०/११ बजेसम्म ओछ्यानमै गुटमुटिइरहने कुलतको शिकार हुन थालेका छन्। त्यसैले सामाजिक सञ्जालले ल्याएको विकृतिबाट बेलायत जस्ता विकसित देश मात्र हैन, हामीजस्ता देश पनि उत्तिकै पीडित भएकामा शंका छैन।

प्रविधिको प्रयोग गर्नैपर्छ। यसमा शंकै छैन। तर यसको सन्तुलित प्रयोग गरिएन भने त्यसले खासगरी अहिलेको पुस्तालाई मात्र नभई भावी पुस्तालाई समेत अधोगतितर्फ धकेल्छ। साइबर उत्पीडन, यौन आग्रह/दुर्व्यवहार, अश्लील सामग्रीमा पहुँच, व्यक्तिगत गोप्यता, अनुचित प्रयोग, इन्टरनेट कुलत जस्ता दुरूपयोगले सामाजिक सञ्जाललाई वरदानबाट अभिशापमा परिणत गर्न सक्छ। यस विषयको हेक्काबाट भने अहिले रातभर सामाजिक सञ्जालमा झुम्मिएर दिनभर उत्पादनविमुख हुने किशोर पुस्ता बेखबर छ।

लत कुनै पनि नजाती काम वा कुराको अभ्यास हो। यस्तो आदतले मान्छेलाई दुव्र्यसनी बनाउँछ। हामी धेरैले लतलाई मद्यपान, धूमपान र अन्य नशालु पदार्थ सेवनको विषय मात्र ठानेका छौँ। खासमा कुनै पनि कुरामा चाहिनेभन्दा बढी लगाव लतको संकेत हो। जसमा फसेपछि निस्कन गाह्रो  हुन्छ। सामाजिक सञ्जाल पनि एउटा त्यस्तै चक्रब्यूह हो जहाँ पसेपछि हत्तपत्त कोही निस्कन सक्दैन। अझ किशोरकिशोरी त यो मामलामा झनै चर्को देखिएका विभिन्न अध्ययनले पुष्टि गरेका छन्। यसलाई बुझेर चलाउने मानिसले ‘स्क्रिन टाइम’ विचार गरी समयको सदुपयोग गर्छन्।

केही समयअघि सार्वजनिक एउटा अन्तर्राष्ट्रिय अध्ययनले अबको २० वर्षमा सामाजिक सञ्जालकै कारण प्रत्येक घरमा कम्तीमा एकजना मानसिक रोगी फेला पर्ने उल्लेख गरेको थियो। अहिले भइरहेका अध्ययनका निचोडलाई आधार मान्दा होस् वा प्रत्येकका घरका मोबाइल फोन र कम्प्युटरले फुर्सद नपाएको अवस्था नियाल्दा होस्, यो भविष्यवाणीमाथि शंका गर्नुपर्ने अवस्था देखिन्न। त्यसैले पनि यो विषयमा विशेषगरी अभिभावक र सरकारहरू अहिलेदेखि नै सचेत भएनन् भने पछि अपनाइने जुक्तिले मिति नाघिसकेको हुनेछ।

एकातिर सामाजिक सञ्जालमा झुण्डिरहने अवस्थाले मानसिक रोगी बनाउने प्रबल सम्भावना छँदैछ जसले उसको जिन्दगी नै बर्बाद पारिदिन्छ। अर्कातिर महत्त्वपूर्ण पक्ष यस्ता कुलतीहरू साइबर अपराधको फन्दामा पर्न पनि बेर लाग्दैन। सामाजिक सञ्जालबाटै कमाउने, बढी आनन्द लिने, अरूको गोप्य कुरा थाहा पाउने, बार्गेनिङको आधार बनाउने जस्ता विकृति पनि पछिल्लो पटक युवा पुस्ताबाट हुँदै आएको पाइन्छ। परम्परागत अपराध पनि कम्प्युटर वा इन्टरनेटको माध्यमबाट गरिएमा त्यसलाई समेत साइबर अपराध ठानिने विषयमा यो जमात अनविज्ञ छ। त्यसैले जानी नजानी वा रमाइलोकै लागि भए पनि कम्प्युटरमार्फत गरिएका कामकुराले कुनै पनि बेला साइबर अपराधको कसुरमा कारागार पुर्‍याउन सक्ने जानकारीसमेत अभाव छ। त्यसैले यो पक्ष पनि विचारणीय देखिन्छ।

इन्टरनेट, कम्प्युटर, मोबाइल यतिखेर आवश्यक मात्र हैन, अत्यावश्यक साधन हुन्। जसको अभावमा भविष्यमै ग्रहण लाग्ने सम्भावना अधिक छ। खासगरी वित्तीय संस्था र अन्य धेरै कार्यालयमा अब यी साधनले नचिनेका व्यक्तिलाई करिब करिब प्रवेश निषेधकै अवस्था छभन्दा पनि फरक पर्दैन। त्यसैले यी विषयमा पारंगत हुनु पक्कै नराम्रो हैन। तर कुनै पनि कुराको सीमा भएझैँ सामाजिक सञ्जालबाट पनि कसरी बढी फाइदा लिने भन्नेतर्फ ध्यान जानु आवश्यक छ न कि यसको लती बनेर आफैँ गुम्ने।

खासगरी प्रत्येक घरका अभिभावक आफ्ना सन्तानलाई सामाजिक सञ्जालको दुव्र्यसनी बन्नबाट रोक्न सक्ने पहिलो व्यक्ति हुन्। उनीहरूले बेलैमा सामाजिक सञ्जाल साक्षरतामार्फत यस्तो सम्भावित अवस्थामा अंकुश लगाउन सक्छन्। कम्तीमा पनि निश्चित समयका लागि डिजिटल डिटक्स (इन्टरनेट व्रत) का लागि प्रेरित गर्न सक्छन्। दोस्रो जिम्मेवार निकाय सरकार हो। जसले यसका हानिबारे चेतना फैलाएर तथा उचित र व्यावहारिक साइबर कानुन बनाएर यो लतको आकार घटनाउन सक्छन्। मुख्य कुरा त किशोरावस्थामा प्रवेश गर्नुअघि नै उनीहरूलाई यसबारे सूचित गर्न सकियो भने त्यो सबैभन्दा उचित उपाय हुन सक्छ।  

प्रकाशित: २६ वैशाख २०८२ ०६:१३ शुक्रबार

Download Nagarik App
Download Nagarik App